२५ वर्षपछि कांग्रेस नेताले भनेः हामीले गल्ती गरेछौं

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले महाकाली सन्धी गरेर आफूहरुले गल्ती गरेको स्वीकार गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले महाकाली सन्धि हुँदा हालका प्रधानमन्त्री केपी शर्मा ओली र आफूले त्यतिबेलाको संसदमा त्यसका पक्षमा समर्थन गर्दा गल्ति गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘कुनै समय वर्तमान प्रधानमन्त्री ओली र म अर्थात् प्रदीप गिरी संसदको यस्तै मञ्चबाट एक सुर भएर महाकाली सन्धिका पक्षमा बोलेका थियौं । त्यतिबेला महाकालीको सीमांकन ठीकसँग भएको छैन है भनेर माधव नेपाल, सीपी मैनालीको नेतृत्वमा भनिएको थियो ।’

गिरीले त्यतिबेला गरेको गल्ती स्वीकार गर्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिनुभएको छ ।

‘त्यस सवालमा तत्कालिन नेकपा एमाले टुट्यो । त्यतिबेला (हालका) प्रधानमन्त्री ओलीले र मैले पनि सायद गल्ति गरेका थियौं । त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ’ गिरीले भन्नुभयो ।

निशान छाप सम्बन्धी संविधान संशोधनको विषयमा कांग्रेसले सरकारलाई पूर्ण साथ दिएको उल्लेख गर्दै गिरीले भारतसँग कूटनीतिक संवाद अघि बढाउन पनि सुझाव दिनुभयो । उहाँले ‘स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्न’ पनि आग्रह गर्नुभयो । तर, गिरीको जोड पुरानो गल्ती सच्याउनमै केन्द्रित थियो ।

‘मेरो शुभकामना छ, वर्तमान प्रधानमन्त्रीलाई । आफ्ना पालामा हामीले गरेका गल्तिलाई सच्याउनुस्। तपाईंकै कार्यकालमा सच्याउनुस्’ गिरीले भन्नुभयो, ‘म स्याल र बाघको उदाहरण दिँदा लज्जित छु । प्रतिकात्मक अर्थ हो । आवश्यक कुटनीति गरेर, यसलाई पपुलिष्ट विषय नबनाएर साँच्चै नै त्यहाँको भूभागलाई भोग गर्न लगाएर आफ्नो नाम इतिहासमा अमर गर्नुहोस् ।’

महाकालीको मुहानको टुंगो नलगाइकन नेपाल ठगिने गरी विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो । हालका प्रधानमन्त्री ओली महाकाली सन्धिका बलिया समर्थक थिए ।

दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गर्‍यो । एमालेभित्रैको एउटा ठूलो समूहले महाकाली सन्धिको विरोध गर्‍यो । यही मुद्दाका आधारमा एमालेभित्र चुलिएको अन्तरविरोध छैटौं महाधिवेशनलगत्तै ०५४ फागुन २१ गते पार्टी विभाजन भएको थियो ।

नेकपा (मसाल) लगायत कैयौं राजनीतिक दलहरुले महाकाली सन्धी असमान भएकोले खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । तर, कांग्रेस नेताले महाकाली सन्धीमा हस्ताक्षर गरेर गल्ती स्वीकार गरेको भने यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार