राजमोको अव्हान : भारतीय ज्यादतीविरुद्ध संघर्ष गरौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट बारम्बार नेपाली नागरिकमाथि ज्यादती हुनेगरेको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन आव्हान गरेको छ । महाकाली नदीको तुइन काटेर एक नेपालीलाई बेपत्ता बनाएको प्रकरणप्रति गम्भीर आपत्ति प्रकट गर्दै राजमोले भारतीय थिचोमिचोविरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिएको हो ।

राजमो महासचिव मनोज भट्टले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी केही वर्षअघि कञ्चनपुरका गोविन्द गौतमको हत्याकै सृंखलाका रुपमा दार्चुलाका जयसिंह धामीलाई महाकालीमा बगाएर बेपत्ता बनाएको बताउनुभएको छ ।

राजमोले भारतीय पक्षबाट नेपालीमाथि हुने अपराधजन्य कार्य रोक्न नेपाल सरकारले दृढतापूर्वक भारतसँग कुरा राख्न तथा घटनामा संलग्नलाई कडा कारबाहीको लागि पहल गर्नसमेत माग गरेको छ ।

यसैगरी राजमो कैलाली जिल्ला समिति र दार्चुला जिल्ला इन्चार्ज तिलक परियारले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्नुभएको छ ।

यस्तो छ महासचिव भट्टद्वारा जारी विज्ञप्ति
२०७८ साल श्रावण १५ गते बिहान अन्दाजी ८ बजे दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ निवासी जयसिंह धामी नेपालतर्फ वर्षायाममा बाटोको अभावका कारण भारतको बाटो प्रयोग गर्दै वैदेशिक रोजगारीका लागि काठमाडौंतर्फ जान मालघाटस्थित महाकाली नदीमा तुइन तरेर भारत जाने क्रममा महाकाली नदीको बीचमा आइपुग्दा भारतको सीमा सुरक्षा बल एसएसबीले मान्छे तुइनबाट तर्दै छ भन्ने कुरा देख्दादेख्दै र ‘तुइन नकाट्नु मान्छे तर्दै छ’ भनेर स्थानीय ब्यक्तिहरुले चिच्याएर चेतावनी दिँदादिँदै पनि तुइन काटेका कारण जयसिंह धामी महाकाली नदीको तीव्र प्रवाहमा खसि बेपत्ता भएका छन् ।

नेपाल तथा भारत तर्फका नागरिकहरुले यो क्षेत्रमा वर्षायाममा यही प्रकारले नियमित तथा जोखिमपूर्णरुपमा आवागमन गर्दै आएका हुनाले यस प्रकारको आवागन कुनै नौलो र अपराधजन्य पनि होइन । नदीमा मान्छे तुइन तरि रहेको देख्दादेख्दै तुइन काट्नु भारतीय पक्षको अत्यन्तै अमानवीय तथा भत्र्सनापूर्ण कार्य हो । भारतको यस्तो अमानवीय कार्यको हाम्रो दलले घोर विरोध तथा भर्त्सना गर्दछ । बेपत्ता जयसिंह धामीको खोजतलास गर्न तथा तुइन काट्ने कार्यमा संलग्न भारतीय सीमा सुरक्षा बलका कर्मचारीलाई कडा भन्दा कडा कारवाहीका तथा पीडित पक्षलाई क्षतिपूर्ति दिलाउनका लागि पहल गर्न सरकारसँग माग गर्दछ ।

नेपाल भारत सीमा क्षेत्रमा भारतले लगातार नेपालमाथि हेपाहा प्रवृत्ति तथा थिचोमिचोपूर्ण ब्यवहार गर्दै आएको छ । सीमा क्षेत्रका नेपाली जनतालाई भारतीय पक्षले अनावश्यक हैरान पार्ने कुटपीट गर्ने, यहाँसम्मकी हत्यासम्म गर्ने गरेका छन् । केही वर्षअघि कञ्चनपूरका गोविन्द गौतमको भारतीय पक्षबाट भएको हत्या यसको उदाहरण हो । यस्ता अपराधजन्य कार्यमा स्वयम् भारत सरकारको सुरक्षाफौज नै संलग्न हुने गरको छ ।

हामी भारतीय पक्षबाट नेपालीमाथि हुने अपराधजन्य कार्य रोक्न नेपाल सरकारले दृढतापूर्वक भारतसँग कुरा राख्न तथा भारतको यस प्रकारका ज्यादतीपूर्ण कार्यका विरुद्ध लगातार संघर्ष गर्नुपर्ने कार्यमा जोड दिन्छौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार