१० वर्षपछि मुक्तिनाथ अधिकारीको घटना दोहोर्‍याउँदै विप्लव समूहद्वारा शिक्षकको हत्या

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एकजना शिक्षकको दर्दनाक हत्या गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहले हत्या गरेको हो ।

मंगलबार बिहानै घरबाट अपहरण गरेर लगिएका शिक्षक श्रेष्ठको नजिकैको जंगलमा घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । विप्लव समूहले एक विज्ञप्ति प्रकाशित गरी हत्याको जिम्मा लिएको छ ।

तत्कालिन माओवादीले सञ्चालन गरेको ‘कथित जनयुद्ध’ का क्रममा १० वर्षअघि २०५८ माघ ३ गते लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीको हत्या भएको थियो । त्यस्तै प्रकृतिको क्रुर घटना तत्कालिन माओवादी समूहबाट अलग्गिएको विप्लव समूहले दोहोर्याएको छ ।

स्थानीयका अनुसार सरस्वती आधारभूत विद्यालयका शिक्षक समेत रहेका श्रेष्ठको घरमा बिहानै ५ जनाको समूहमा पुगेका विप्लवका कार्यकर्ताले श्रेष्ठलाई हात बाँधेर घरबाट लगेका थिए ।

घरबाट पश्चिमतर्फ रहेको जंगलमा लगेर अगाडिबाट घाँटी रेटेर हत्या गरेको मोरङका प्रहरीले जनाएको छ ।शिक्षक श्रेष्ठलाई लगेको केही समयपछि खोज्दै गएका स्थानीयले श्रेष्ठको शव लुगाले ढाकिएको अवस्थामा फेला पारेका थिए । उनको घाँटी रेटेर हत्या गरेको देखिएको छ । श्रेष्ठको शव पोष्टमार्टमका लागि वीपी कोइराला मेमोरियल अस्पताल धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

नेकपा माओवादी विप्लव समूहका मेची कोसी व्युरो इन्चार्ज प्रताप भन्ने थमनसिंह राईले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकको हत्याको जिम्मा लिएका छन् । उनले शिक्षक श्रेष्ठले विप्लव समूहको सुराकी गरेको र पटक पटक मौका दिँदा पनि नसुध्रिएकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसन सञ्चालन गराएका थिए । २०७७ कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशिराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपुर्ण सामग्री सहित एक लाख रुपैयाँ लुट्न सघाउ पु-याएका थिए’, विज्ञप्तिमा आरोप लगाइएको छ ।

श्रेष्ठ स्थानिय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । एक छोरा, बुहारी र छोरी सदरमुकाम नजिक बस्दै आएका थिए । श्रेष्ठ गाउँमै खेती किसानी र अध्यापनगर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार