सच्चा वाम बनेर

गिरीप्रसाद बुढा

राम्रै भक्ति दिए समग्र जनले माया दिए ती अरू
खै तिम्रो रुप रंग वास्तविकता ए क्रान्तिकारीहरू
सम्हाल्यौ सरकार आज जनको माया पलाएपछि
बेग्लै काम गर्यौ र के भन यहाँ भण्डारमा त्यो बसी !

खै तिम्रो नमुना नयाँ फरक त्यो ए वामपन्थीहरू
राम्रो काम गरेर बाँच्न नसके काशी गए भो बरू
सार्है लाज हुने भयो अब यहाँ खै त्यो मुकुण्डो झिक
सच्चा वाम बनेर देश हितमा चल्ने कला त्यो सिक !

आस्था उच्च हुने अनेक जपना गर्दै हिडेका तिमी
पीडा चोट सबै सहेर पनि त्यो मर्दै भिडेका तिमी
धोका हुन्न भनेर क्रान्ति पथमा बाचा गरेका थियौ
यै विश्वास गर्यौ यहाँ, तर तिमी सामन्त भै बिग्रियौ !

कोही वर्ग विभेदमा नबस है ए सर्वहारा जुट
फालौँ जालहरू सबै दमनका ए कर्महारा उठ
यस्तै अर्थ दियौ र आफु अहिले सामन्त बन्दै गयौ
तिम्रै हो कि कसो ? चिहान जगमा खोस्रेर खन्दै गयौ !

बाचा बन्धन आज पूर्ण नगरी तोडेर धोका दियौ
आफ्नो लक्ष्य भुलेर तिव्र गतिले फोहोरमा लर्कियौ
सड्दै फ्यात्त हुँदै खस्यौ भुइँभरी सार्है अभागी भयौ
पश्चाताप गरेर हुन्छ अब के बिग्रेर दागी भयौ !

चोखो नैतिकता र आचरणमा हे वाम जुट्ने गर
हिड्दा लड्न सकिन्छ तैपनि धुलो झारेर उठ्ने गर
आस्थामा बस वर्ग युद्ध नभुली आदर्शमा त्यो टिक
सच्चा वाम बनेर क्रान्ति पथमा हिड्ने कला त्यो सिक !!

छन्द :– शार्दूलबिक्रीडित

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार