सम्पूर्ण सहयोगीहरुप्रति अध्यक्ष केसीद्वारा धन्यवाद

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो स्वास्थ्यलभाको कामना गर्ने सबैप्रति धन्यवाद दिनुभएको छ । एक हप्ता लामो अस्पताल बसाइपछि मंगलबार डिस्चार्ज हुनुभएका केसीले आज एक विज्ञप्ति प्रकाशित गरी उपचारमा संलग्न स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद दिनुभएको हो ।

अध्यक्ष केसीले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने राष्ट्रपतिदेखि पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकसँगै आम सर्वसाधारणप्रति आभार प्रकट गर्नुभएको छ ।

पार्टीले उपचारका लागि पहल गरेको अवस्थामा नेपाल सरकारले सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय गरेकोप्रति पनि अध्यक्ष केसीले धन्यवाद दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छः
म बिरामी भएर २०७७ कार्तिक २५ गते मेडिसिटी अस्पताल, ललितपुरमा उपचारको लागि भर्ना भई हिजो मंसिर २ गते डिस्चार्ज भएको छु । मलाई निमोनिया, कोभिड–१९ को संक्रमण र अन्य पुराना समस्याहरुले गर्दा गम्भीर रुपमा बिरामी भएको थिएँ । अहिले मैले स्वस्थ महसुस गरेको छु । कोरोना भाइरसको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा मेरो उपचारको लागि डाक्टर तथा नर्सहरुले लगातार खटेर सेवा गर्नुभयो । पार्टीका साथीहरु, अरु पार्टीका नेताहरु र देश तथा विदेशमा रहनु भएका शुभचिन्तकहरुले मेरो स्वास्थ्यको बारेमा चिन्ता चासो राखेर स्वास्थ्यलाभको कामना गर्नु भयो । महामहिम राष्ट्रपतिले पनि मेरो स्वास्थ्यको बारेमा चासो राख्नु भयो । पहिला पार्टीले उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय गरेको थियो । पछि नेपाल सरकारले मेरो उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय ग-यो । सबैको सेवा, सहयोग र शुभकामनाले म स्वास्थ भएर अस्पतालबाट डिस्चार्ज भएको छु । मेरो सेवामा खट्नु हुने डाक्टर तथा नर्सहरु, राष्ट्रिय जनमोर्चा र अरु पार्टीका साथीहरु, देश र विदेशमा रहेका शुभचिन्तकहरु तथा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।

चित्रबहादुर केसी
अध्यक्ष
राष्ट्रिय जनमोर्चा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार