वर्गिय आन्दोलनले मात्रै जनजातिहरुको वर्गिय मुक्ति सम्भव छ : बुढा

नयाँ दिल्ली । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा मगरले नेपालमा जात जातीहरुबीच झगडा गराएर राष्ट्रियता कमजोर भएको हेर्न चाहने तत्वहरु सक्रिय रहेको बताउनुभएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जनजाति विभागले आइतबार आयोजना गरेको ‘नेपालमा जनजाति आन्दोलन र वर्गीयय मुक्तिको प्रश्न’विषयका अनलाइन अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बुढाले वर्गीय आन्दोलनले मात्रै जनजातिहरुको मुक्ति सम्भव हुने बताउनुभयो ।

अध्यक्ष बुढाले नेपालमा कतिपय मानिसहरुले जातजातीबीचकमो एकता र सद्भाव बिथोल्न जातीयताको कुरा गर्ने गरेको भन्दै जनजाती आन्दोलनलाई जातीय दृष्टिकोणबाट हेर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

‘कतिपय मान्छेहरु जनजातीले जातका कुरा मात्रै गर्नुपर्छ भन्ने ठान्छन् । मगरले मगरका कुरा, गुरुङले गुरुङका मात्रै कुरा, राई लिम्ुले उनीहरुका मात्रै कुरा गर्नुपर्छ भन्ने उनीहरुको सोचाई छ । त्यो गलत हो’ अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘अहिले संघीयतासँगै जातीयताको कुरा आएको छ, त्यो नेपालीको एकतालाई भाँड्न र आफ्नो स्वार्थ लुट्न छरिएको भ्रम हो ।’

उहाँले नेपालमा जात–जातीबीचको एकता खल्बलियो र आपसी लडाईं भयो भने नेपालको राष्ट्रियता कमजोर बनाउन सकिन्छ भन्ने कतिपयको योजना रहेको भन्दै सचेत जनताले त्यसो हुन नदिन सजग हुनुपर्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष बुढाले जातीय आन्दोलनहरुलाई सही किसिमले समाधान गर्नका लागि सही दिशानिर्देशको आवश्यकता हुने औंल्याउनुभयो ।

‘नेपालको जनजाति आन्दोलन अत्यन्तै जटिल रुपमा छ। किनभने नेपालका आदिवासी जनजातिहरूका समस्याहरू जटिल छन्’ बुढाले भन्नुभयो, ‘सही किसिमले समाधान गर्नका लागि सही दिशानिर्देश गरिएन भने आन्दोलन गलत दिशामा जान्छ ।’

जनजातीय आन्दोलनको स्वरुप र दिशा सही भएन भने त्यसले उत्पीडित जनजातिहरूलाई वास्तविक मुक्ति दिन नसक्ने बुढाको भनाई थियो । यसप्रकारको स्थितिबाट मुक्ति पाउन जनजातिहरूले संगठितरुपमा संघर्ष गर्नु बाहेक अर्को विकल्प नभएको समेत बुढाको थप भनाई थियो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, सचिव प्रेम पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा विभागका संयोजक भिम बहादुर थापाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । अवधारणा पत्रमाथि प्रमुख अतिथि निम बहादुर बुढा, दुर्गा बहादर केसी, ठाकुर खनाल, प्रेम पौडेल, कुल बहादुर थापा र धनवीर पुन मगरले विचार राख्नु भएको थियो ।अवधारणा पत्रमाथि आएका टिप्पणीहरु माथि महासचिव ठाकुर खनाले स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रम विरेन्द्र थापाको अध्यक्षता तथा कुल बहादुर बगालेले सञ्चलान गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई विभागका सदस्य नेत्र गुरुङले स्वागत गर्नुभएको थियो ।

अवधारणा पत्र  :-  नेपालमा जनजाति आन्दोलन र वर्गिय मुक्तिको प्रश्न

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार