महिलामुक्तिको सम्बन्धमा केही कुरा

दुर्गानाथ खरेल ##

—१—

आदिम समाजमा उत्पादनका मुख्य साधनहरू भाला, तिर, धनुष हुने र पेसा पशुपालन हुने भएपछि मुख्य भूमिका महिलाको भन्दा पुरुषको बढी भयो । अतिरिक्त श्रम युद्धबाट प्राप्त गर्ने चलन आयो । युग्मविवाह एकनिष्ठ विवाहमा सङ्क्रमणले माृतअधिकारको उन्मूलन र पितृअधिकारको स्थापना भयो । सम्पत्तिको मालिक पुरुष हुने, मरेपछि हस्तान्तरण गरेर महिलाको गोत्रमा जाने समस्या महसुस भएपछि पितृअधिकार बनाइयो । यसबाट महिलाहरू मालिकबाट दासत्वको रूपमा रूपान्तरण भए । यो सभ्ययुग आरम्भको सूचक थियो ।

तीन हजार वर्षको एकनिष्ठ विवाहले वेश्यावृत्तिबाट महिलालाई मात्र नोक्सान पुग्छ† महिला घृणित हुन्छिन् र पुरुषको पूर्ण प्रभुत्वको घोषणा गरिन्छ । विवाह अवधिको गर्भबाट जन्मेको सन्तान पतिको हुन्छ ।

पुँजीपतिले पत्नीलाई उत्पादनको साधन मात्र बनाउने हुनाले कम्युनिस्टले पत्नि पनि सामूहिक बनाउने गर्छन् भन्ने आरोप लगाउँछन् ।

कम्युनिस्टले व्यक्तिगत सम्पत्तिको उन्मूलन र विवाह तथा सम्बन्धविच्छेदको स्वतन्त्रता लागु गरेपछि वैवाहिक जीवनमा प्रेमबाहेक अरू कुनै बाध्यता नरहने वास्तविकता घोषणा गर्छन् । सर्वहारा क्रान्तिको जितहार, सर्वहारा सत्ताको विजयपराजय हुने कुरा बढी महिलाको सङ्ख्या मजदुर वर्गको पक्षमा या विरुद्धमा हुने कुराले निर्धारण गर्छ ।

—२—

महिला आन्दोलनको उद्देश्य आर्थिक र सामाजिक समानताका लागि लड्नु हो । मुख्य रूपले महिलालाई सामाजिक रूपले उत्पादक श्रममा तान्नुपर्छ । घरेलु दासताबाट निकाल्नु र अपमानजनक सेवाबाट मुक्त गर्नुको बढी महत्त्व हुन्छ ।

एकनिष्ठ विवाह आर्थिक कारणले भएको हो । त्यसको अन्त्य भएपछि मात्र त्यसले पूर्णता पाउने छ । त्यतिखेर एकनिष्ठ विवाहप्रथा पुरुषका लागि पनि वास्तविक बन्ने छ । सङ्घर्ष र प्रशिक्षणबिना समाजवाद असम्भव छ ।

पुँजीवादी व्यवस्थामा महिलाहरू आर्थिक अभाव एकातिर र अर्कोतिर नैतिक अभावको सिकार बन्छन् । सर्वहारा क्रान्तिअनुरूप नै विवाह तथा यौनसम्बन्धको क्षेत्रमा पनि क्रान्ति हुने कुरा निश्चित छ । यौनजीवनमा उछृङ्खलता पुँजीवाद हो । अधोगतिको लक्षण हो ।

सर्वहारा माथि उठ्दै गरेको वर्ग हो । त्यसलाई कुनै नशा वा उत्तेजनाको आवश्यकता छैन । आत्मसंयम र अनुशासन भन्नु दासत्व होइनन्, त्यो प्रेमको मामिलामा पनि लागु हुन्छ ।

महिलाले सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गतको समाजमा मात्र पुरुषसमान कानुनी एवम् व्यावहारिक हैसियत प्राप्त गर्छन् । त्यसैले राजनैतिक सम्बन्ध स्थापित गर्नुपर्छ ।

—३—

शोषित, उत्पीडित वर्गका लागि र सर्वसाधारण श्रमजीवी वर्गका लागि वर्तमान व्यवस्था खराब छ । महिला बढी उत्पीडित भएको हुनाले उनीहरूलाई क्रान्ति चाहिएको छ । शोषक वर्गको राजनीतिक सत्ता हत्याएपछि मात्र क्रान्ति सफल हुन्छ । अहिलेसम्म महिलाले राजनीतिमा अत्यन्त कम मात्रैले भाग लिएका छन् । शोषित, उत्पीडित जनताको साथमा राजनीति गरेर वर्तमान राज्यसत्तामा आमूल परिवर्तन गर्नुपर्छ । प्रतिक्रियावादी सङ्गठन बनाएर आफ्नो व्यवस्थाको सेवा गर्न लगाएको हुनाले तिनीहरूको विरुद्ध महिलाहरू

राजनीतिकेन्द्रित हुनुपर्छ । क्रान्तिकारी महिलाले मात्र आमूल परिवर्तनको राजनीति गर्न सक्छन् ।
महिलाको बेग्लै वर्ग नहुने हुनाले मजदुर, किसान, विद्यार्थी, शिक्षक आदि सबै वर्ग र जनसमूह एक हुनुका साथै आफ्ना हक, हितलाई पनि अगाडि बढाउनुपर्छ । त्यो भनेको जनवादी आन्दोलनको अङ्ग बनाएर सङ्घर्ष गर्नुपर्छ भनेको हो ।

सम्पत्तिमा समान हक र आर्थिक आत्मनिर्भरता तथा विवाह, सम्बन्धविच्छेद र सन्तान जन्माउने स्वतन्त्रता नै महिलामुक्तिका आधारभूत शर्त हुन् । सबैका लागि स्वतन्त्रता या पराधीनता टुङ्ग्याउने निर्णायक आधार सम्पत्ति नै रहने गरेको छ । समाजवादी आन्दोलनको अङ्गको रूपमा नै महिलामुक्ति आन्दोलनले सही दिशामा विकास गर्न सक्दछ । पुँजीवादी व्यवस्थामा महिलालाई विलासिताको साधन मात्र ठानिन्छ ।

—४—

देशको आर्थिक सामाजिक र राजनैतिक कारणले उत्पीडित वर्गभित्र पर्ने सबैभन्दा बढी सङ्ख्या महिलाको छ तर चेतनाको स्तर र सङ्गठनको स्तर दुवै कमजोर छ । महिलाको मुक्तिको बाटोमा अवरोध तेस्र्याउने वर्तमान राजनैतिक व्यवस्था भएकाले यो व्यवस्थाको अन्त्यका लागि क्रान्तिकारी वामपन्थी राजनीति अपनाएर अगाडि बढ्नुपर्दछ ।

क्रान्तिकारी राजनीतिको उद्देश्य साम्यवाद स्थापना नहुँदासम्म सङ्घर्ष गरिरहने हो । नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि महिलामाथिको सामाजिक नियन्त्रण र उत्पीडन समाप्त पार्ने, सम्पत्तिमा समान अधिकार दिने र सबै क्षेत्रमा पुरुषसरह अधिकार दिइने छ ।

महिलाको छुट्टै वर्ग नहुने हुनाले महिलामुक्ति आन्दोलनलाई देशको सम्पूर्ण जनवादी आन्दोलनको अङ्ग बनाएर सङ्घर्ष गर्नुपर्छ ।

महिलामुक्तिका लागि एउटा सम्पत्तिमा समान हक र आर्थिक आत्मनिर्भरता अर्को विवाह र सम्बन्धविच्छेदको स्वतन्त्रता महत्त्वपूर्ण अधिकार हुन् । यी दुवै शर्त पूरा नभइकन स्वतन्त्रता हुन सक्दैन । उपर्युक्त दुई शर्तले प्रेम र दाम्पत्य जीवनको अवस्थामा पनि परिवर्तन ल्याइदिन्छ । यसले सम्पूर्ण समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

विवाहपछि महिलालाई सम्बन्धविच्छेद गर्ने अधिकार भएपछि नै परिवारको ढाँचा जनवादी आधारमा स्थापित हुन सक्छ । साझा सम्पत्तिको हकसहित सम्बन्धविच्छेद हुँदा फेरि विवाह गर्न सजिलो हुन्छ । जबसम्म महिला घरको चौघेरा तोडेर घरबाहिरको समाजमा हुने बृहत्तर उत्पादनमा सामेल हुन्नन्, महिलामुक्तिको कुरा व्यवहारमा लागु हुन्न । त्यसैले समाजवादी आन्दोलनको अङ्गको रूपमा नै महिलामुक्ति आन्दोलनले सही दिशामा विकास गर्न सक्छ ।

—५—

सामन्तवादको गर्भमा पुँजीवादको भु्रण विकसित भइरहेको बेलादेखि सामाजिक उत्पादनमा महिलाले भाग लिने काम सुरु भएर बढ्न थाल्यो । यो भौतिक आधारले नै पहिलोपटक महिलामा सामाजिक अधिकारको चेतना जगायो । चाल्र्स फुरियेले सन् १८०८ मा समाजमा स्वतन्त्रताको नाम महिलाहरू कति हदसम्म स्वतन्त्र छन् भन्ने हो भनेर पहिलोपटक बताए ।

पुँजीवादी शोषणको व्यवस्थालाई समाप्त पार्ने पहिलो कदम महिलाको वर्गचेतनालाई उन्नत पार्नु, राजनीतिक जीवनमा सहभागिता बढाउँदै लैजानु र मजदुर वर्गको क्रान्तिकारी आन्दोलनमा सामेल गराउनुपर्छ भनेर माक्र्स, एङ्गेल्सले बताए भने लेनिनले स्वास्नीमान्छेका निम्ति पूर्ण स्वतन्त्रता प्राप्त नगरिकन सर्वहारा वर्गले आफ्नो पूर्ण स्वतन्त्रता प्राप्त गर्न सक्दैन भने । सन् १८८८ मा अमेरिकी नारिवादीको पहलमा पहिलो अन्तर्राष्ट्रिय नारी परिषद् गठन भयो वा स्थापना भयो ।

सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा सम्पन्न महिलाको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले क्लारा जेट्किनको प्रस्तावमा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो ।

जुन देशमा साम्राज्यवाद, सामन्तवाद विरोधी सङ्घर्षको नेतृत्व सर्वहारा वर्गले गर्‍यो र केही दसकसम्म सर्वहारा सत्ता कायम रहन सक्यो, ती देशमा आजसम्म पनि महिला उपलब्धि सबै गुमेका छैनन् । आर्थिक प्रश्नबाहेक सामाजिक, सांस्कृतिक र राजनैतिक धरातलमा पनि महिलाहरूले सङ्गठित भएर सङ्घर्ष गर्न जरुरी छ ।

—६—

महिलामुक्तिको सङ्घर्षलाई क्रान्तिकारी दिशा दिन जनताका सबै वर्गको क्रान्तिकारी सङ्घर्षसँग गाँसिदिनुपर्छ । महिलालाई छाडेर न कुनै सर्वहारा क्रान्ति सफल हुन सक्छ, न सर्वहारा क्रान्तिबिना महिलाको वास्तविक मुक्तिको सुरुआत हुन सक्छ । समाजवादी सङ्क्रमणको अवधिमा पनि एउटा लामो समयसम्मको सङ्घर्षपछि महिलाको मुक्ति सम्भव छ । यो प्रश्न समाजवादको विजयपराजयसँग गाँसिएको प्रश्न हो ।

समाजवाद महिला समस्या समाधानको सुरुआत मात्र हो, समाधान होइन । महिलाको हजारौँ वर्षको मानसिक दासतालाई नाश गर्नका लागि पार्टीपङ्क्तिमा महिलालाई भर्ना गर्ने प्रक्रियालाई तेज पार्ने, सबै जनसङ्गठनमा महिलाको सक्रिय सहभागिता बढाउने र पुरुष स्वामित्ववादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै जानुपर्दछ ।

बुर्जुवा व्यवस्थाको घेराभित्र, सुधारको घेराभित्र महिलामुक्तिको सवालमा विश्वास गरेर महिलामुक्ति रत्तिभर पनि सम्भव छैन । त्यसका लागि राज्यसत्ता र किसिम किसिमका फासिष्ट प्रवृत्तिको विरुद्ध जुझारु लडाइँ लड्नुपर्ने छ ।

—७—

सामाजिक उत्पादनमा मुख्य भूमिका निर्वाह गर्नेहरूले नै उत्पादनलाई आफ्नो नियन्त्रणमा लिन्छन् । महिलाले नै उत्पादनलाई आफ्नो नियन्त्रणमा लिन्छन् ।

महिलाले उत्पादनको नियन्त्रण गर्ने समयमा आदिम ढङ्गको खेतिपाती थियो । त्यसमा मुख्य भूमिका उनीहरूले नै निर्वाह गर्दथे । भाला, तिर, धनुष मुख्य औजारसहित पशुपालन गर्ने उत्पादन प्रचलित हुँदा मुख्य भूमिका पुरुषको थियो र उनीहरूले नै उत्पादनको नियन्त्रण गर्दथे । उत्पादनमा अन्तबाट श्रमशक्ति ल्याउनुपर्ने आवश्यकता महसुस भएपछि युद्धबाट हरुवालाई दास बनाएर काम गराउँदा उत्पादनमा वृद्धि भयो । त्यो ऐतिहासिक परिस्थितिमा पहिलो बृहत् श्रमविभाजन भएर सम्पत्तिमा वृद्धि गर्दै उत्पादनको क्षेत्रलाई विस्तार गरे । अनिवार्य दासप्रथा प्रचलनमा आयो । समाजमा दास र दासमालिक अथवा शोष र शोषित वर्ग हुने गरी श्रमविभाजन भयो ।

—८—

जङ्गली जनावरलाई पक्रेर पाल्तु बनाउने र तिनीहरूको पालनपोषण गरेर आवश्यकता पूरा गर्ने काममा प्रमुख भूमिका पुरुषको थियो ।

त्यतिखेर उनीहरू जनावरका मालिक हुन्थे । आवश्यकता पूरा भएर बचेको उत्पादन पुरुषको हुन्थ्यो । महिलाको उपभोगमा हिस्सेदार भए पनि स्वामित्वमा कुनै हिस्सा थिएन । जङ्गली योद्धा र सिकारीहरू घरमा महिलालाई प्रमुख स्थान दिएर आफू सन्तुष्ट भएको भए पनि भद्र गोठालाले आफ्नो स्वामित्व प्रमुख बनााएर महिलालाई दोस्रो दर्जामा धकेलिदिए । महिला घरेलु काममा सीमित भए । पछि घरबाहिरको कामले पुरुषको आधिपत्य र महिलाको घरेलु काम फाल्तु भयो । महिलालाई सामाजिक उत्पादनको कामबाट अलग गरेर घरको निजी काममा सीमित राख्दासम्म पुरुषसँग बराबरी हक पाउन असम्भव बनाइने छ र असम्भव रहिरहने पनि छ ।

—९—

मातृअधिकारको उन्मूलन र पितृअधिकारको स्थापनाका साथसाथै युग्मविवाह एकनिष्ठ विवाह प्रथामा सङ्क्रमण भएबाट निरङ्कुशताले स्थायित्व प्राप्त गर्‍यो । ठुला आकारका उद्योग सञ्चालन भएर महिला सहभागिता हुने एकातिर र घरको निजी कामलाई सार्वजनिक उद्योग बनाइने अर्कोतिर गरेर मात्र समानता सम्भव हुने छ ।

पशुको बथानलाई पारिवारिक सम्पत्ति बनाइएपछि श्रमशक्तिको पनि किनबेच हुन थाल्यो । युद्धमा बन्दी बनाइएका मानिस श्रमका लागि उपयोगी भए । उनीहरूको पनि पशुको जस्तै बढी सन्तान जन्माएर सङ्ख्या बनाउन सकिन्थ्यो । परिवारभित्रको श्रमविभाजनबाट भोजन जुटाउने र आवश्यक औजार तयार पार्ने काम पुरुषको हुँदा स्वामित्वको अधिकार पनि उनीहरूकै हुने गर्दथ्यो । घरमा महिला्को साथमा रहने औजार पनि पशु, दास र नयाँ औजारसमेतका मालिक पुरुष नै बन्न गए ।

—१०—

एकनिष्ठ परिवार पुरुषको सर्वोच्च सत्तामा आधारित हुन्छ । त्यसको उद्देश्य पितृत्वको बारेमा कुनै विवाद नहुने सन्तान जन्माउनु हुन्छ ।

पत्नीप्रति वफादार रहनुनपर्ने पुरुषको अधिकार अझ पनि कायमै रहन्छ । यदि पत्नीले पनि त्यसलाई लागु गर्न चाहन्छे भने कडा सजाय गरिन्छ । प्राचीनकालमा एकनिष्ठ विवाहको उत्पत्ति यौनप्रेमसँग सरोकार थिएन । विवाह लाभलाई हेरेर गरिन्थ्यो । आर्थिक कारणमाथि आधारित थियो । प्राकृतिक सामूहिक सम्पदामाथि व्यक्तिगत सम्पत्ति विजयको आधारमा स्थापित भएको थियो । पुरुष र महिलाको बिचमा सहमतिको रूपमा पहिले प्रकट भएको थिएन ।

—११—

एकनिष्ठ विवाहले दासप्रथा र निजी सम्पत्तिसँग मिलेर आजसम्म चलिरहेको युगको सुरुआत गर्‍यो । यसमा केही मानिसको समृद्धि र विकास अरूहरूको अवनति तथा हतासाबाट नै सम्पन्न हुन्छ । एकनिष्ठ विवाह सभ्य समाजको सबै अन्तरविरोध तथा द्वन्द्वको अध्ययनको कोषिका हो । कथनमा सधैँ निन्दा गरिने शोषक वर्गद्वारा मजासँग उपयोग गरिने, त्यसमा संलग्न पुरुष र नारीमध्ये नारीलाई मात्र नोक्सान पुग्ने वेश्यावृत्तिले समाजको मूल नियमको रूपमा नारीप्रति पुरुषको पूर्ण प्रभुत्वको घोषणा गरिन्छ ।

तीन हजार वर्षसम्म चलेको एकनिष्ठ विवाहको अन्तिम परिणाम विवाह अवधिमा गर्भधारण भएमा पतिलाई बच्चाको पिता मानिने अन्तिम परिणाम निस्कियो । पुँजीपति वर्गले सपनामा पनि सोच्न सक्दैन कि आफूहरूले उत्पादनको औजारको रूपमा राखेका महिलालाई कम्युनिस्टले त्यो अवस्थालाई अन्त्य गर्ने मुख्य उद्देश्यसहित काम गर्छन् । उत्पादनको वर्तमान प्रणाली समाप्त हुनासाथ त्यसबाट उत्पन्न महिलाको सर्वोपभोग्यताको बजारु तथा घरेलु दुवै किसिमका वेश्यावृत्तिको अनिवार्य रूपमा अन्त्य हुने छ ।

—१२—

आधुनिक व्यक्तिगत परिवार महिलाको प्रत्यक्ष वा परोक्ष घरेलु दासत्वमा आधारित छ । आधुनिक समाज यिनै वैयक्तिक परिवारका अणु मिलेर बनेको छ । परिवारमा पति बुर्जुवा हुन्छ र पत्नी सर्वहाराको स्थितिमा हुन्छे । पूरै महिला सार्वजनिक उत्पादनमा प्रवेश गरेपछि मात्र पतिपत्नी समान हुने छन् । त्यसका लागि समाजको आर्थिक एकाइ हुने वैयक्तिक परिवारको गुणलाई नष्ट गर्नुपर्छ ।

पुँजीवादी प्रतिनिधिले धर्म र पुलिसको माग गर्दै दुवैलाई सुरक्षित साधन माने तर व्यवहारमा तिनीहरूबाट नै वेश्यावृत्ति कायम राखिन्छ । महिलालाई सार्वजनिक गतिविधिमा, सेनामा, सार्वजनिक जीवनमा सरिक गराएर घरबार र भान्छाकोठाबाट बाहिर निकालेपछि मात्रै वास्तविक स्वतन्त्रता सम्भव हुने छ ।

—१३—

श्रमजीवी महिलाको विशाल समूहको सहभागिताबिना समाजवादी क्रान्ति हुन सक्दैन । पुँजीवाद रहेसम्म महिलाले पूर्ण स्वतन्त्रताको उपभोग गर्न पाउन्नन् । सडेगलेको कानुनको बोझ मजदुर वर्गका महिलाले बहन गर्नुपर्छ । धार्मिक पूर्वाग्रहको सबैभन्दा गहिरो श्रोत गरिबी र अज्ञानता हुन् । हामीले यिनै खराबीसँग लड्नुपर्दछ । शोषित, उत्पीडित वर्गमाथि राजनीतिक सत्ता, वंशाणुगत सत्ता, धार्मिक सत्ता भएको र महिलामाथि थप पतिको सत्तासमेतले उत्पीडतमा पार्छ । राजनीतिक तथा आर्थिक सङ्घर्षमा विजयको नतिजास्वरूप उत्पीडनको पनि अन्त्य हुने छ । मानवजातिको इतिहासमा कामदार महिलाको संलग्नता नभइकन कुनै महान् आन्दोलन भएको छैन ।

