राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सरकारप्रति कटाक्ष

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशभित्रको अरबौँ रुपियाँको भ्रष्टाचार नरोक्ने, तर देश विकासको नाममा साम्राज्यवादी सामु हात फैलाउने सरकारको प्रवृत्तिप्रति कटाक्ष गर्नुभएको छ । अध्यक्ष केसीले भन्नुभयो– ‘आफ्नो देशमा अरबौँ रुपियाँको भ्रष्टाचार बढ्दै गइरहेको छ, त्यसलाई सरकारले चाह्यो भने रोक्न त सक्छ नि, त्यसलाई नरोक्ने, अनि देश विकासको नाममा साम्राज्यवाद सामु हात फैलाउने ?’

राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समिति र रक्तिम सांस्कृतिक अभियान काठमाडौँ जिल्ला समितिले गत एक महिनादेखि उपत्यका व्यापी सीमा अतिक्रमण विरुद्धको अन्तिम विरोधसभामा सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो । ‘देशका करोडौँ–अरबौँ भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने, कर छल्नेलाई कारबाही नगर्ने’ अध्यक्ष केसीले अगाडि भन्नु भयो– ‘तर अमेरिका साम्राज्यवाद लगायत सित हात थाप्नुपर्ने ? यो किन गरिएको हो ?’ हालै सरकारले एमसिसी परियोजनालाई विशुद्ध विदेशी सहयोगको रूपमा स्वीकार्न खोजेको प्रसङ्गमा उहाँले यस विषयमा गम्भीर हुन आग्रह गर्नुभयो ।

एमसिसी परियोजना स्वीकार गरे नेपालमा साम्राज्यवादी हस्तक्षेप खुला रूपमा आउने चेतावनी दिँदै अध्यक्ष केसीले नेपालमा सैनिक क्याम्प खडा गरेर चीन घेर्ने रणनीति अन्तर्गत अमेरिकाले एमसिसी परियोजना लागु गर्न चाहेको दावी गर्नुभयो । ‘यो अमेरिकाको स्वार्थ हो, अमेरिकाले नेपालमा सैनिक अखडा कायम गरेर चीन विरुद्व घेराबन्दी गर्न चाहान्छ’ उहाँले अगाडि भन्नुभयो– ‘अमेरिकाले इन्डो–प्यासिफिक रणनीति चीनको विरुद्धमा ल्याएको हो । हामी अमेरिकी योजनामा सामेल भएर चीनको विरुद्धमा उपयोग हुनु हुँदैन ।’ अध्यक्ष केसीले एमसिसी नेपाल जस्तो देशलाई कुनै पनि हालतमा स्वीकार्य नभएकोले कुनै पनि हालतमा खारेज गर्न सरकार सित माग गर्नुभयो ।

सम्बोधनको क्रमममा अध्यक्ष केसीले सीमा अतिक्रमण राजा, पञ्चकै पालादेखि भइरहेको बताउनु भयो । ‘सीमा अतिक्रमण अहिले मात्रभएको हो र ?’ उहाँले अगाडि भन्नुभयो– ‘नेपालमा अहिले जसरी ‘ राजा आऊ, देश बचाऊ’ भन्नेहरूले भनिरहेका छन् नि, राजाको पालामा देश सुरक्षित थियो, त्यस्तो होइन, राजा महेन्द्र कै पालादेखि कालापानीमा भारतीय सैनिक आएर बसेको हो ।’ उहाँले भन्नुभयो– ‘राजा महेन्द्रको पालादेखि भारतले कालापानी कब्जा गरेर बसेको छ, के राजाले देश बचाउँदा रहेछन् त ?’ उहाँले वास्तवमा नेपाली राष्ट्रियताको रक्षा कुनै राजा–महाराजाले होइन, नेपाली जनताको कारणले सुरक्षित भएको बताउनु भयो । उहाँले देशको राष्ट्रियता, स्वाधीनता र स्वाभिमान नेपाली जनताले मात्र बचाउन सक्ने दावी गर्नुभयो । नेपाली जनता सतर्क नहुने हो भने सिक्किमले भोगेको नियति नेपालले भोग्नु पर्ने केसीको बताउनुभयो ।

अध्यक्ष केसीले जनताले भोट दिन्छन् कि दिँदैनन् भनेर आफूहरूले राजनीति नगरेको प्रष्टीकरण दिनुभयो । ‘हामीले यो देशको राष्ट्रियता, गणतन्त्र र जनजीविकाका लागि आन्दोलन गरेका हौँ । देशलाई केन्द्रमा राखेर राजनीति गरेका हौँ । व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि होइन’ उहाँले भन्नुभयो– ‘सङ्घीयता खारेज गर्नुपर्छ भन्दा हामीले कम भोट पाउँछौँ भनेर हामी सङ्घीयता कायम होस् भन्दैनौँ ।’ उहाँले देश सङ्घीयताले गर्दा कमजोर भइसकेकाले अब त्यसलाई खारेज गर्नुको विकल्प नरहेको पनि बताउनु भयो । यस सन्दर्भमा उहाँले राजमो निकट विद्यार्थी सङ्गठन अखिल (छैठौं) ले चैत्र १ देखि ५ गतेसम्म सङ्घीयता विरुद्व काठमाडौँ मार्च गर्ने जानकारी दिँदै केसीले सो अभियानमा सामेल हुन आमजनतासित आग्रह समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य मनोज भट्टले भारतले नेपालको ३६ हजार हेक्टर जमिनमिचेको जानकारी दिनुभयो । त्यस आधारमा नेपालभन्दा साना दर्जनौँ मुलुक बराबरको जमिन मिचिएको उहाँले स्पष्ट पार्नुभयो । भट्टले भन्नुभयो– ‘संसारमा एउटा सार्वभौम मुलुक भ्याटिकल सिटीको क्षेत्रफल जम्मा जम्मी आठ वर्ग किमिमात्रै छ । अब भन्नुहोस्, भारतले नेपालमा कतिवटा भ्याटिकन सिटी बराबर जमिन मिचेको छ ?’ इतिहासमा राष्ट्रियताको रक्षार्थ नेपाली जनताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेता भट्टले नेपाली शासकले नेपालको राष्ट्रियतालाई सत्तामा पुग्ने हतियार बनाउनु बिडम्बना भएको बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिल किशोर घिमिरे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटा, अखिल (छैठौं) का अध्यक्ष विमल पोख्रेल र नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीरसिंहले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा राजमो नेता आनन्द शर्मा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोका र महासचिव लक्ष्मणदेव पाण्डे, राजमो केन्द्रीय सदस्य लक्ष्मी केसी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कमला पौडेल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाही, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष विष्णु शर्मा र नेपाल पर्यटन खेलकुद सङ्घका अध्यक्ष पृथ्वीथापाको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यांैपानेले सञ्चालन गर्नुभएको उपर्युक्त कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँ जिल्ला समितिका सचिव छवि खनाल र स्वागत राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अध्यक्ष लालबहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम तथा अन्य कलाकारले ‘छोड छोड साम्राज्यवाद, कालापानी छोड’ लगायत गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार