साम्राज्यवाद–फासिवाद विरोधी मोर्चा गठन हुँदै

काठमाडौं । साम्राज्यवाद र फासिवाद विरोधी संयुक्त मोर्चा गठन हुने भएको छ । काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर सो संयुक्त मोर्चाको गठन हुने भएको हो ।

नेकपा (मसाल) ले २०७६ भदौ २४ गते जारी गरेको प्रेस वक्तव्यमा सो जानकारी दिइएको छ । पार्टीका महामन्त्री मोहन विक्रम सिंहको हस्ताक्षरमा जारी सो वक्तव्यमा आगामी २०२० को फेब्रुअरीमा दोस्रो विश्व किसान सम्मेलन बंगलादेशमा हुने, नोभेम्बर १८, २०१९ मा एसियाली मजदुरहरूको विचारगोष्ठी भारतको मुम्बईमा हुने र कस्मिर सम्बन्धी महत्त्वपूर्ण प्रस्ताव पारित गरेको जानकारी दिइएको छ ।

वक्तव्यमा अगाडि भनिएको छ –“आईसीओआरको एसियायी कोअर्डिनेशन कमिटीको बैठक हालै भारतको मुम्बईमा सम्पन्न भएको छ । त्यसले कतिपय महत्वपूर्ण विषयहरूमा निर्णय गरेको छ । त्यसबारे जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।

१. प्रथम विश्व किसान सम्मेलन काठमाडौंमा भएको थियो । त्यसको दोस्रो विश्व किसान सम्मेलन २०२० को फेब्रुअरीको अन्तिम सप्ताह/मार्चको पहिलो सप्ताहतिर बंगलादेशमा हुने ठेगान भएको छ । त्यसको मिति र अन्य सूचना पछि पठाइने छ । काठमाडौंमा भएको विश्व किसान सम्मेलनमा धेरै देशका प्रतिनिधिहरू आर्थिक कठिनाइका कारणले आउन सकेका थिएनन् । अहिले त्यो सम्मेलनमा बढीभन्दा बढी देशको प्रतिनिधित्व होस् भन्नका लागि आर्थिक अभियान पनि सञ्चालन गर्ने ठेगान भएको छ । त्यसका लागि सबैतिरबाट सहयोगको अपील गर्दछौं ।

२. एसियायी मजदुरहरूको विचार गोष्ठी यही सालको १८ नोभेम्बरमा मुम्बईमा हुने ठेगान भएको छ । त्यो विचारगोष्ठीका लागि औपचारिक रूपले निमन्त्रणाहरू छिट्टै पठाइने छन् । त्यो विचार गोष्ठी टीयूसीआई (ट्रेड यूनियन सेन्टर अफ इण्डिया)का तर्फबाट आयोजना हुने छ ।

३. साम्राज्यवाद विरोधी, फासिवाद विरोधी संयुक्त मोर्चाको गठनका लागि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने ठेगान भएको छ । विश्वमा बढ्दै गएको फासिवादी प्रवृत्ति तथा साम्राज्यवादका विरूद्ध सशक्त आन्दोलन उठाउनका लागि त्यस प्रकारको साम्राज्यवाद विरोधी, फासिवाद विरोधी संयुक्त मोर्चाको गठनका लागि त्यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समझदारी भएको छ । त्यो सम्मेलन र त्यो सम्मेलनद्वारा गठन हुने संयुक्त मोर्चाले अन्तर्राष्ट्रिय स्तरमा नै साम्राज्यवाद र फासिवादका विरूद्ध आन्दोलन उठाउन महत्वपूर्ण योगदान दिनेछ भन्ने हामीले आशा गरेका छौं ।

४. बैठकले काश्मिर र अन्य कतिपय महत्वपूर्ण विषयहरूमा प्रस्ताव पनि पारित गरेको छ । ती प्रस्तावहरू पहिले आईसीओआरमा पठाइने छ र त्यहाँबाट संसारका आईसीओआरका सबै सहभागी पार्टी वा संगठनहरूलाई जारी गरिएपछि सार्वजनिक गरिने छ ।

अन्तमा बैठक अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो र त्यसले एसिया स्तरमा आईसीओआरको संगठन र आन्दोलनको विस्तार गर्ने बारे महत्वपूर्ण निर्णयहरू गरेको छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार