सिमानामा बाँध बाँध्नु आपत्तिजनकः केसी

काठमाडौं । राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लकडाउनको समयमा भारतले सीमा क्षेत्रमा बाँध बाँध्ने र उचाइ थप्ने काम गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार वक्तव्य प्रकाशित गरी केसीले नेपाल र भारतको स्थानीय प्रशासनबीच भएका सहमति उल्लंघन गरी भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिका लगायत भारत र नेपालका सीमाको दशगजा क्षेत्रमा बाँध बाँधिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अध्यक्ष केसीले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै दिर्घकालिन रुपमा उनीहरुको रोजगारीको समस्या समाधानमा ध्यान दिन पनि आग्रह गर्नुभएको छ ।

यस्तै, केसीले नेपालले अतिक्रमित भूभाग समेटेर जारी गरेको नयाँ नक्सा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन र भूमि फिर्ताको कूटनीतिक पहल गर्न पनि माग गर्नुभएको छ ।

यस्तो छ वक्तव्यः

‘रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका लागि हाम्रो पार्टीले गम्भीर क्षोभ प्रकट गर्दछ । अन्तरजातीय विवाह गर्न पाउने स्वतन्त्रतालाई संविधान र कानुनले नै दिएको अवस्थामा आजको युगमा जातीय भेदभावका आधारमा विवाह वा प्रेम स्वतन्त्रताबाट बञ्चित गर्दै हत्या समेतका घटनाहरु घटाउनु संविधान, कानुन र मानव अधिकारका दृष्टिले समेत जघन्य अपराध हो । हामीले त्यो दुःखद घटनाका लागि जिम्मेवारहरुको कडा शब्दमा भ्रत्र्सना गर्दै उक्त घटनाको उचित छानवीन गरी दोषीहरुलाई कारवाहीका दायरामा ल्याएर दण्डित गर्नका लागि सरकारसित माग गर्दछौँ ।

सोमबार प्रधानमन्त्रीको सम्बोधनमा कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने र विदेशबाट फर्किएका तथा नेपालमै रोजगारविहीन रहेकाहरुलाई रोजगारी दिइने, त्यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालीमको व्यवस्था सरकारले गर्ने, जनसहभागिता र प्रविधि सहितको श्रममूलक विकास निर्माणका कार्यहरु स्थानीय तहमा सञ्चालन गरिने छ भन्ने कुरा समावेश भएकोमा हामीले त्यसलाई सकारात्मक मान्दछौँ र कार्यान्वयनको लागि जोड दिन चाहन्छौँ ।

आफ्ना नागरिकहरुलाई सरकारले आफ्नो देशमा ल्याएर उनीहरुको स्वास्थ्य र रोजगारको आवश्यक व्यवस्था गर्नु आवश्यक हुन्छ र गर्नु पनि पर्दछ ।

विश्वमा बिभिन्न मुलुकमा रहेका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार व्यवहार गरी उनीहरुको स्वास्थ्य जाँच र उपचार सम्बन्धित देशहरुमा नै गरिनुपर्दछ भन्ने कुरामा हामी पुनः जोड दिन्छौं । त्यसका लागि आवश्यक व्यवस्था मिलाउनका लागि हामी नेपाल सरकारको पुनः ध्यान आकर्षित गर्दछौं ।

भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिका लगायत भारत र नेपालका सीमाको दशगजा क्षेत्रका बिभिन्न बाँधहरुमा बाँधको उचाइ थप्ने काम लगातार गर्दै आएको छ । यसले नेपाली भूमिलाई डुबानमा पार्ने छ र नेपालतर्फका कैयौँ वस्तीहरु जोखिममा पर्ने छन् । भारतीय पक्षको उक्त कार्यको नेपालका स्थानीय जनताबाट विरोध भइरहेको छ ।

भारत र नेपालका स्थानीय प्रशासनका बीचमा बाँधमा कुनैै पनि गतिविधि नगर्ने र वाँध निर्माणका कार्य तत्काल रोक्ने भनी लिखित र मौखिक रुपमा भएका सहमतिलाई भारतीय पक्षले पटकपटक उलङ्घन पनि गर्दै आएको समाचार सार्वजनिक भएका छन् । यसप्रकारको स्थितिमा हामी नेपाल सरकारलाई उक्त समस्या समाधानका लागि शीघ्र आवश्यक पहल गर्न ध्यान आकर्षित गर्दछौं ।

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । नयाँ नक्सा अनुसार नेपाली भूमिमा भएको भारतीय अतिक्रमणलाई रोक्न सरकारले तुरुन्त कदम उठाउनुपर्दछ । अहिले भारतले नेपाली भूमि लिपूलेक हुँदै मानसरोवर जाने सडक बनाएकोप्रति नेपाली जनताबाट त्यसको व्यापक विरोध भइरहेको छ । समस्या समाधानको लागि कुटनीतिक पहलका साथै यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि समेत हामी सरकारलाई जोड गर्न चाहन्छौं ।

नेपाल सरकारले नेपालको नक्सा अनुसार समेतका लागि संविधान संशोधन गर्ने जुन प्रस्ताव ल्याएको छ, त्यसलाई हाम्रो पार्टीले समर्थन गर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार