लिम्पियाधुरासहितको नक्सा र निशानछापसम्बन्धी संविधान संशोधन पारित

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा तथा सोही नक्सासहितको नेपालको निशानछाप राख्नेगरी प्रस्ताव गरी संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएको छ । आज २०७७ जेष्ठ ३१ गते प्रतिनिधि सभामा उपस्थित २५८ जना सबैले मतदान गरेपछि सो संविधान संशोधन पारित भएको हो ।

नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ को पक्षमा प्रतिनिधि सभाका कुल उपस्थित २५८ र विपक्षमा शून्य मत परेको हो । यस प्रकार संसदको जम्मा सङ्ख्या २७५ को दुईतिहाइभन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेका थिए । मतदानपूर्व सभामुख सापकोटाले मतदान गर्न नपाउने, १२ सांसद अनुपस्थित र ४ जना निलम्बनमा रहेका कारण १७ मत भने खस्न नपाएको जानकारी गराएका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्तावमाथिको छलफल सकिएपछि उनले उक्त ‘संशोधन विधेयक–२०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

सरकारले सङ्घीय संसदमा यही जेष्ठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेको थियो । कानुनमन्त्री डा. तुम्बाहाङ्फेले जेष्ठ ११ गते सो विधेयक प्रतिनिधि सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।

संविधानमा उल्लेख भएअनुसार दुवै सदनबाट पारित विधेयकलाई सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने छ । राष्ट्रपतिबाट १५ दिनभित्र उक्त विधेयक प्रमाणीकरण हुने छ र सोही मितिदेखि संशोधित संविधान लागु हुने छ ।

मन्त्रिपरिषद्ले जेष्ठ ५ गते नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार