सरिता गिरीलाई सांसद पदबाट हटाउन एक हप्ताको अल्टिमेटम

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सदस्यबाट हटाउन सत्तारुढ दल नेकपा निकट युवक संगठन राष्ट्रिय युवा संघले एक हप्ताको अल्टिमेटम दिएको छ ।

गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरुमा राष्ट्रिय हित र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको भन्दै युवा संघले उनलाई सांसद पदबाट हटाउन संसद सचिवालय र समाजवादी जनता दललाई अल्टिमेटम दिएको हो ।

‘सांसद गिरीको यस खालको असंवैधानिक, राष्ट्रहित प्रतिकूल हुने एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपाल घोर आपत्ति र भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायसँग माग गर्दछ ।’

गिरीका विरुद्धमा संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबाही अघि नबढाए यो विषयलाई आफ्नो संगठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा भनिएको छ । ‘त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

गिरीले भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र समेटेर नेपालले नक्सा सार्वजनिक गर्दा संसदमै आपत्ति जनाएकी थिइन् भने विभिन्न सञ्चारमाध्यम मार्फत लिम्पियाधुरा नेपालको हो भनेर आफूले स्वीकार नगर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार