१६ जना अट्ने गाडीमा ३३ जना राखेर दुर्घटना गराउनेमाथि कारबाही गरः राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सोमबार बिहान बाँकेमा भएको सवारी दुर्घटनाको छानविन गरी दाषीउपर कारबाही गर्न माग गरेको छ ।

सोमबार उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पोडेलले एक वक्तव्य प्रकाशित गरी १६/१७ जना अट्ने गाडीमा ३३ जना राखेर दुर्घटना गराएको भन्दै सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्तिमाथि कारबाहीको माग गर्नुभएको हो ।

सोमबार राति भारतबाट फर्केका नेपालीहरुलाई रुपैडिया नाकाबाट उद्धार गरी सल्यान जान लागेको गाडी बाँकेमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

वक्तव्यमा राजमो उपाध्यक्ष पौडेलले आगामी दिनमा त्यसखालका दुर्घटना हुन नदिन सचेत रहन तथा मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिन र घाइतेहरुको उपचार गर्न, भारतबाट आएका सबै नेपालीको उचित स्वास्थ्य परीक्षण एवं क्वारेन्टिनको व्यवस्था गर्न माग गर्नुभएको छ ।

प्रेस विज्ञप्तिः

‘भारतबाट आएका नेपालीहरूलाई रूपहैडियाबाट उद्धार गरी नेपालगञ्जबाट दाङ–सल्यानतर्फ जान लागेको गाडी बाँकेको जङ्गलमा दुर्घटनाग्रस्त भई १२ जनाको मृत्यु र २१ जना घाइते भएको समाचारप्रति राष्ट्रिय जनमोर्चा स्तब्ध भएको छ । हामीले सबै मृतकहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्दछौँ । घाइतेहरूको समुचित उपचारको लागि सरकारसित अनुरोध गर्दछौँ ।

उक्त दुर्घटनाका सन्दर्भमा हामीले २ वटा कुराहरू विशेष रूपले उठाउन चाहन्छौँ । पहिलो, उक्त करिब १६÷१७ जनाको क्षमता भएको गाडीमा करिब ३३ जना मानिसहरू राखिएको कुरा स्वयम् मृतक र घाइतेहरूको सङ्ख्याबाट पुष्टि हुन्छ । त्यति ठूलो सङ्ख्यामा मानिसहरूलाई किन गाडीमा राखियो र प्रहरीले पनि त्यसका लागि किन अनुमति दियो रु त्यो गम्भीर र आपत्तिजनक प्रश्न हो । त्यसबारे छानवीन भई सम्बन्धित प्रहरी वा प्रशासनमाथि कारवाही हुनुपर्दछ भन्ने हाम्रो मत छ ।

दोश्रो, हामीले सँधै यो कुरामा जोड दिंदै आएका छौँकि, मृतकहरूका परिवारहरूलाई क्षतिपूर्ति दिइनुपर्दछ । त्यसको जिम्मा सरकारले नै लिनुपर्दछ । अहिलेको बाँकेको घटनामा मात्र होइन, कुनै पनि बस वा गाडीहरूमा दुर्घटना भएर मृत्यु हुने व्यक्तिहरूका परिवारहरूलाई क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्दछ र त्यसको उत्तरदायित्व सरकारको नै हुनुपर्दछ ।

अहिले भारतबाट अत्याधिक सङ्ख्यामा मानिसहरू नेपालमा आइरहेका छन् । उनीहरू आफ्नो देशमा आउनुलाई गलत भन्न सकिन्न र नेपालमा आएपछि उनीहरूको स्वास्थ्यको परिक्षण, क्बारेन्टाइन, उपचार समेतको व्यवस्था गर्नु सरकारको दायित्व हुन्छ ।

अहिले त्यसरी बाहिरबाट आउनेहरूको स्वास्थ्य जाँच र क्बारेन्टाइन समेतको व्यवस्था गर्ने जिम्मेवारी पालिकाहरूलाई नै सुम्पिएको छ । तर उनीहरूको लागि त्यति ठूलो व्यवस्था गर्नु वा खर्च जुटाउनु सम्भव हुने कुरा होइन । त्यसकारण त्यो पूरै जिम्मेवार केन्द्रले लिनुपर्दछ र आवश्यकताअनुसार पालिकाहरूलाई सहायता गर्नुपर्दछ ।

स्वास्थ्य जाँच गर्ने उपकरणहरूको अभावमा धेरैतिर स्वास्थ्य जाँच हुन सकेको छैन । क्बारेन्टाइनमा बसेका मानिसहरूको स्वास्थ्य जाँचका लागि पनि पर्याप्त व्यवस्था हुन सकेको छैन । त्यसको परिणामास्वरूप देशमा सङ्क्रमणले व्यापक र महामारीको रूप लिने खतरा छ । त्यसकारण त्यस्तो स्थिति उत्पन्न हुनुभन्दा पहिले नै त्यसका लागि ध्यान दिनका लागि हामीले सरकारसित अपील गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार