राहत वितरण गर्न राष्ट्रिय जनमोर्चाको टोली ढोरपाटन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बागलुङ ढोरपाटनका बाढीपहिरोपीडितलाई राहत वितरण गर्न भोलि जिल्लास्तरीय टोली पठाउने भएको छ । तत्कालका लागि २ लाख रुपियाँसहितको राहत लिएर राजमो बागलुङका अध्यक्ष अमर थापासहितको सो टोली घटनास्थल ढोरपाटन जाने भएको हो ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले २०७७ भदौ १९ गते जारी गर्नुभएको प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ । वक्तव्यमा बाढीपहिरो, डुबानजस्ता प्रकोपबाट जनधनको सुरक्षा गर्न आफ्नो सङ्गठनले एकीकृत ग्रामीण बस्ती निर्माणको योजना प्रस्तुत गरेको स्मरण गराइएको छ । कोरोना महामारीका कारण विश्वभरिको जनजीवन अस्तव्यस्त भएको बेलामा थपिएको बाढीपहिरोजन्य विपत्तिको सन्दर्भमा पार्टीले सबैसित सहयोग गर्न आग्रह पनि गरेको छ ।

वक्तव्यको पूर्ण पाठ यस्तो छ–

“१. यही भाद्र १७ गते राती बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नं. ७, ८ र ९ मा बाढीपहिरोले ठुलो जनधनको क्षति भएको छ । केही समयअघि सिन्धुपाल्चोक र कालिकोटमा पनि बाढीपहिरोले ठुलो जनधनको क्षति भएको थियो । हुम्लामा ठुलो आगजनी भयो । उक्त घटनामा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछौँ ।

२. हिजो बागलुङको उक्त घटनाको निरीक्षण गर्न राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद का. खिमविक्रम शाहीको नेतृत्वमा एउटा टोली घटनास्थलमा गएको थियो । उक्त टोलीमा जिल्ला सल्लाहकार का. गौरीश्वर पाण्डे, जिल्ला सदस्य तथा ढोरपाटन नगरपालिका वार्ड नं. ७ का वडाध्यक्ष का. दिपक थापा, जिल्ला सदस्यहरू का. धनबहादुर अदै र पनबहादुर विकसमेत हुनुहुन्थ्यो । उक्त टोलीको प्रारम्भिक रिपोर्टअनुसार १४ जनाको मृत्यु भएको छ; २६ जना अझै बेपत्ता अवस्थामा छन्; वडा नं. ७, ८ र ९ नम्बरमा गरी ७५ वटा घर बाढीपहिरोले लगेको छ वा क्षति भएको छ; १ प्राथमिक तहको स्कुल, १ आधारभूत तहको स्कुल, १ स्वास्थ्य चौकी, ६ ढलाने पुल, ३ झोलुङ्गे पुल, ६ विद्युत पावर हाउस र ६ सिँचाइकुलोहको क्षति भएको छ । घरमा भएका खाद्य तथा कपडालगायतका वस्तुह पनि परेका छन् । बाटो, खानेपानी, विद्युत सेवा अवरुद्ध भएका छन् ।

३. उक्त घटनामा तत्काल राहतका लागि राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले २ लाख रुपैयाँ पठाएको छ । भोलि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष का. अमर थापासहितको टोली उद्धार तथा राहतका लागि घटनास्थलतर्फ जाँदै छ । सरकारहरूले पनि बेपत्ता भएकाको खाजबिन, घाइतेको उपचार, खाद्यान्न तथा अन्य आवश्यक राहतको व्यवस्था गर्न अनुरोध गर्दछौँ । स्कुल, स्वास्थ्य चौकी, पुल, कुलो, विद्युत, खानेपानीको पुनर्निर्माण गर्न र तत्कालका अत्यावश्यक सेवाहरूको आपूर्ति मिलाउन अनुरोध गर्दछौँ ।

४. हामीले पहाड र तराईमा समेत बाढीपहिरो तथा डुबानको जोखिममा रहेका तथा छरिएका घरबस्तीलाई सुरक्षित ठाउँमा सार्न एकीकृत ग्रामीण बस्तीको विकास गर्न जोड दिँदै आएका छौं । अहिले बागलुङमा यो घटनामा यति ठुलो सङ्ख्यामा घरबस्ती ध्वस्त भएका छन् । घरबास गुमाउनेहरु गरिब छन् । त्यही ठाउँमा फेरि घर बनाउन सम्भव हुँदैन । त्यसकारण त्यहाँ पुनर्वासको व्यवस्था गर्न हामीले जोड दिन्छौँ ।

५. विश्वव्यापी कोरोना प्रकोपका कारणले जहाँसुकै मानिसको जीवन प्रभावित भएको छ । आयआर्जन गर्ने क्षेत्र वा नोकरी गुमेको स्थिति छ । हाम्रो पार्टीको प्राकृतिक प्रकोप राहत कोषको रकम पनि सकिएको छ । त्यसकारण जहाँबाट जे जति सम्भव छ, देश तथा विदेशका विभिन्न समिति, सदस्य, शुभचिन्तक तथा अन्य सहयोगीहरूसित राहतक लागि सहयोग गर्न अनुरोध गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार