‘३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’

काठमाडौं । नेपालका विभिन्न वामपन्थी दलका नेताहरुले पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अमिमायल गुञ्जमान ‘गोञ्जालो’ को रिहाईको माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले गोञ्जालोको जीवन रक्षा गर्नुपर्ने बताए ।

नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले गोञ्जालोलाई तीन दशकसम्म जेलमा राख्नु अमानवीय कार्य भएको बताउँदै तत्काल रिहा गर्न पेरु सरकारसँग माग गर्नुभयो । प्रवक्ता पुरीले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था पुगेकैले पेरुको प्रतिक्रियावादी सरकारले गोञ्जालोलाई रिहाई नगरेको बताउनुभयो । उहाँले गोञ्जालोको जीवर रक्षा गर्नु विश्भरका कम्युनिष्ट पार्टीको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले ८९ वर्षको उमेर पुग्दा पनि जेलमै राख्नु पेरु सरकारको अमानवीय कार्य भएको बताउनुभयो। उहाँले तत्कालिन फुजिमोरी सरकारले अमेरिकाका आडमा पेरुभियाली जनताको लागि संघर्ष गर्ने गोञ्जालोलाई आजीवन काराबास राख्ने सजाय दिएको भन्दै रिहा गर्न माग गर्नुभयो ।

नेपालामा जनयुद्ध सुरु गर्नुअघि पेरु कम्युनिस्ट पार्टीबाट आफूहरुले प्रेरणा लिएको गजुरेलको भनाई थियो । उहाँले पेरुको जनयुद्ध रणनीतिक रक्षाबाट सन्तुलनमा पुगेर प्रत्याक्रमणको तयारीकै क्रममा गोञ्जालोलाई गिरफ्तार गरिएको बताउनुभयो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देव गुरुङले पेरु कम्युनिस्ट पार्टीको नेतृत्वमा जनयुद्ध संसारका क्रान्तिकारीको लागि प्रेरणाको स्रोत र कम्युनिस्ट पार्टीको अंग भएको बताउनुभयो । अमेरिकी साम्राज्यवाद कमजोर भएमात्रै गोञ्जालो रिहाई हुन सम्भव भएको भन्दै गुरुङले साम्राज्यवाद विरोधी मोर्चा शसक्त बनाउनु पर्ने गुरुङले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले गोञ्जालो संसारका क्रान्तिकारीहरुको प्रेरणाको स्रोत भएको बताउँदै रिहाईको लागि पहल गर्नु दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोञ्जालोको रिहाईको लागि गीत गाउनुभएको थियो ।

सन् १९९२ सेप्टेम्बर १२ मा पेरु सरकारले गोञ्जालोलाई राजधानी लिमाबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार