आजको युग सूचना सम्राज्यको युग हो । विश्वको कुनै पनि कुनामा बसे पनि एउटा सोशियल साइटको अप्लिकेशन थिच्ने वित्तिकै हजारौं–लाखौं सूचाना प्राप्त गर्न सकिन्छ । ती सूचनाहरू आफैमा सान्दर्भिक, सत्य, वैज्ञानिक र क्रान्तिकारी हुन्छन् भनेर दाबी गर्न सकिन्न । यसै पनि कपोकल्पित र भ्रामक सुचनाहरुलाई भाइरल बनाएर रातारात चर्चित बन्ने र छिनभर मै पानी फोक जस्तै हराउने गरेका सन्दर्भबाट पनि हामी अनभिज्ञ छैनौं । त्यसप्रकारको समस्याहरुका विरुद्ध श्रमजिवीहरुको आवाज बुलन्द गर्ने सच्चा र स्वच्छ सुचना सम्वाहकको महसूश गरेर नै हामीले यो “नेपाली एकता” को शुरूवात गरेका हौं । त्यसका साथै हामीले विश्वका कुना काप्चामा रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउँने उदेश्य सहिति शुरुवात गरेको हौं । ७ नोभेम्बर २०२० को “नेपाली एकता” आनलाइनले एकवर्ष पहिलो बर्ष पार गरि दोश्रो वर्षमा प्रवेश गरेको छ ।
“नेपाली एकता” १९८२ देखि सन २००० सम्म भारतबाट प्रकाशित नेपालीहरुको मासिक पत्रिका हो । यो शव्दसँग नेपाल कम्युनिष्ट पार्टी (मसाल)का नेताहरु का. मोहनविक्रम सिंह, का. चित्र वहादुर केसीको अतुलनिय योगदान र मार्ग निर्देशन, शहिद सरोज शर्मा (कामरेड सोवाखर धनन्जय), का. जलजला लगायत थुप्रैको रगतले सिंचीत तथा हजारौ श्रमजीवी कार्यक्रताहरुको मेहनत तथा लगनले संसारभरका श्रमजीवीहरुको मुटुमा वस्न सफल पत्रीका हो । गतवर्ष ७ नोवेम्वरको हामीले त्यहि ज्वलन्त गौरवशाली इतिहास बोकेको “नेपाली एकता”लाई आनलाइनमा ल्याएका थियौं ।
हामीले यो एक वर्षको अवधिमा नेपाल तथा भारतको राष्ट्रिय स्तरका समस्याबारे बढी भन्दा बढी प्रकाश पार्ने प्रयत्न गर्यौं । त्यसका साथै नेपालको प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसित जोडिएका राजनीतिक, वैचारिक विषयहरूमाथि पनि प्रकाश पार्न उत्तिकै प्राथमिकता साथ प्रयत्नरत रह्यौं । यो एक वर्षको अवधिमा वैश्विक महामारीको रुपमा फैलिएको कोरोना संक्रमण, त्यसका कारणले लगाइएको बन्दाबन्दी र बन्दाबन्दीले श्रमजिवी वर्गमा पर्न गएको समस्याका बारेमा भरपुर कलम चलाउने र उनीहरुलाई परेका समस्यालाई आम सर्वसाधरणसमेत थाहा पाउने गरि प्रकाशमा ल्याउने कसरत गर्यौं ।
सिमित साधन श्रोत र आर्थिक अभावकै परिस्थितिमा नेपाली समाचारका डेस्कमा रहनु हुने जिम्मेवार व्यक्तित्वहरुको सल्लाह सुझाव एंव सक्रियतामा नयाँ जोस, जागर र हौसलाका उर्जात्मक सहयोगीहरुको अदम्य हिम्मतले आन्दोलनसित जोडिएका समाचार, फिचरहरूलाई लगातार अवद्यतन गर्ने हाम्रो प्रयत्न रह्यौं । त्यसका अतिरिक्त भारतमा नेपालीहरूले भोग्नु परेका समस्याहरूबारे बढी भन्दा बढी सामग्रीहरू दिने, उनीहरूका सामाजिक, राजनैतिक, साँस्कृतिक कृयाकलापहरूबारे सूचना प्रेषित गर्न पनि हामी उत्तिकै प्रयत्नरत रह्यौं र अगाडिका दिनहरुमा पनि रहने छौं ।
हामीले प्रस्तुत लेखमार्फत संक्षेपमा एकवर्षको समयमा हामीले गरेका मुख्य कामहरु बारे जानकारी गराउने प्रयास गर्ने छौं :
१. शुरु मै हामीले नेपाली एकता आनलाइन मार्फत समाचार सम्प्रेषण गर्दा हामीलाई हाम्रा हजारौं पाठक तथा श्रमजीवी कार्यकर्ताहरुबाट न्यानो समर्थन तथा सहयोग आइरहृ्यो जसले हामीलाई अझै दृढतापूर्वक अझै सशक्तप्रकारले आनलाइन चलाउन उर्जा थपिदिएको छ ।
भारतस्थित हामी नेपालीहरुको छाता संगठन मूल प्रवाह एकता समाजको आधिकारीक आनलाइन “नेपाली एकता” र मोबाइल अप्लिकेशन मार्फत समाचार पाउँदा हजारौं कार्यकर्ताहरुमा एक प्रकारको जोस, जाँगर उमंग, उर्जा र आत्मविश्वास दिइरहेको तथा अझ कैयन लुकेका प्रतिभाहरु खोज्ने आनलाइनको रुपमा स्थापित हुने विश्वास गर्दै शुरुका महिनाहरु हामीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा पनि प्रवासी नेपालीहरुलाई सचेत पार्ने विषयमा गम्भीरता पुर्वक ध्यान दियौं र यसरी नै अति महत्वपूर्ण रुपमा आनलाइन स्थापित गर्ने दिशामा हामीले सशक्त भुमिका निभायौं ।
२. हाम्रो आनलाइनको गर्विलो शुरुवाती यात्रामा प्रवासी नेपालीहरुको मताधिकारको प्रश्न, संघीयताको विरूद्धका आन्दोलन, राष्ट्रियताको रक्षार्थ आवाज, एमसिसी विरुद्धको संघर्ष र भारतस्थित नेपालीहरुको सुरक्षाको विषयमा पनि आनलाइनले वारम्वार कलम चलाइरहृयौं । ठोस परिस्थतिको ठोस विष्लेषण गरेर नै हामीले अनलाईन संस्कारण शुरुवात गरेका थियौं, जो बन्दाबन्दीको अवधिमा प्रमाणित भएको छ । प्रिंट संस्करण बन्द भएर पनि हाम्रा बिचारहरु आम सर्वसाधारणसम्म पुर्याउनमा सफल रह्यौं ।
३. शिक्षा र अध्ययनको क्षेत्रमा कैयन प्रतिभाहरु प्रकाशित गर्ने, कैयनलाई लेख, रचना, लेख्न र पढन प्रोत्साहन दिने काममा पनि हामीले विषेश ध्यान दिएका छौं ।
४. आधुनिक मानव समाजको इतिहासमा मानव जातिले कहिल्यई सोंच्दै नसोंचेको र अझ हुनै नसक्ने भनिएको दावी पहिलो पटक संसार नै कोरोना वायरसको अदृश्य प्रहारबाट बच्न सकेन । संसार केहि महिना लकडाउन र कर्फ्यूको चपेटामा पर्यो भारतमा पनि करिव ३ महिना लकडाउन तथा कर्फ्युले जनजीवन अस्तव्यस्त पार्यो ।
आधुनिक संसारमा अहिले यसप्रकारको परिस्थिति आयो की आफुलाई सर्वशक्तिशाली मान्ने, साम्राज्यवादी शक्तिहरुदेखि वैज्ञानिकहरु, औषधी विज्ञान र सम्पुर्ण धार्मिक समुदायहरुलाई एकप्रकारको उथलपुथल पार्दै संसार भरका उद्योग धन्दा, कल–कारखाना, व्यापार, व्यवसाय, शैक्षिक संस्थान लगायत सबैप्रकारका कामहरुलाई प्रतिकुल असर पार्ने र लामो समयदेखि अस्थिर र अति विकराल परिस्थिति सृजना गरिरहेको अवस्थामा पनि देशको सरकार र प्रवासमा सरकारको प्रतिनिधि संस्था दुतावासको गैरजिम्मेदाराना व्यवहारको विरुद्ध आवाज उठाउँदै सम्पुर्ण श्रमजीवी नेपालीहरुलाई राहात तथा उद्धार कार्यमा खटने र आवश्यकता अनुसार खटिने विषयमा गम्भीर भयौं । फलस्वरुप कश्मिरदेखि कन्याकुमारीसम्मका हजारौं हजार श्रमजीवी नेपालीहरुलाई प्रथम चरणमा राहात वितरणको गौरवमय कार्य गरि गल्लीगल्ली टोलटोल र वस्तीवस्तीमा खानाको वृहद व्यवस्था मूल प्रवाहको सिंगो टिमले गर्यो । सरकार तथा दुतावासमा २५ लाख नेपालीहरुको आवाज पुराइरहृयो तर पनि सरोकार वालाको अनदेखि भइरह्यो । यसरी हामीले दोश्रो चरणमा नेपालीहरुलाई नेपाल मै पठाउने र उद्धार गर्नेकाममा पनि डटेर लाग्यौं । यसरी भारतको इतिहासमा हामीले आफ्नै सक्रियतामा लाखौंलाई राहात र हजारौंलाई उद्धार गर्ने गौरव प्राप्त गर्यौं ।
५. आनलाइनमा समाचार सम्पेषण गरि कैयन पिडातहरूलाई क्षतीपूर्ती दिलाउन संघर्ष गर्दै कहिले लावारिस अवस्थामा भेटिएका लासहरुका वारिस खोज्दै, कहिले विभिन्न दुर्घटनामा परेकाहरु तथा आश्रितहरुको लागि क्षतीपूर्ती दिलाउँदै त कहिले वैदेशिक रोजगारको लागि ठगिएकाहरुको उद्धबार गर्दै हत्या, हिंसा, कुटपिट तथा सयौं सामाजिक असमानता विरुद्ध पनि कलम चलाउँदै हामीले समाजको एउटा दर्पणको रुपमा पनि भुमिका निभाउँदै आइरहेका छौं ।
६. यो कोरोना महामरीले हामीलाई नयाँ आशाका किरण पैदा गरिदिएको छ । जुन आशा किरण हो, प्रिंट संस्करणको विना पनि हामीले श्रमजिवी वर्गको पक्षमा आवाल बुलन्द गर्न र सर्वसाधारणसम्म आफ्नो पहुँच काम गर्न सिकेका छौं । आगामि दिनमा हामीलाई अझै प्रस्कृत रुपमा अगाडि बढ्नलाई मार्ग प्रसस्त गरेको छ ।
अगामी दिनमा हाम्रो फोकसः
1. प्रवासी नेपालीहरुका सामाजिक, राजनीतिक, खेलकुद एवं सांस्कृतिक कृयाकलाप, उनीहरुका सैद्धान्तीक पक्ष र खास गरि उनीहरुले झेल्नु परेका अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध हाम्रो कलम अनवरत चलिरहनेछ ।
2. विश्व कम्यूनिष्ट आन्दोलन र त्यसका वैचारिक समस्याहरूबारे, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विषयमा सक्दो सामग्री उपलब्ध गराउने तर्फ हाम्रो प्रयास रहनेछ ।
3. महिला, विद्यार्थी, दलित, जनजातिहरूका बारेमा लेखिएका सामाग्रिहरु लाई समेटने हाम्रो नीति रहने छ । त्यसो भन्नुको अर्थ विश्वका अन्य भागमा रहेका नेपालीहरूको उपेक्षा गर्नु कदापी होइन ।
4. प्रगतिशील साहित्य, गित, संगीतसित जोडिएका सूचना, विचारहरू संप्रेषण गर्ने प्रकारका मनोरंजन तर्फ पनि हाम्रो ध्यान जाने छ ।
5. भारतका हरेक राज्य, संसारका सम्पूर्ण देशहरुमा छरिएर रहनु हुने श्रमजिवी नेपालीहरुको भावनालाई अंगाल्दै अगाडि बढ्ने हाम्रो उदेश्य रहने छ ।
हामीले संभव सबै विकल्पहरूको प्रयोग गरेर विश्वभरी रहेका नेपालीहरूका समस्याहरूबारे बढी भन्दा बढी आवाज उठाउने, उहाँहरूका आवाजहरूलाई पुरजोर सहयोग पुर्याउने प्रयत्न त गर्नेछौं । त्यसका साथै माथि उल्लेख गरिएका विभिन्न विषयहरूमा उहाँहरूको प्रतिक्रिया जान्ने, उहाँहरूसित छलफल अन्तक्रिया गर्ने प्रयत्न पनि हामीले गर्ने छौं । त्यसो गर्नुको तात्पर्य यो हो कि मातृभूमिबाट टाढा रहे पनि आफ्ना देशका समस्याहरूबारे उहाँहरूलाई बढी सजग, सचेत गर्न सकियोस् ।
हाल हामीले “नेपाली समाचार” साप्ताहिक प्रिंट संस्करण मार्फत श्रमजीवी नेपालीहरुको आवाजलाई समेटदै आएका छौं । यो साइट मूल रुपमा त्यसैको इन्टरनेट संस्करण नै हो । इन्टरनेटको विश्वव्यापी पहुँच, तीब्रता र व्यापकतामाथि ध्यान दिंदै हामीले यसलाई अन्तक्र्रियात्मक मञ्चको रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं । हाम्रो त्यसप्रकारको प्रयत्नले विश्व भरी छरिएर रहेका देशभक्त, प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी नेपालीहरूलाई आफ्ना समस्या, विचार, प्रतिभा, भावना पोख्ने चैतारी प्रदान गरेर थोरै भएपनि सहयोग पुर्याउन सक्यौं भने हामीलाई खुशी लाग्ने छ ।
अन्तमा, एकवर्षको छोटो अवधीमा हामीलाई न्यानो मायाँबाट प्रेरणा लिंदै अझै उच्च र घनिभुत रूपमा काम गर्ने, हरेक प्रकारका अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध न्यायको हुंकार भर्दै कलाम चलाउने, मानव समाजमा भएको शोषण दमन अन्याय अत्याचारलाई समाप्त पारेर सिंगो देश र समाजलाई नयाँ रुप र सृजनशिल विचार पस्कन सहयोग समर्थन गर्ने लेखकहरु, प्रगतिशील साहित्यकारहरु, राजनौतिक–सामाजिक व्यक्तित्वहरु, समाचारलाई विश्वासी बनाउन दिनरात खटिएका सम्वाददाताहरु एवं हामीलाई सदा मायाँ र ममता प्रदान गर्नु हुने पाठकहरु सबैलाई हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौं । साथै अगाडिका दिनहरुमा पनि यहाँहरु सम्पूर्णको साथ र सहयोगको अपेक्षामा रहने छ ।
(लेखकः यस अनलाईनका समाचार संयोजक हुनुहुन्छ ।)