—१४—

आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलामध्ये मजदुर एवम् किसान मिहिनेतकस महिला मजदुर वर्गको सबैभन्दा ठुलो आरक्षित शक्ति हो । क्रान्तिको जितहार, सर्वहारा सत्ताको विजयपराजय त्यही आरक्षित शक्ति महिलाको पक्षमा वा त्यसको विरुद्धमा भन्नेबाट निर्भर रहन्छन् ।

कम्युनिस्ट पार्टीको पहिलो कार्यभार सर्वहारा वर्गको झन्डामुनि महिला किसान र महिला मजदुरलाई राजनीतिक रूपले शिक्षित र सङ्गठित गर्ने र निर्णायक सङ्घर्षमा हाम फाल्नु हो । महिलालाई राजनीतिमा नलगिकन जनतालाई राजनीतिमा तान्न सकिन्न । कुनै एउटा पनि गणतन्त्रले निजी सम्पत्तिको पवित्र अधिकार गुम्ने डरले विवाह र परिवारसम्बन्धी तथा सन्तानसँगको सम्बन्धको मामिलामा पुरुष र महिलाबिच कानुनी समानताको पहिलो कदम उठाउन सक्दैनन् । त्यसपछि दोस्रो कदम जमिन, कारखाना, मिलमाथिको निजी स्वामित्वलाई समाप्त गरेर पुँजीवादी दासत्वबाट श्रमलाई मुक्त गर्ने हो ।

—१५—

समाजवादमा महिलालाई आर्थिक, सांस्कृतिक, सामाजिक र राजनीतिक जीवनका तमाम क्षेत्रमा पुरुषको बराबर अधिकार दिइन्छ । काम, कामको वेतन, छुट्टी र आराम सामाजिक बिमा तथा शिक्षाको क्षेत्रमा पनि बराबरीको अधिकार दिइन्छ । आमा र बच्चाको हितलाई राजकीय संरक्षण दिइन्छ ।

हामी जति जान्दछौँ, त्यसभन्दा कैयौँ बढी सङ्गठनात्मक प्रतिभा मजदुर, किसान महिलामा छ । समाजवादी सत्ताले दिने जनवाद पुँजीवादद्वारा उत्पीडित मिहिनेतकस जनताका लागि हो । जनताको विशाल बहुमतको जनवाद हो । यो शोषकका लागि भन्दा भिन्न हुन्छ । पुँजीवादी जनतन्त्रले मानवजातिको आधा आवादी महिलालाई न त पुरुषसँग पूर्ण समानता दिएको छ, न पुरुषको अधिपत्यबाट मुक्त नै गरेको छ ।

—१६—

महिलालाई पूर्ण स्वतन्त्र नगराएसम्म सर्वहारा वर्ग आफू पनि स्वतन्त्र हुन सक्दैन । यो एउटा लामो सङ्घर्ष हो । यसका लागि सामाजिक, प्राविधिक तथा प्रथा दुवैको आमूल पुनर्निर्माण आवश्यक छ तर यो सङ्घर्षको अन्त्य कम्युनिज्मको पूर्ण विजयको साथमा हुने छ । जङ्गली युगमा सामूहिक विवाह, बर्बर युगमा युग्मविवाह र सभ्यताको युगमा एकनिष्ठ विवाह प्रथा प्रचलनमा हुँदा त्यससँग जोडिएका व्यभिचार तथा वेश्यावृत्ति पनि प्रचलित भए ।

उत्पादनका साधनमा सामूहिक स्वामित्व भएबाट वैयक्तिक परिवार समाजको आर्थिक एकाइ रहने छैन । घरका निजी प्रबन्ध सार्वजनिक विषय हुने छ । पुँजीवादी उत्पादन तथा त्यसबाट उत्पन्न स्वामित्व सम्बन्ध मेटिएपछि आम रूपमा विवाहमा पूर्ण स्वतन्त्रता स्थापित हुने छ । माया, प्रेममा मात्र आधारित हुने छ । त्यसको साथसाथै पुरुषहरू सही अर्थमा एकनिष्ठ बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार