राजमोले समर्थन गर्ने तर सरकारमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । तर, राजमोले सरकारलाई समर्थन दिने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले राजमो देउवा सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई दिँदै उहाँको कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

बैठकले ओलीको बर्हिगमनका लागि पाँच दलीय गठबन्धनको महत्वपूर्ण भूमिका रहेको भन्दै सो गठबन्धन अझै कायम रहनुपर्नेमा समेत जोड दिएको छ ।

यस्तो छ वक्तव्य
नेकपा (मसाल) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नेकाका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा नियुक्त भएको घटनाक्रमका सन्दर्भमा छलफल गरी तल लेखिए अनुसारको वक्तव्य जारी गरिएको छ ।

१) शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोमा हामीले उहाँलाई स्वागत गर्दै उहाँप्रति बधाई पनि ज्ञापन गर्दछौँ । उहाँको कार्यकाल सफल होस् भन्ने पनि हामीले शुभकामना प्रकट गर्दछौँ ।

२) वर्तमान सरकारमा सामेल हुने हाम्रो नीति नभएको कुरा स्पष्ट गर्दै त्यो सरकारलाई समर्थन गर्ने हाम्रो नीति रहने कुराको पनि हामीले जानकारी गराउन चाहन्छौँ ।

३) वर्तमान सरकारका गुण र दोषका आधारमा त्यसप्रति हामीले समर्थन वा विरोधको नीति अपनाउँदै जाने छौँ ।

४) ओलीको प्रतिगामी सरकारलाई विस्थापित गर्नका लागि पाँच दलीय गठबन्धनको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो यो ठहर छ कि पाँच दलीय गठबन्धनको आवश्यकता अहिले पनि छ र आउने दिनहरुमा पनि त्यसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता हुने छ । त्यसैले ओली सरकार विस्थापित भएर त्यसको ठाउँमा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारको गठन भए पनि पाँच दलीय गठबन्धनको एकता र भूमिका वा आवश्यकता अहिले पनि छ । त्यसैले हामीले हाम्रो पार्टीले सरकारमा सामेल हुने नीति नअपनाए पनि त्यो पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ, त्यसको लागि यथासम्भव योगदान दिने हाम्रो नीति हुनेछ र हामीले अन्य पक्षहरूसित पनि त्यसका लागि अनुरोध गर्दछौँ, हाम्रो यो स्पष्ट विचार छ कि प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ र त्यसैले, पाँच दलीय गठबन्धनको वा त्यसको एकता र संघर्षको अहिले पनि आवश्यकता छ । त्यो एकता टुट्यो भने प्रतिगमनलाई नै मद्दत पुग्ने छ । त्यसैले हाम्रा बीचमा भएका विभिन्न प्रकारका मतभेदहरूका बाबजुत त्यसप्रकारको ऐक्यबद्धतालाई कायम राख्न हामीले विशेष जोड दिनुपर्ने आवश्यकता छ ।

५) अहिले प्रतिगमन पराजित भए पनि त्यसले जनताद्वारा प्राप्त उपलब्धिहरूलाई समाप्त गर्न पूरा शक्ति लगाउने छ । त्यसैले अहिले प्राप्त उक्त उपलब्धिका रक्षाका लागि उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हामीले प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्ति, संघ–संस्था, नागरिक समाज र सम्पूर्ण जनताको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ ।

मितिः २०७८ असार ३० गते
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार