सांसद पौडेलको पहलमा प्युठान अस्पतालमा अक्सिजन प्लान्ट

काठमाडौं । सरकारले प्युठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न एक करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । मंगलबार अर्थ मन्त्रालयले अक्सिजन प्लान्टका लागि सो रकम निकासा गरेको जनाएको छ ।

प्युठान जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले प्युठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण तथा स्वास्थ्य सामग्री खरिदका लागि पहल गर्नुभएको थियो । उहाँले हालै स्वास्थ्यमन्त्री ह्रदयश त्रिपाठीसँग भेट गरी अक्सिजन प्लान्टका लागि आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय जनमोर्चाका सांसद पौडेलले प्युठानको विकासका लागि केही समयअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग भेट गरी विभिन्न आयोजनाबारे छलफल गर्नुभएको थियो । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि उहाँले जिल्ला अस्पतालमा क्षमता वृद्धिका लागि पहल गर्दै आउनुभएको छ ।

१२ अस्पताललाई १६ करोड ८० लाख निकासा
अर्थ मन्त्रालयले प्युठान जिल्ला अस्पतालसहित देशका विभिन्न १२ अस्पताललाई अक्सिजन प्लान्ट निर्माण तथा पाइपलाइन विस्तारका लागि १६ करोड ८० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

अर्थले दमौली अस्पताललाई पाइपलाइन विस्तारका लागि तीस लाख रुपैयाँ प्रदान गरेको छ भने ११ वटा अस्पतालाई अक्सिजन प्लान्टका लागि १ करोड ५० लाखका दरले रकम दिइएको छ ।

मन्त्रालयका अनुसार स्याङ्जा, डोटी, बैतडी, अर्घाखाँची, नवलपरासी (पी चन्द्र) कपिलवस्तु, पाल्पा, बर्दिया, प्युठान र तेह्रथुम जिल्ला अस्पताल तथा प्रादेशिक अस्पताल तुलसीपुरलाई सो रकम प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार