रुकुम घटनाका दोषीउपर कडा कारबाही गर : जातीय समता समाज

काठमाडौँ । रुकुम पश्चिममा घटेको जातीय भेदभावसित सम्बन्धित हत्या प्रकरणका दोषीमाथि कडा कारबाही गर्न जातीय समता समाज, सुदूरपश्चिम प्रदेश समितिले माग गरेको छ ।

समता समाजका सुदूरपश्चिम प्रदेशका अध्यक्ष तिलक परियारको हस्ताक्षरमा २०७७ जेष्ठ १३ गते जारी गरिएको प्रेसवक्तव्यमा सो माग गरिएको हो । वक्तव्यमा पीडित परिवारलाई क्षतिपूर्ति दिनुका साथै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएको छ ।

वक्तव्यको पूर्ण पाठ यस प्रकार छ : “२०७७ जेष्ठ १० गते राति जाजरकोट जिल्ला, भेरी नगरपालिका–४ का नवराज विक र उनीसँगै गएका युवाको समूहलाई रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल र नवराज विककी प्रेमिकाका बुबा वीरबहादुर मल्लसहित गाउँका अन्य व्यक्ति मिलेर नवराज विकसहित अन्य युवाको हत्या गरी लास नदीमा फालेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधान–२०७२ को मर्म विपरीत जातीय छुवाछूतजस्तो घृणित काम गरी दलितको छोरोले गैरदलित केटीसँग प्रेम गरेकै कारण हत्या गर्नु जघन्य अपराध हो । यस प्रकारको घटनालाई हाम्रो सङ्गठन जातीय समता समाजले घोर निन्दा र भत्र्सना गर्दछ ।

अहिले सो घटनासँग संलग्न वडाध्यक्षसहितका १२ जनालाई प्रहरीले हिरासतमा लिएर छानबिन गरिरहेको कुरा सुनिएको छ । हत्याजस्तो जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ । साथै पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्नसमेत माग गर्दछु ।

अन्तमा मृतक नवराज विकसहित मृतकहरू सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार