संविधान दिवसमा राजमोको शुभकामना

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाचौं संविधान दिवससका अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्य प्रकाशित गरी संविधानमा प्राप्त उपलब्धिको रक्षा गर्दै गलत प्रावधानहरु विरुद्ध र थप अधिकारका लागि संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

अध्यक्ष केसीले वक्तव्यमा गणतन्त्र र धर्मनिरपेक्षता संविधानका उपलब्धि भएको र संघीयता तथा नागरिकता सम्बन्धी प्रावधान कमजोरीका रुपमा रहेको उल्लेख गर्नुभएको छ । यस्तै, सत्ता संचालकका गलत कार्यपद्धतीका कारण प्रतिगमनको खतरा कायमै रहेको पनि केसीले उल्लेख गर्नुभएको छ ।

यस्तो छ वक्तव्य :

आज संविधान दिवसको उपलक्ष्यमा हामीले सम्पूर्ण जनसमुदायलाई हार्दिक अभिनन्दन गर्दछौँ । यो संविधान नेपाली जनताको लामो संघर्षबाट प्राप्त भएको हो । नेपाली जनताका निर्वाचित जनप्रतिनिधिहरुको संविधान सभाद्वारा लेखिएको यो पहिलो संविधान हो ।

गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता, राष्ट्रिय एकता, मौलिक तथा संवैधानिक अधिकार, आवधिक निर्वाचन आदि यसका महत्वपूर्ण उपलब्धिहरु हुन् । संविधानमा कतिपय गलत र कमजोर पक्षहरु पनि छन् । संघीयता हाम्रो देशको लागि गलत शासन प्रणाली हो । संविधानमा नागरिकता सम्बन्धी कमजोर व्यवस्था छ । तिनका विरुद्ध संघर्ष गर्नु र तिनलाई संशोधन गर्ने आवश्यकता छ । तर आजको मुख्य कुरा संविधानका मुख्य उपलब्धिहरुको रक्षा र कार्यान्वयन गर्नु हो ।

गणतन्त्र, धर्म निरपेक्षता, राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतालाई समाप्त पार्न देशी र विदेशी तत्वहरु सक्रिय रहेका छन् । कतिपयले धर्म निरपेक्षताको विरोध गरिरहेका छन् । उनीहरुले धर्म निरपेक्षता हटाई हिन्दू राष्ट्र बनाउने र त्यस आधारमा गणतन्त्र समाप्त गरी राजतन्त्र पुनस्थापना गर्न चाहन्छन् । यो प्रतिगामी विचार हो । कतिपय वामपन्थी र राष्ट्रवादी शक्तिहरुले आजको वास्तविक राजनीतिक परिस्थितिलाई नबुझेर वा सरकारका गलत कुराप्रतिको असन्तोष कारणले गणतन्त्रको महत्वलाई पनि नजर अन्दाज गरेका छन् ।

राजतन्त्र सामन्तवादी कालको राजनीतिक व्यवस्था हो । संसारबाट धेरै पहिले राजतन्त्र समाप्त भएको थियो । नेपालमा भने एक दशकभन्दा केही समय अघि मात्र नेपाली जनताको बदिलानीपूर्ण संघर्षबाट राजतन्त्र समाप्त भएको छ । आज त्यसलाई पुनस्थापना गर्न खोज्नु प्रतिगामी र ऐतिहासिक प्रक्रियाका विरुद्धको कुरा हो ।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामाथि गम्भीर खतरा छ । छिमेकी देश भारतले नेपाली जनताले बनाएको यो संविधानलाई विरोध गरिरहेको छ । पृथकतावादी र साम्प्रदायिक तत्वहरुले पनि यो संविधानको विरोध गरिरहेका छन् । सरकारले पनि अन्य देश, अन्तर्राष्ट्रिय बहुपक्षिय एलायन्स, अन्तराष्ट्रिय संघ, संस्थाहरुसँग गर्ने गलत सम्झौता र सम्बन्धले राष्ट्रियताको पक्षलाई कमजोर बनाउने काम गरेको छ ।

त्यसको साथै सरकारले संविधानको मर्म र स्प्रिट अनुसार काम नगरेर र त्यसका कार्यशैलीले पनि गणतन्त्र र राष्ट्रियताको पक्ष कमजोर हुन पुगेको छ । यी सबै गलत विचार समस्या र कमजोरीका विरुद्ध संविधानको रक्षा र कार्यान्वयन गर्नु हाम्रो राष्ट्रिय आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार