शेरबहादुर देउवालाई प्रदेशीको पत्र

खै कुन शब्दबाट सुरु गरौँ शब्द भेटाउन गाह्रो त भएको होइन तर पनि एक महान नेता भएको कारण सम्बोधन गर्न अलि गाह्रो भए जस्तो लाग्यो । यो बिरानो ठाउबाट एक परदेशीले आफ्नो प्रतिनिधि भएको हैसियतले आज म आफ्नो मनमा लागेका केही बिचारहरु हजुर समक्ष राख्दै छु, स्वीकारनु होला ।

सुदूरपश्चिम सरकार,

हुनत म एक अर्काको देशमा जिबिकोप्राजन गरेर आफ्नो परिवार पाल्ने युवा हुँ । म तपाईंको सुदुरपश्चिम कै युवा हुँ । मलाई तपाईं चिन्नु त हुन्न, तर म राम्रोसँग चिन्छु । मैले एक पटक होइ ५/६ पटक तपाईंलाई र तपाईंको पार्टीलाई आफ्नो अमुल्य मत दिएको छु । माननीय ज्यु, तपाईं माथी धेरै आशा गर्ने युवाहरु मध्य म पनि एक हो । नेपाल देशको भविष्य पनि तपाईंको हात मै छ जस्तो ठानेको थिएँ, तर देशले कुनै काचुली त फेर्न सकेन झन् म जस्ता लाखौं युवाहरुलाई बिदेशको चर्को घाममा आफ्नो पसिना बगाउन बाध्य बनाइयो ।

माननीय ज्यु, आज भोलि बिश्वब्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले गर्दा तपाईं हामी लागायत सबै त्रसित भएका छौं । हालसम्म बिश्वको २०० भन्दा बढि देशमा फैलिसकेको खबर छ भने हालसम्म लगभग १३ लाखको हाराहारीमा संक्रमण देखापरिसकेको छ भने मृत्यु हुनेको संख्या ७० हजार पार गरिसकेको छ । यसर्थमा धेरै देशहरु लकडाउन पनि भएको छ, भारत र नेपाल पनि लकडाउन नै छन् ।

आफ्नो रोजगारीको लागि भारतको विभिन्न शहरमा आउनुभएका नेपाली दाजु भाई अहिले एकदमै समस्यामा छन् । खान, बस्न, लगायत अन्य समस्याहरु झेल्दै आएका छन् । तिनिहरुलाई के कसरी नेपाल फर्काउन सकिन्छ, छिटोभन्दा छिटो पहल गरिदिनु पर्यो । हुने खानेका छोरा छोरीलाई जहाज पठाएर नेपाल झिकाउने तर हामी जस्ता आफ्नो श्रमको पसिना बेचेर खानेलाई अलपत्र किन ? के हामी त्यो देशको नागरिक होइनौं ? के हामीले नेपाल आउने अधिकार छैन ? के हामी चुनावको बेला मात्र तपाईंलाई र तपाईंको पार्टीलाई दिन आउने हो ?

नेपाल सरकारले हामी भारतमा रोजगारी गर्नेलाई त नेपाली नै ठान्ने रहेन छ । कम्सेकम तपाईं त सुदुरपश्चिम प्रदेश नम्बर ७ को ब्यक्ति र इन्चार्ज भएको हैशियतले तपाईंलाई बिन्ती गर्दछु । यदि तपाईलाई हामी भारतमा रहने नेपाली जनताको माया छ भने तुरुन्तै नेपाल झिकाउने बाताबरण बनाउनु होस् । हामी सबैलाई नेपाल झिलाएर आफ्नो घरसम्म पुर्याउनु हुन्छ भने म लागयत भारतमा धेरै समस्या झेल्दै आएका ब्यक्तिहरुले जय जयकार गर्नेछौं र अर्को चुनावमा तपाईलाई नै चुन्ने छौं ।

कुनै पनि समस्यामा पर्दा एक परदेशीले सम्झने भनेको आफ्नो देश, आफ्नो अभिभावक, आफ्नो परिवार, आफ्नो देशको नेता नै हो । अहिलेको समस्या भनेको हामीलाई मात्र होइन, त्यो पनि थाहा छ तर समस्यामा परेका नागरिकलाई आफ्नो देशको सरकारले उद्दार पनि त गरेको छ । तपाईं पनि हामीहरुलाई उद्दार गरि दिनुहोस् बिन्ती छ । नेपाल झिकाइसके पछि जति दिन क्वारेन्टाइनमा राख्नु हुन्छ राख्नुहोस्, हामी तयारी छौं । राम्रोसँग चेकजाँच गराउनु होस्, त्यसपछी मात्र घर जान दिनुहोस् तर भारतमा दिनानु दिन कोरोना भाइरसको संख्या बढ्दो छ । केही कतै नेपालीलाई यो रोग सरिहाल्यो भने पनि कसैले सहयोग गर्ने वाला छैन । नेपाली राजदुतावासलाई पनि दिनमा ४/५ पटक कल गर्दा पनि उठ्दैन अनि कसरी आशा गर्नु ?

माननीय ज्यु, हामी पनि तपाईंकै देशको नागरिक हौं यो कठिन परिस्थितिमा साथदिनु होस् । यो तपाईंको साथ यी रुँदै भोकभोकै रोड अथवा गल्लीगल्लीमा भौतारिदै हिडेकाहरुले तपाईंलाई सधैं साथ दिनेछन् ।
पत्र पठाउने
गोपाल बोहरा
सुन्दर सुदूरपश्चिम बझाङ जिल्ला
बुंगल नगरपालिका ३,
हाल इन्डिया चण्डीगढ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार