लिपुलेक बारे नेपालको धारणा स्पष्ट पार्न अध्यक्ष केसीको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपाली भूभाग लिपुलेकमा निर्माण गरेको सड्कबारे तत्काल नेपालको धारणा स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।

“नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडकको भारतले उद्घाटन गरेको छ । राष्ट्रिय जनमोर्चाले त्यसको तीव्र शब्दमा विरोध र भ्रत्र्सना गर्दछ ।” अध्यक्ष केसीले भन्नु भएको छ : “भारतीय साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा विरोध गर्दै आएको छ । तर भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट गरेको छैन । सरकारको त्यो नीति भारतपरस्त छ र हाम्रो पार्टीले त्यो नीतिलाई कडा शब्दमा विरोध गर्दै तत्काल त्यो विषयमा आफ्नो स्थिति स्पष्ट गर्नका लागि सरकारसँग माग गर्दछ ।”

शनिबार एक वक्तव्य प्रकाशित गरी केसीले भारतीय साम्राज्यवादको हेपाहा प्रवृत्तिको विरोध नगरेर सरकार भारतपरस्त बनेको आरोप पनि लगाउँदै भन्नु भएको छ : “एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यो सम्झौताको नेपालमा व्यापक रूपले विरोध गर्दै आन्दोलन हुँदै आएको छ । हाम्रो पार्टीले त्यो इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएकोले त्यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्दछ भन्ने मत राख्नुको साथै संयुक्त आन्दोलन सञ्चालन गर्दै आएको छ । त्यो सम्झौताबारे नेकपा (नेकपा) को कार्यदलले पनि यथावत रूपमा त्यसलाई स्वीकार गर्न नसकिने भनी प्रतिवेदन दिएको थियो । यसको अर्थ त्यो स्वीकार गर्न नसकिने सम्झौता हो भन्ने कुरा स्पष्ट छ ।

यस्तै, सरकारले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) संसदबाट पारित गर्न गरिएको प्रयासको पनि बिरोध गर्नुभएको छ । एमसीसी पारित गराउन अमेरिकी साम्राज्यवादले दिएको दबाबप्रति पनि केसीले तिब्र बिरोध जनाउनुभएको छ । “यद्यपि नेकपाको कार्यदलले संशोधन गरेर त्यसलाई स्वीकार गर्न सकिने भन्ने मत प्रकट गरेको छ, त्यसलाई हाम्रो पार्टीले गलत मान्दछ । नेकपाको कार्यदलले त्यसप्रकारको प्रतिवेदन दिएपछि अमेरिकाले एमसीसी सम्झौतालाई यथावत रूपमा नै स्वीकार गर्नुपर्छ भनी अभिव्यक्ति दिएको छ ।” केसीले विज्ञप्ती लेख्नु भएको छ : “त्यसरी अभिव्यक्ति दिनुको उद्देश्य एमसीसी सम्झौतालाई संसदद्वारा पारित गराउनका लागि नेपाललाई दबाव दिनु हो । त्यो अमेरिकी साम्राज्यवादको नेपालमाथिको खुला हस्तक्षेप हो र हाम्रो पार्टीले त्यसको कडा विरोध गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार