स्टालिनको योगदानबिना मार्क्सवाद–लेनिनवाद अपूर्ण

“डिसेम्बर २१ : स्टालिनको एक सय पैतालिसौँ जन्मजयन्ती “

मनोज भट्ट ##

यो लेखमा मैले क. स्टालिनको मूल्याङ्कन प्रस्तुत गर्ने जमर्काे गरेको छु ।

क. स्टालिनको मूल्याङ्कनको प्रश्न आउँदा सोभियत सङ्घको कम्युनिस्ट पार्टीले लिएको संशोधनवादी कार्यदिशाको विरोधमा माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको दस्तावेज, जुन विश्व कम्युनिस्ट आन्दोलनमा ‘महाविवाद’ को नामले प्रसिद्ध छ, मा ‘क. स्टालिनको सवालमा’ भन्ने अध्यायमा भनिएको छ– “स्टालिनको सवाल एउटा विश्वव्यापी प्रश्न हो । स्टालिनको प्रभाव विश्वका प्रत्येक मुलुकका सम्पूर्ण वर्गमाथि परेको छ, जुन आज पनि निकै विवादको विषय हो । उक्त विषयमाथि विभिन्न वर्ग तथा यिनका राजनीतिक पार्टीले बेग्लाबेग्लै दृष्टिकोण राख्छन । यो धेरै सम्भव छ कि यो शताब्दीमा यो सवालमा कुनै अन्तिम निर्णयमा पुग्न नसकिएला ।”
यो कुरा अहिले पनि त्यतिकै सत्य छ । स्टालिनको मृत्यु भएको झन्डै ७० वर्ष पुग्न थालेको छ तर आआफ्नो वर्गदृष्टिकोणअनुसार स्टालिनको सवालमा विश्व विभाजित छ ।

क. स्टालिनले मार्क्स, एङ्गेल्स, लेनिनपछि माक्र्सवादका विकास र प्रयोगमा महत्त्वपूर्ण योगदान पुर्‍याएको हुनाले विश्व कम्युनिस्ट आन्दोलनमा एउटा प्रमुख नेताको रूपमा उहाँको स्थान रहेको छ । समाजवादी क्रान्तिका तयारी, यसको कार्यान्वयनमा तथा गृहयुद्धमा स्टालिनको भूमिका, फासिवाद विरोधी युद्ध र रुसमा समाजवाद निर्माणको सङ्घर्षमा स्टालिनको भूमिका विश्वव्यापी रूपमा महत्त्वपूर्ण रहेको छ ।

स्टालिनको मृत्युपश्चात् सोभियत सङ्घको कम्युनिस्ट पार्टी र क. माओले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा पनि उहाँ विश्व कम्युनिस्ट आन्दोलनको प्रमुख नेताको हैसियतमा रहेको कुरा स्मरण नै छ ।

स्टालिनको मृत्युपश्चात् माओले जारी गर्नुभएको माओको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ– “लेनिनको निधनपछि स्टालिन नै सधैँ विश्व कम्युनिस्ट आन्दोलनका मुख्य व्यक्ति थिए । उहाँको वरिपरि हामी एकजुट भएका थियौँ ।”

माओको यो भनाइबाट विश्व कम्युनिस्ट आन्दोलनमा क. स्टालिनको स्थान र हैसियत के रहेको छ ? भन्ने कुरा प्रष्ट हुन्छ ।

त्यस्तै, सोभियत सङ्घको कम्युनिस्ट पार्टी र सरकारबाट जारी गरिएको वक्तव्यमा भनिएको छ– “मानवताको सम्पूर्ण इतिहासका महानतम विभूतिका साथै मार्क्स, एङ्गेल्स, लेनिनसँग स्टालिनको नाम लिनु सर्वथा उचित हुन्छ ।”

यो भनाइबाट संसारका महानतम विभूतिहरू कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स तथा लेनिनपछि स्टालिनको नाम आउँछ । यस्तो महान् विभूतिको मूल्याङ्कनको प्रश्न एउटा गम्भीर विषय हो । उहाँको जन्म, सङ्घर्षले भरिएको जीवन, रुसी अक्टोबर क्रान्तिको तयारी र क्रान्तिपश्चात् समाजवादको विकास तथा प्रयोग, स्टालिनमाथि हुने गरेका विभिन्न आक्रमण, आरोप, आलोचनाको सेरोफेरोमा लेखलाई विस्तार गर्ने प्रयत्न गरेको छु ।

राहुल सांकृत्यायनद्वारा लिखित पुस्तक “स्टालिन : एक जीवनी” का अनुसार स्टालिन सन् १८७९ डिसेम्बर २१ तारिखका दिन रुसको दक्षिण–पश्चिम भागको ककेसियामा जन्मेका थिए । तत्कालीन सोभियतको प्रकाशनगृह मार्क्स एङ्गेल्स लेनिन संस्थानले तयार पारी प्रकाशन गरेको “स्टालिनको सङ्क्षिप्त जीवनी” सम्बन्धी पुस्तकमा समेत स्टालिनको जन्ममिति सन् १८७९ डिसेम्बर २१ तारिख उल्लेख गरिएको छ । स्टालिनको बाल्यकालको नाम सोसो थियो । सबैले स्टालिनलाई मायाले सोसो भनेर बोलाउथे ।

स्टालिनका बुबा सार्की थिए र जुत्ता बनाउने उनको पेसा थियो । एउटा सार्की परिवारमा जन्मेको बच्चा सोभियत रुस जस्तो मुलुकको सर्वोच्च नेता तथा विश्व कम्युनिस्ट आन्दोलनलाई पथप्रदर्शन गर्ने प्रमुख नेताको रूपमा विकास गर्ने छ भनेर कसैले अनुमानसम्म गरेका थिएनन् होला ।

स्टालिनको प्रारम्भिक शिक्षादीक्षा आर्थिक अवस्था नाजुक भएका कारण गोरीको स्थानीय विद्यालयमा भएको थियो । स्टालिनका बाबुआमा स्टालिनलाई इसाई पादरी बनाउन चाहन्थे । छोरा पादरी हुन सकेमा उसको भविष्य उज्ज्वल हुने छ भन्ने बाबुआमाको बुझाइ थियो । त्यही बुझाइको परिणाम ९ वर्षको हुँदा इसाई पुरोहित स्कुलमा स्टालिनलाई भर्ना गरियो । त्यहाँ स्टालिनले ६ वर्षसम्म अध्ययन गर्नुभयो । उहाँ अध्ययनमा निकै तीक्ष्ण हुनुहुन्थ्यो ।

स्टालिनको पारिवारिक जीवन पनि निकै उथलपुथल र सङ्घर्षले भरिएको छ । उहाँको पहिलो विवाह सन् १९०६ मा केटेवान स्वानिजेसँग भएको पाइन्छ तर सन् १९०७ मा टाइफाइडबाट स्वानिजेको निधन भयो । उहाँले दोस्रो विवाह सन् १९१९ मा नादेज्दा अल्लिलुयेवासँग गर्नुभयो । दोश्रो पत्नीले सन् १९३२ मा आफैले आफूलाई गोली हानेर आत्महत्या गरिन् । पहिलो पत्नीबाट जन्मेको छोरा याकोभलाई रुसजर्मन युद्धमा जर्मन सेनाले गिरफ्तार गरेको थियो । बन्दीको अदलाबदलीमा जर्मनले याकोभ रुसलाई सुम्पिने प्रस्ताव गर्दा स्टालिनले अस्वीकार गरे । जर्मनीको युद्धबन्दी क्याम्पमा सन् १९४३ मा याकोभको जर्मन सेनाबाट हत्या भयो । उहाँको छोरी स्वेतलानालाई साम्राज्यवादीले स्टालिनका विरुद्ध प्रयोग गरे ।

रुसको तत्कालीन निरङ्कुश राजतन्त्रको अन्याय–अत्याचारपूर्ण अवस्थाले त्यस विरुद्धको गतिविधिमा लाग्न स्टालिनलाई प्रेरित गर्‍यो । स्टालिनले मार्क्सवादी साहित्यको गम्भीर अध्ययन गर्न थाल्नुभयो । त्यस दौरान उहाँले “सङ्घर्ष” भन्ने पत्रिका पनि प्रकाशन गर्न थाल्नुभयो ।

जारविरोधी स्टालिनको क्रान्तिकारी गतिविधि राज्यका लागि सह्य हुने कुरा थिएन । २३ वर्षको उमेरमा सन् १९०२ मा पहिलोपटक राजाको विरोधमा लागेबापत् स्टालिनले निर्वासन व्यहोर्नुभयो । त्यसपछिका दिनमा त जेल, नेल, निर्वासन त स्टालिनका लागि पानिपँधेरो जस्तै बन्यो । स्टालिनको समग्र जीवन सङ्घर्षले भरिएको कुरा तपसिलका केही विवरणले पनि बताउँछ ।

सन् १९०५ मा जार सरकारले स्टालिनलाई साइबेरिया निर्वासित गर्‍यो । त्यहाँबाट भागेर उहाँ पुन: क्रान्तिकारी गतिविधिमा सक्रिय हुन थाल्नुभयो । जार सरकारले त्यही क्रममा स्टालिनलाई गिरफ्तार गरेर दुई वर्षको जेलसजाय गर्‍यो । सन् १९०८ मा आठ महिना जेल, सन् १९१० मा छ महिना जेल, जार विरुद्धको गतिविधि गरेबापत् पाँच वर्षका निम्ति साइबेरिया निर्वासन, त्यहाँबाट पुन: भागेर पार्टीको कामलाई अगाडि बढाउने प्रयत्न, त्यही दौरान पुन: गिरफ्तार भएपछि पहिलेकै निर्वासित ठाउँमा सरकारले पठाउने काम गर्‍यो । २९ फेब्रुअरी १९१२ का दिन निर्वासनबाट स्टालिन भाग्न सफल हुनुभयो तर २२ अप्रैल १९१२ मा गिरफ्तार भएर जेलमा थुनिनुपर्‍यो । त्यस बेला तीन वर्षका लागि उहाँलाई निर्वासनमा पठाइयो । १ सेप्टेम्बर १९१२ मा स्टालिन निर्वासनबाट सरकारको आँखा छलेर भागेर सेन्ट पिटर्सबर्ग आएर पार्टीको प्रकाशन कार्यमा लाग्नुभयो । त्यस दौरान २२ फेब्रुअरी १९१३ मा पिटर्सबर्गबाट गिरफ्तार भई चार वर्षका लागि पुन: निर्वासन ।

यसरी हेर्ने हो भने जारको विरोध गर्ने क्रममा स्टालिन पटक पटक गरी छपटक गिरफ्तार हुनुभयो । उहाँलाई पटक पटक साइबेरिया तथा कालापानी जस्तो अत्यन्तै दुर्गम ठाउँमा निर्वासित गरिएको अवस्थामा भागेर पुन: क्रान्तिकारी गतिविधिमा लागेको पाइन्छ । यसरी क्रान्तिको दौरान स्टालिनको जीवन सङ्घर्ष र रोमाञ्चले भरिएको छ । यस प्रकार उत्साह, जोस तथा प्रतिक्रियावादी व्यवस्था विरुद्ध लडने दृढ सङ्कल्प इच्छाशक्ति सबैमा पाइँदैन ।

रुसमा क्रान्ति सम्पन्न भएपछि रुसमाथि विभिन्न १४ ओटा साम्राज्यवादी मुलुकले एकै चोटी आक्रमण गरेका थिए । एकातर्फ, भर्खर पुँजीवादी व्यवस्थालाई फालेर समाजवादी व्यवस्थाको स्थापना भएको थियो । अर्कोतर्फ, त्यो शिशु समाजवादी व्यवस्थालाई खतम गर्न चौध चौधओटा मुलुकले रुसमाथि आक्रमण गरेका थिए । आन्तरिक रूपमा पुराना जमिन्दार, सामन्त, विदेशीका दलालहरूले उपद्रो मच्याइरहेका थिए । पार्टीभित्रका लेलिनवाद विरोधी ट्राटस्कीवादी धारा, कामेनेभ, बुखारिनपन्थी तथा अराजक तत्त्वले पनि अप्ठ्यारो पारिरहेको अवस्था थियो ।

जुन जुन मोर्चामा गम्भीर समस्या देखा पर्दथ्यो, पार्टीले त्यो ठाउँमा स्टालिनलाई पठाउने गर्दथ्यो । स्टालिनले आफ्नो मोर्चालाई सही ढङ्गबाट नेतृत्व प्रदान गरेर त्यहाँ देखा परेका समस्या समाधान गरेर नै छोड्नुहुन्थ्यो । रुसमा समाजवादी क्रान्ति सफल भए पनि क्रान्तिका उपलब्धि उल्ट्याउन विभिन्न शक्तिकेन्द्रले षड्यन्त्र गरिरहेका थिए । त्यसमध्ये युक्रेनमा सोभियत सरकार विरोधी समानान्तर प्रतिक्रियावादी सरकारको निर्माण गरिएका थिए, जसलाई रादा सरकार भनिन्छ । त्यहाँ भएको रादा सरकारलाई अपदस्त गरेर सोभियत पक्षधर सरकार गठनको जिम्मा स्टालिनले कुशलतापूर्वक पूरा गर्नुभएको थियो । ठिक त्यसै प्रकारले बेलारुसमा पनि प्रतिक्रान्तिकारी तत्त्वलाई पराजित गरेर सोभियतअनुकूलको सरकार गठन तथा त्यहाँका जातीय समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

त्यसैगरी, अक्टोबर क्रान्तिपश्चात् देखिएको अन्नको अभावको परिस्थितिलाई समाधान गर्न पनि स्टालिनले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । बोल्सेभिकले राज्यसत्ता आफ्नो हातमा लिएका बेला त्यहाँको तत्कालीन राजधानीमा जम्मा दुई दिन पुग्ने मात्र खाद्यान्न थियो । गृहयुद्धको दौरान सैन्य सङ्गठनको निर्माणको जिम्मा र रुसमा भएको सैन्यबलको आधारमा साम्राज्यवादीसँग मुकाबिला गरेर मुलुकको राष्ट्रियता तथा समाजवादको रक्षाको अभिभारा पनि स्टालिनले कुशलतापूर्वक पूरा गरेका थिए ।

उहाँका यिनै गुणका कारण पार्टीमा लोकप्रिय हुनुहुन्थ्यो । लेनिनका वास्तविक सहयोगी हुनुहुन्थ्यो । लेनिनको नेतृत्वमा भएका सबै सङ्घर्षमा स्टालिनले दरो सहयोगीको भूमिका खेल्नुभयो, जसको परिणाम ३ अप्रैल १९२२ मा भएको केन्द्रीय समितिको विस्तारित बैठकबाट लेनिनको प्रस्तावमा स्टालिन सोभियत सङ्घकोे कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित हुनुभयो ।

लेनिनको मृत्युपश्चात् रुसको समाजवादको रक्षा तथा त्यसलाई अगाडि बढाउने दायित्व स्टालिनको काँधमा आयो । स्टालिनले रुसको समाजवादको रक्षाका लागि अनवरत सङ्घर्ष गर्नुपर्‍यो । विश्व इतिहासमा पहिलोपटक रुसमा समाजवादको स्थापना भएको थियो । समाजवादी व्यवस्थाभित्र वर्गको अस्तित्व र उनीहरूबिच चल्ने अन्तरविरोध र त्यो अन्तरविरोध समाधानका लागि अपनाइनुपर्ने बाटोको बारेमा कम जानकारी थियो । जानकारी तथा अनुभवको अभावमा पनि समाजवादको रक्षाका लागि स्टालिनले देखाएको दृढता प्रशंसनीय छ ।

स्टालिनले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई आधिकारिक एवम् साङ्गोपाङ्गो रूपमा विकास गर्नुभयो । पुँजीवादको असमान विकास तथा एउटा देशमा समाजवादको विजयको सम्भावनाको लेनिनवादी सिद्धान्तलाई स्टालिनले रचनात्मक रूपमा विकास गर्नुभयो । स्टालिनको जीवन सम्पूर्ण रूपले सङ्घर्षमा बितेको भए पनि समाजवादलाई अगाडि बढाउन माक्र्सवादका तीन सङ्घटक अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादको क्षेत्रमा उहाँले गुणात्मक योगदानसमेत गर्नुभयो । लेनिनवादको व्याख्या तथा कार्यान्वयनको श्रेय क. स्टालिनलाई जान्छ ।

सन् १९२० देखि १९२४ को अवधिमा लेनिनका प्रमुख सिद्धान्त रणनीति र कार्यनीतिको विषयलाई लिएर विभिन्न छलफलले लेनिनवादका शिक्षालाई व्यवस्थित तथा शृङ्खलाबद्ध बनाउन आधारभूमि तयार पार्ने काम गरेको थियो । आज लेनिनवादको जुन रूप हाम्रो अगाडि आएको छ, त्यसको मुख्य व्याख्यामा स्टालिनको योगदान रहेको छ । सन् १९२४ मा लेनिनको मृत्युपश्चात मात्र “लेनिनवाद” शब्दावलीको प्रयोग भएको पाइन्छ । सन् १९३४ मा स्टालिनले “लेनिनवादका आधार” र “लेनिनवादका समस्या” नामक दुईओटा पुस्तक लेख्नुभएको थियो, जसले लेनिनवादको बारेमा सुसङ्गत रूपले व्याख्या गरेको छ । स्टालिनको नेतृत्वमा तयार पारिएको सोभियत सङ्घको कम्युनिस्ट पार्टी बोल्सेभिकको इतिहाससमेत एउटा महान् सैद्धान्तिक कृतिका साथै अन्तर्राष्ट्रिय महत्त्वको माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक रचना हो । स्टालिनका सम्पूर्ण रचनाले माक्र्सवाद–लेनिनवादको ज्ञानमा थप वृद्धि गर्ने काम गरेको छ । सोभियत समाजवादी अनुभवमाथि आधारित भएर क. स्टालिनले लेख्नुभएको “सोभियत सङ्घमा समाजवादको आर्थिक समस्या” नाम कृति पनि ऐतिहासिक महत्त्वको रचना हो । त्यसैगरी, माक्र्सवाद र जातीय सवाल पनि स्टालिनको एउटा महत्त्वपूर्ण माक्र्सवादी रचना हो ।

एकातिर, समाजवादको रक्षा, अर्कोतर्फ जर्मनले सोभियत सङ्घमाथि गरेको आक्रमणलाई विफल पार्ने काममा स्टालिनले कुशलतापूर्वक नेतृत्व गर्नुभयो । उहाँको कार्यको मूल्याङ्कन गर्दै सोभियत सङ्घको कम्युनिस्ट पार्टीले लेनिनको मृत्युपश्चात् जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा भनेको छ : “क. लेनिनसँग मिलेर क. स्टालिनले कम्युनिस्टको शक्तिशाली पार्टीनिर्माण गर्नुभयो । त्यसलाई हुर्काएर बढाएर स्पात बनाउनुभयो । लेनिनको सँगसँगै स्टालिनले अक्टोबरको महान् समाजवादी क्रान्तिलाई पे्ररण दिनुभयो । त्यसको नेतृत्व गर्नुभयो । दुनियाँमा सबभन्दा पहिला समाजवादी राज्यको स्थापना गर्नुभयो । क. स्टालिनले दोस्रो विश्वयुद्धमा फासिवादका विरुद्ध विजय प्राप्त गर्नका लागि हाम्रो देशको नेतृत्व गर्नुभयो, जसले सम्पूर्ण अन्तर्राष्ट्रिय स्थितिमा आमूल परिवर्तन ल्याइदियो ।”

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्र स्टालिनमाथि ट्राटस्कीवादी तथा ख्रुस्चेभ दुईओटैको कोणबाट बेग्लाबेग्लै ढङ्गबाट प्रहार हुँदै आएको छ । सच्चा कम्युनिस्टले ट्राटस्कीवादी तथा ख्रुस्चेभी संशोधनवादी धाराबाट स्टालिनमाथि हुने आक्रमण र विरोधको सामना गर्दै आएका छन् । त्यस दौरान क. माओले सामान्य रूपले स्टालिनको विषयमा व्यक्त विचारलाई पनि हतियार बनाएर स्टालिनमाथि हमला गर्ने कार्य भइरहेको छ तर स्टालिनको मृत्युपश्चात् क. माओले स्टालिनप्रति उच्च श्रद्धा व्यक्त गर्दै जारी गरेको लामो श्रद्धाञ्जली वक्तव्यले माओको आड लिएर स्टालिनमाथि साँध्ने आक्रमणलाई भण्डाफोर गरिदिएको छ ।

सन् १९५६ मा माओले आफ्नो एउटा रचनामा “स्टालिनमा अधिभूतवादको पर्याप्त अंश थियो” भनेर आलोचना गरेको पाइन्छ यद्यपि यो विषयमा माओले थप व्याख्या वा प्रकाश पार्ने काम गरेको पाइँदैन । निश्चित रूपले स्टालिनले लेनिन वा माओ जस्तै माक्र्सवादी दर्शनको क्षेत्रलाई थप विकसित तुल्याउन वा त्यसमा गुणात्मक योगदान दिन भूमिका खेलेको पाइँदैन तर कुनै कम्युनिस्ट नेताले माक्र्सवादी दर्शनमा बढी ध्यान दिन नसकेका कारण ऊ माक्र्सवादी वा द्वन्द्ववादी होइन वा उसमा अधिभूतवाद थियो भनेर भन्न मिल्दैन ।

ट्राटस्कीवादीले सुरुदेखि नै लेनिनमाथि र पछि स्टालिनमाथि आक्रमण गर्दै आएका थिए । रुसमा संशोधनवादको विजय र सोभियत सङ्घको विघटनपश्चात् स्टालिनमाथिको आक्रमण तीव्र पारेका थिए ।

ट्राटस्कीवादीले मुख्यतया निम्न प्रश्नमा स्टालिनमाथि आक्रमण गर्दै आएका थिए :

१. एउटा देशमा समाजवादको विकास ।

२. फासिवाद विरोधी संयुक्त मोर्चाको प्रश्न ।

३. सन् १९३६ मा स्पेनमा भएको गृहयुद्धमा स्टालिनले सहयोग नगरेकोबारे ।

४. सन् १९४१ मा सोभियत सङ्घले चलाएको युद्धबारे ।

५. दोस्रो विश्वयुद्धको चरित्रको प्रश्न ।

६. कमिन्र्टन विघटनको प्रश्न ।

७. सर्वहारा अन्तर्राष्ट्रवाद र देशभक्तिको प्रश्न ।

ट्राटस्कीले उपर्युक्त विषयमा लिएका गलत धारणा अमेरिकाको आर.सी.पी. (क्रान्तिकारी कम्युनिस्ट पार्टी) ले पनि नक्कल गर्न पुगेको थियो । अमेरिकाको आर.सी.पी. ले स्टालिनको बारेमा अपनाएको ट्राटस्कीवादी सोचाइलाई सन् १९८४ मा गठन भएको रिमको घोषणापत्रमा पनि छिराउन सफल भएको थियो । रिमले पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी (अमेरिका) को प्रभावमा परेर स्टालिन सम्बन्धमा ट्राटस्कीविादी नीतिलाई अङ्गीकार गर्न पुगेको थियो । रिमले दोस्रो विश्वयुद्धको अवधिमा स्टालिन र कोमिन्टर्नको नीतिलाई पूर्णत: गलत बताउने, क. स्टालिनलाई सर्वहारा वर्गका नेताको पङ्क्तिबाट हटाउन वैचारिक आधार तयार पार्ने काममा लागेको थियो यद्यपि स्टालिनमाथि ट्राटस्कीवादी दृष्टिकोणको आधारमा गरिने आक्रमणका विरुद्ध नेकपा (मसाल) ले सुरुदेखि नै आर.सी.पी. अमेरिका तथा रिमसँग कडा सङ्घर्ष गर्दै आएको छ ।

उपर्युक्त सातओटा विषयमा स्टालिनले लिएको अडान ठोस परिस्थितिको ठोस विश्लेषणमाथि आधारित थिए ।

ट्राटस्कीवादी विश्वमा क्रान्ति गर्ने स्थिति नहुँदासम्म कुनै मुलुकमा मात्र क्रान्ति गर्न नहुने तर्क गर्दै रुसमा लेनिन र स्टालिनको नेतृत्वमा भएको समाजवादी क्रान्तिको विरोध गरेका थिए । रुसमा समाजवादी क्रान्ति भए पनि समाजवादलाई साम्यवादमा पुर्‍याउनुहुन्न भन्ने मान्यतामा आधारित भएर स्टालिनको विरोध गर्दथे । त्यस्तै, स्टालिनको नेतृत्वमा निर्माण गरिएको फासिवाद विरोधी मोर्चाको पनि ट्राटस्कीवादीले विरोध गर्नुका साथै स्टालिनले सोभियत सङ्घको रक्षामा जोड दिनुलाई सर्वहारा अन्तर्राष्ट्रवादका विरुद्ध हो भन्ने गलत धारणा अगाडि सारेका थिए । स्टालिनको ट्राटस्कीले गरेको विरोध र आलोचनाको सिधै अर्थ हुन्थ्यो : रुसमा समाजवादी क्रान्ति नगर्ने, फासिवादबाट रुसको राष्ट्रियता र समाजवादको रक्षा नगर्ने नै निष्कर्ष निक्लिन्थ्यो । अमेरिकाको आर.सी.पी. ले पनि ट्राटस्कीकै बाटो अनुशरण गरेका थिए । स्टालिनको विरोध गर्ने सवालमा रिमभित्र पनि ट्राटस्कीवादी सोचाइले काम गरेको थियो । रिमले सुरुदेखि नै स्टालिनको विरोध गर्ने नीति अपनाएको थियो ।

स्टालिनको मृत्युपछि सत्ता आएका ख्रुस्चेभले सन् १९५६ मा भएको बिसौँ पार्टी महाधिवेशनपश्चात् सुरु गरेको आधुनिक संशोधनवादले स्टालिनप्रति रुसी जनतामा भएको अपार स्नेह र श्रद्धालाई खतम गर्न स्टालिनमाथि हत्यारा, अपराधी, जुवारी, इवान द टेरिबल जस्तो निरङ्कुश शासक, रुसी इतिहासकै सबैभन्दा ठुलो तानाशाह, मूर्ख, जडबुद्धिलगाएतका विभिन्न सयकडौँ आरोप लगाउने काम गरेका थिए ।

पहिलोपटक विश्वमा रुसको भूमिमा अस्तित्वमा आएको समाजवादको रक्षा तथा विकास गर्ने क्रममा स्टालिनबाट भएका कमिकमजोरीलाई पहाड बनाई त्यसको आड लिएर स्टालिनमाथि आक्रमण तीव्र पारेका थिए । त्यसका पछाडि ख्रुस्चेभ समाजवादको धारलाई बदलेर विश्व पुँजीवादको सेवा गर्ने षड्यन्त्रमा लागेका थिए । १९५६ को फेब्रुअरी २४–२५ मा भएको अखिल सङ्घीय कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनमा क. स्टालिनमाथि विभिन्न आरोप लगाउँदै ख्रुस्चेभले गोप्य रिपोर्ट प्रस्तुत गरेका थिए । उक्त गोप्य रिपोर्टमा क. स्टालिनमाथि लगाएका कतिपय आरोपलाई आधार बनाएर क. माओले पनि स्टालिनको आलोचना गरेको पाइन्छ यद्यापि पछि खु्रस्चेभले स्टालिनको विरोध गर्नुका पछाडिको गलत उद्देश्य बुझेपछि माओले स्टालिनलाई गरेको आलोचनामा सुधार पनि गरेका छन् । त्यसबारे हामीले यो लेखमा बेग्लै चर्चा गर्ने छौँ ।

बिसौँ महाधिवेशनमा प्रस्तुत गोप्य प्रतिवेदनमा खु्रस्चेभले स्टालिनमाथि कैयौँ आरोप लगाएका छन् यद्यपि सुरुमा ख्रुस्चेभले जनवादी केन्द्रीयता, सामूहिक नेतृत्व निर्माण, जनताको भूमिका, सामूहिक निर्णय पद्धति, मित्रतापूर्ण तथा दुस्मनिपूर्ण अन्तरविरोधको हल जस्ता विषयमा स्टालिनको कमजोरी रहेको र त्यसबारे लेनिनको दृष्टिकोण ठिक थियो भन्ने आडमा उहाँमाथि आक्रमण सुरु गरेका थिए । त्यति मात्र नभएर स्टालिनको नाममा राखिएका पूर्वीयुरोपका दर्जनौँ सहरको नाम खु्रस्चेभले परिवर्तन गरेका थिए । लेनिनको साथमै राखिएको स्टालिनको शवलाई सन् १९६१ मा त्यहाँबाट हटाउने काम भएको थियो ।

ख्र्रुस्चेभले बिसौँ पार्टी महाधिवेशनमा प्रस्तुत गरेको गोप्य प्रतिवेदनमा पार्टीभित्र स्टालिनको व्यक्तिपूजाको क्रमिक विकास भएको, त्यसले भरपाइ गर्न नसकिने गम्भीर नकारात्मक परिणाम पैदा गरेको, स्टालिनको हातमा असीमित अधिकार भएको, स्टालिन अरूले आपूmलाई गरेको विरोध सहनै नसक्ने तहमा पुगेको, जनता, पार्टी तथा केन्द्रीय समितिको भूमिकालाई गौण गर्न खोजेको जस्ता आरोप लगाएका थिए । स्टालिनमा स्वप्रशंसा गर्ने, आफूलाई महान् देखाउने, असीमित अधिकारको प्रयोग गर्न खोज्ने प्रवृत्ति बढेको भनेर ख्रुस्चेभले लगाएको आरोपबारे पनि हामीले एकपटक तथ्यमा गएर सत्य खोज्ने प्रयत्न गर्नुपर्दछ ।

के वास्तवमा नै स्टालिनमा व्यक्तिपूजाको भावनाले घर गरेकै थियो त ? त्यसबारे थाहा पाउन स्वयम् स्टालिनसँग २५ वर्ष सँगै उहाँको सुरक्षामा खटिएका सेवानिवृत्त मेजर ए.टी. रेबिनले लेखेको पुस्तक (स्टालिनसँग) स्टालिनको अङ्गरक्षकको संस्मरणमा उल्लेखित कतिपय अनुभवलाई यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुने छ ।

स्टालिनका अङ्गरक्षक ए.टी. रेबिनले स्टालिनसम्बन्धी संस्मरणमा लेखेका छन्– पार्टीको पोलिटब्युरोले स्टालिनलाई सोभियत सङ्घ पदक दिने प्रस्ताव गरेको थियो । यो कुरा स्टालिनले तुकोभबाट सुन्नुभएको थियो । त्यो कुरा सुनेर स्टालिनले भन्नुभयो– यो त चाटुकारिता भयो । उहाँले सो पदक दिने प्रस्तावको विरोध गर्नुका साथै अस्वीकार गर्नुभयो । त्यसैगरी सन् १९४५ मा स्टालिनलाई खुसी बनाउन प्रधानसेनापतिको रूपमा नयाँ पोसाकको डिजाइन गर्ने निर्णय भयो । ती डिजाइन गरिएका पोसाक आभुषण, पदक, सुनका शृङ्गार र सुनका टाँकले झकिझकाउ थिए तर स्टालिनले डिजाइन गरिएका ती पोसाकलाई अस्वीकार गर्नुभयो र सामान्य लुगामा नै उहाँ पङ्क्तिमा सहभागी हुनुभयो ।

१९४६ को जुलाई १६ मा पोस्टडाममा भाग लिन स्टालिन बर्लिन गएका थिए । उहाँलाई सुविधासम्पन्न होटलमा बस्ने व्यवस्था गरिएको थियो । होटलका फर्निचर सुनका पाताले मोडिएका थिए । जब स्टालिनले यो सबै देखे, तुरुन्तै सुनका पाताले मोडिएका फर्निचर बाहिर लैजान भन्नुभयो । यस्तो व्यवस्थापनन गर्नुलाई चाटुकार भन्दै स्टालिनले झपार्नुभयो ।

यी केही प्रतिनिधिमूलक घटनाले पनि स्टालिनले व्यक्तिपूजालाई बढावा दिएको भनेर खु्रस्चेभले लगाउने गरेको आरोपको खण्डन गर्दछ ।

सन् १९३८ मा कैयौँ मानिसले स्टालिनको बाल्यकालका कथाको प्रकाशनमा जोड दिएका थिए तर स्टालिनले त्यो पुस्तकको विरोध गर्दै लेखेका थिए । यो किताब अयथार्थ तत्त्व, हेरफेर, बढाइचढाइ र फाइदा नगर्ने प्रशंसाले भरिपूर्ण भएको भनेर आलोचना गर्नुभएको थियो ।

अजय शर्माद्वारा लिखित “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एकता र विवादको प्रश्न” मा लेखिएको छ– सन् १९३१ मा स्टालिनले एउटा विदेशी लेखकसँग इतिहासका महान् व्यक्तिको भूमिका सम्बन्धमा भनेका थिए– जहाँसम्म मेरो कुरा छ, म खालि लेनिनको एउटा चेला मात्र हुँ । मेरो जीवनको उद्देश्य उनको एउटा असल चेला रहनु नै हुने छ । माक्र्सवादले महान् व्यक्तिबाट खेलिएका भूमिका वा जनताबाट इतिहास निर्माण भएको कुरालाई पूर्ण रूपमा अस्वीकार गर्दैन तर महान् नेताको महत्त्व उनीहरूका यी अवस्थालाई सही रूपबाट बुझ्न सक्ने सीमासम्म, तिनीहरूलाई परिवर्तन गर्ने कुरा बुझ्नसम्म नै छ । यदि तिनीहरू ती अवस्थालाई बुझ्न असफल हुन्छन् र तिनलाई उनीहरू आफ्नो कल्पनाअनुसार बदल्न चाहान्छन् भने कुनै पनि अवस्थामा हाम्रा कामदार अहिले एउटा मानिसको हातमा शक्ति दिने कुरा मान्दैनन् ।”

स्टालिनको यो भनाइ पूर्णत: माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि आधारित छ ।

स्टालिनको जीवनको अन्तिमतिर समाजवादी राजनीतिक अर्थशास्त्रसम्बन्धी पुस्तकमा ‘समाजवादको राजनीतिक अर्थशास्त्रका प्रतिपादकहरू लेनिन र स्टालिन’ नामक अध्याय राख्नुपर्ने कुरा चलेको थियो । स्टालिनले त्यो प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई पूर्ण रूपमा अनावश्यक बताएका थिए ।

उपर्युक्त तथ्यबाट प्रष्ट हुन्छ : व्यक्तिपूजाको सम्बन्धमा स्टालिनको दृष्टिकोण माक्र्सवादी–लेनिनवादी थियो । त्यसैले स्टालिनले व्यक्तिपूजालाई दिएको आरोपमा कुनै सत्यता देखिँदैन । सायद तत्कालीन अवस्थामा ख्रुस्चेभले स्टालिनका विरुद्ध चलाएको अभियानको असरको परिणाम होला, माओले पनि स्टालिनमा व्यक्तिपूजालाई बढावा दिने प्रवृत्ति देखिएको भनेर विरोध गरे पनि पछि त्यसबारे स्पष्ट हुनुभयो ।

माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले १४ जुन १९६३ मा सोभियत सङ्घको कम्युनिस्ट पार्टीलाई पठाएको पत्र, जुन पछि ‘महाविवाद’ नामक दस्तावेजको रूपमा चीनले प्रकाशन गरेको थियो, त्यस पत्रमा चिनियाँ कम्युनिस्ट पार्टीले स्टालिनको पक्ष लिँदै ख्रुस्चेभले लगाएका सम्पूर्ण आरोपको प्रतिवाद गरेको छ । माओले महाविवादमा नामक विश्व प्रसिद्ध दस्तावेजमा “व्यक्तिपूजाका विरुद्ध सङ्घर्ष” को वकालत गर्नुका पछाडि सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूको गन्तव्य जनवादलाई बढावा दिनु, सामूहिक नेतृत्वको व्यवहारमा लागु गर्न व्यक्तिको भूमिकाको अतिरञ्जनाको विरोध गर्नु नभएर त्यसका पछाडि अरू नै प्रयोजन छ ।

व्यक्तिपूजाको विरुद्ध सङ्घर्षको बहानामा उनीहरू स्टालिनलाई पार्टी, सङ्गठन र सर्वहारा जनताका विरुद्ध खडा गर्दै छन् । सर्वहाराको पार्टी, सर्वहाराको अधिनायकत्व र समाजवादी व्यवस्थालाई कलङ्कित गरिरहेका छन्” भनेर लेखिएको छ ।

ख्रुस्चेभले स्टालिनलाई पूर्णतया अस्वीकार गर्नुका विश्व कम्युनिस्ट आन्दोलनमा अत्यन्तै गम्भीर परिणाम पैदा भए । ख्रुस्चेभले प्रस्तुत गरेको स्टालिन विरुद्ध गोप्य प्रतिवेदन विश्वभरिका साम्राज्यवादीका लागि सोभियत सत्ता र विश्व समाजवादी धारालाई कमजोर पार्ने हतियार बन्यो ।

निश्चित रूपले स्टालिनका गुण तथा योगदानको तुलनामा त्यतिखेरको परिस्थितिका कारण हुन गएका गल्ती नगण्य प्रकारका थिए । स्टालिन आधारभूत रूपमा सही थिए । उनका कतिपय दोष गौण थिए ।

रुसमा भएको अक्टोबर क्रान्तिपश्चात् क्रान्तिलाई दबाउन १४ ओटा साम्राज्यवादी मुलुकले एकै चोटी रुसमाथि आक्रमण गरे । युक्रेन र हङ्गेरीमा सोभियत विरोधी समानान्तर सरकार बनाइएको थियो । बेलारुसमा जातीय तनावको परिस्थिति निर्माण गरिएको थियो ।

रुसका कैयौँ तत्त्वलाई साम्राज्यवादीले समाजवादका विरुद्ध प्रयोग गरिरहेका थिए । पार्टीभित्र पनि साम्राज्यवादी घुसपैठ थियो । जर्मनीसँगको लडाइँको युद्ध परिस्थिति झन् गम्भीर प्रकारको थियो । देशभित्र प्रतिक्रान्तिकारीको षड्यन्त्रलाई साम्राज्यवादी शक्तिले सहयोग गरिरहेको अवस्था थियो । यहाँसम्म कि स्टालिनको पारिवारिक अन्तरविरोधलाई समेत साम्राज्यवादीले उपयोग गर्ने प्रयत्न गरिरहेका थिए । स्टालिनको आलोचना गर्दै अमेरिका र भारतले उहाँकी छोरी स्वेतलानालाई समेत प्रयोग गरेको स्थिति थियो । यस्तो सङ्कटपूर्ण घडीमा रुसमा समाजवादको रक्षा, निर्माण र विकास, जर्मनी फासिवादबाट रुसको रक्षा गर्नु जस्तो चुनौतीपूर्ण कार्यसम्पादन गर्ने दौरान भएका सामान्य गल्तीलाई पहाड बनाएर स्टालिनको विरोध गर्नुको पछाडि विश्व साम्राज्यवादको सेवा गर्नु थियो । त्यसमा ख्रुस्चेभ र उनको गुट सफल भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार