संसद विघटनसम्बन्धी निर्णय अविलम्ब खारेज गर्न २२ दलको माग

काठमाडौँ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहितका २२ राजनीतिक दल तथा सङ्घसंस्थाले संसद विघटनसम्बन्धी निर्णय अविलम्ब खारेज गर्न माग गरेका छन् ।

देश यतिखेर कोरोनामा महामारीमा रहेको तथा मध्यावधि चुनावको प्रस्तावित समयमा विश्वभरिका स्वास्थ्य विज्ञले कोरोनाको तेस्रो लहरको आशङ्का गरिरहेका बेला २२ दलले यस्तो माग गरेका हुन् ।

२२ दलको तर्फबाट सिपी गजुरेलले २०७८ जेठ १० गते जारी गर्नुभएको प्रेसविज्ञप्तिमा संसद विघटनको विरुद्धमा परिस्थितिअनुसार विरोधको कार्यक्रम गर्ने बताइएको छ ।

प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

“यही जेठ ७ गते मध्यराति विद्यमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसद विघटन गरेर आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने आदेश जारी गरेपछि पहिलेदेखि नै सङ्कटबाट गुज्रिरहेको नेपालको राजनीति झन् भयानक सङ्कटको सामना गर्ने अवस्थामा पुगेको छ । अहिले नेपाली जनता कोरोना महामारीबाट आक्रान्त छन् । अस्पतालमा बेड, अक्सिजन र उपचार नपाएर बिरामीहरू छट्पटाइरहेका छन् र कैयौँले ज्यानसमेत गुमाइसकेका छन् । लामो समयदेखि निरन्तर भइरहेको निषेधाज्ञाका कारण निम्न आय भएका र दिनदिनै श्रम गरेर धानिनुपर्ने अवस्थामा रहेका जनताले दैनिक जीवन धान्न नसकेर बिचल्ली भइरहेको छ । यतिखेर नेपाल राष्ट्र र नेपाली जनताको पहिलो र सर्वोच्च प्राथमिकताको विषय जीवनरक्षा हो । यसप्रति राष्ट्रपति र प्रधानमन्त्रीमा देखिएको तिरस्कार र संवेदनहीनताको हामी भत्र्सना गर्दछौँ ।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरूले आगामी मङ्सिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठुलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ । जनता आफ्नो जीवनरक्षा चाहन्छन्, चुनाव होइन । यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन । त्यसकारण, सम्पूर्ण राष्ट्रलाई नै यतिखेर जनताको जीवनरक्षामा केन्द्रित हुन हामी अपिल गर्दछौँ र यससम्बन्धी राष्ट्रपतिले गरेको गलत निर्णय अविलम्ब खारेज गर्न हामी जोडदार माग गर्दछौँ ।

हाम्रो देशमा सङ्कट पैदा गराउन मलजल गरी यस्तो स्थितिबाट फाइदा उठाएर विदेशी शक्तिहरूले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको सर्वत्र चर्चा भइरहेको छ । यस्तो स्थितिमा नेपाल राष्ट्रको सार्वभौमिकता र जनताको जीवनरक्षाका लागि सम्पूर्ण देशभक्त, प्रगतिशील शक्ति र नेपाली जनतालाई एकजुट भएर परिस्थितिअनुसारका विरोधका कार्यक्रममा अघि बढ्न हामी आह्वान गर्दछौँ ।”

२२ राजनीतिक दल तथा सङ्घसंस्थामा सहभागी यस प्रकार छन्–

१. नेकपा (मसाल), २. नेकपा (क्रान्तिकारी–माओवादी), ३. राष्ट्रिय जनमोर्चा, ४. देशभक्त जनगणतान्त्रिक मोर्चा, ५. नेपाल कम्युनिस्ट पार्टी, ६. नेकपा (माओवादी–केन्द्र), ७. नेकपा (माओवादी–केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद् १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्सेभिक), १४. राष्ट्रवादी केन्द्र नेपाल, १५. एमसिसी खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल), २१. नेकपा (माओवादी) र २२. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार