समाजमा नयाँ अन्तरविरोधको सिर्जना हुँदैछः सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कोरोना भाइरसबाट सिर्जित समस्याका कारण समाजमा नयाँ अन्तरविरोधको सिर्जन हुन लागेको बताउनुभएको छ ।

नेकपा (मसाल) काठमाडौं जिल्ला समितिले १३१ औं मे दिवसका अवसरमा आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै महामन्त्री सिंहले नेपाल र विश्वले नै अब नयाँ अन्तरविरोध र चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो ।

‘विदेशमा रोजगारीका लागि गएका लाखौं युवा अब स्वदेश फर्कदैँछन् । एकै चोटी लाखौं मानिसलाई देशभित्र रोजगारीलगायतको व्यवस्थापन गर्नुपर्दा त्यसले समाजमा नयाँ खाले अन्तरविरोध पैदा गर्नेछ’ महामन्त्री सिंहले भननुभयो, ‘त्यो अन्तरविरोधलाई देशमै उत्पाद र रोजगारीको सिर्जनासँगै आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित बनाउनु पर्छ ।’

यदी त्यसो हुन नसकेमा समाज र राजनीतिमा थप जटिलता पैदा हुने सिंहले बताउनुभयो । उहाँले पार्टीका सबै नेता कार्यकर्ताहरुले अनुशासित ढंगले पार्टी नियमको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालिन परिस्थितिले नयाँ–नयाँ अन्तरविरोधहरुको सिर्जन गर्छ । त्यसलाई अनुशासित ढंगले हल गर्नुपर्छ । अनुशासन पार्टीमा मात्रै होइन, परिवार, समाज, संघ संस्था हरेक ठाउँमा पालना गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले विश्वास गरेर दुई तिहाइ जति मत दिएपनि सरकारले जनमतको सदुपयोग गर्न नसकेको बताउनुभयो । देशमा महंगी र भ्रष्टाचार बढ्दै गएको, सत्ताधारी दलभित्र भइरहेको कुर्चीको लुछाचुँडीले जनतालाई निराश बनाएको केसीले बताउनुभयो ।

कोरोना भाइरसको महामारीविरुद्ध देश एकजुट भएर सामाना गर्नुपर्ने बेलामा सत्तारुढ नेकपाले कुर्चीका लागि छिनाझपटी गरेर गाईजात्रा देखाएको केसीले आरोप लगाउनुभयो ।

कार्यक्रममा राजमो नेता आनन्द शर्मा, नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंह, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का नारायण सापकोटा, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव ठाकूर खनाल, रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार मधु क्षेत्री, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन (कतार), कोषाध्यक्ष विष्णु पुन (दक्षिण कोरिया), एकता समाज ओमानका छविलाल बस्नेत, उद्योगी बिबि अधिकारि, बुद्धिजीवी भोला ढकाल, महिला नेत्री रीतु केसी राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेल्बासे लगायतका नेताहरु सहभागि हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मी रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार