अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क. माओका योगदान

“सन्दर्भ एक सय एकतिसौँ जन्मजयन्ती “

मनोज भट्ट ##

१. माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा २६ डिसेम्बर १८९३ मा भएको थियो । उहाँको मृत्यु ९ सेप्टेम्बर १९७६ मा भएको थियो । माओ कुनै नाम नभएर पारिवारिक थर हो । चीनमा नामभन्दा अगाडि थर लेख्ने परम्परा भएको हुनाले त्सेतुङ भन्ने बालकको नामअगाडि माओ थर राखेर माओत्सेतुङ भन्न थालियो । तिनै बालक विश्वभरि माओको रूपमा स्थापित छन् । माओ मध्यमवर्गीय परिवारमा जन्मिनुभएको थियो यद्यपि पछि त्यो परिवार धनी किसानमा रूपान्तरण भयो । उहाँको सानैदेखि विद्रोही स्वभाव थियो ।

उहाँले औपचारिक शिक्षा प्राप्त गर्न स्कुलकलेजमा भर्ना भए पनि मुख्यतया स्वअध्ययनमा नै जोड दिनुभयो । उहाँ माक्र्सवादतर्फ आकर्षित हुनुभयो । उहाँलाई माक्र्सवादी बन्न कम्युनिस्ट घोषणापत्रलगायतका माक्र्सवादी साहित्यले प्रेरित गर्‍यो । त्यही प्रेरणाको परिणाम नै सन् १९१८ मा गठित माकर््सवादी अध्ययन समूहको औपाचारिक सदस्य बनेर कम्युनिस्ट आन्दोलनमा होमिनुभयो ।

२. माओको पारिवारिक जीवन पनि निकै उथलपुथलपूर्ण रहेको छ । उहाँको चारओटा विवाह भएको देखिन्छ । पहिलो विवाह उहाँको लुओ यिक्सिनोसँग भयो । यो विवाह माओको पिताले गराइदिएका थिए यद्यपि माओले कहिल्यै पनि लुओलाई पत्नीको रूपमा स्वीकार गर्नुभएन । उहाँको दोस्रो विवाह तत्कालीन विद्यार्थी नेतृ याङकाइ हुईसित भयो । सन् १९३० मा कोमिङताङले उनलाई फाँसी दिएर हत्या गर्‍यो । उहाँको तेस्रो विवाह ही जिजहेङसँग भयो । ही जिजहेङसँग सम्बन्धविच्छेद भएपछि चौथो विवाह सन् १९३९ मा च्याङ चिङसँग भयो । उहाँका दसओटा छोराछोरी थिए । माओको मृत्युपश्चात् चीनमा प्रतिक्रान्ति भयो । चीनमा प्रतिक्रान्ति भएपछि च्याङ चिङलाई जेलमा हालियो । संशोधनवादी डफ्फाले जेलमा षड्यन्त्रमूलक ढङ्गबाट च्याङ चिङको हत्या गरे । च्याङ चिङ माओको सच्चा अनुयायी, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पक्षधर एक जना नेतृ तथा महान् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो ।

३. आज विश्वका विभिन्न मुलुकका माक्र्सवादी–लेनिनवादीले माओको एक सय एकतिसौँ माओजयन्ती मनाइरहेका छन् । रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई माथि उठाउनका लागि माओका विचारको महत्त्व झन् बढेर गएको छ । सन् १९२१ मा चीनमा स्थापना भएको कम्युनिस्ट पार्टीको माओ संस्थापकमध्येका एक हुनुहुन्थ्यो । लगातारको अन्तरपार्टी सङ्घर्षबाट माओ पार्टीभित्र छनतुस्यूको दक्षिणपन्थी आत्मसमर्पणवादी र ली लिसान तथा वाङमिङको उग्रवामपन्थी कार्यदिशामाथि विजय प्राप्त गर्न सफल हुनुभयो । तत्पश्चात् सन् १९३५ मा गएर चिनियाँ कम्युनिस्ट पार्टीमा माओको नेतृत्व क्रमश: स्थापित भयो र त्यो नेतृत्व १९७६ सम्म कायम रहयो । उहाँको नेतृत्वमा १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।

४. माओले चीनमा स्थापना भएको जनवादी व्यवस्थालाई समाजवादमा रूपान्तरण गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनादेखि नयाँ जनवादी क्रान्तिसम्म र नयाँ जनवादअन्तर्गत राष्ट्रिय पुँजी विकास गर्दै समाजवादको स्थापना गर्ने दौरानमा माओले राजनीतिक, सैद्धान्तिक तथा सङ्गठनात्मक क्षेत्रमा आर्जन र विकास गरेको ज्ञान र अनुभवले चिनियाँ क्रान्तिलाई मात्र नभएर विश्वमा चल्ने सामन्तवाद तथा साम्राज्यवाद विरोधी क्रान्तिलाई पथप्रदर्शन गर्ने तहसम्म विकास गरेको छ । माओका सिद्धान्तको आलोकमा मात्र हाम्रो जस्तो पिछडिएका मुलुकमा क्रान्ति सम्भव छ यद्यपि माओले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदान वा विकास गरेको विचारले लेनिनको युगभन्दा बाहिर वा बेग्लै युगको प्रतिनिधित्व गर्दैन । माओले विकास गरेका विचार वा सिद्धान्त लेनिनको युगभित्रको विषय भए पनि विश्व कम्युनिस्ट आन्दोलनका लागि धेरै नै महत्त्वपूर्ण रहेका छन् । माओको माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओका योगदानलाई निम्नलिखित रूपमा प्रस्तुत गर्न सकिन्छ :

क. माक्र्सवाद–लेनिनवादको व्यावहारिक प्रयोग र सिर्जनात्मक विकास

ख. आधुनिक संशोधनवादका विरुद्धको सङ्घर्ष

ग. सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर वर्गसङ्घर्ष सञ्चालनको प्रश्न

घ. रणनीति र कार्यनीतिको विकास

ङ. सैन्य रणनीतिको विकास

च. पार्टीनिर्माणको प्रश्न

३. माक्र्सवादका तीनओटा सङ्घटक अङ्गहरू वैज्ञानिक समाजवाद, दर्शनशास्त्र र राजनीतिक अर्थशास्त्रमा माओले विकास गर्नुभयो । लेनिनवाद साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । लेनिन र स्टालिनले अगाडि बढाएको साम्राज्यवाद विरोधी सङ्घर्षलाई माओले अगाडि बढाउनुका साथै साम्राज्यवादी युगमा देखा परेका कैयौँ नयाँ विशिष्टताको आधारमा त्यसको सैद्धान्तिक, राजनीतिक तथा सङ्गठनात्मक व्याख्यासमेत गर्नुभयो । माओले औपनिवेशिक तथा अर्ध (नव) औपनिवेशिक व्यवस्था भएका मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्व नयाँ जनवादी क्रान्ति र त्यो क्रान्ति विश्व समाजवादी क्रान्तिको अभिन्न अङ्ग हुने माक्र्सवादी प्रस्थापना विकास गर्नुका साथै त्यसलाई चीनको सन्दर्भमा लागुसमेत गर्नुभयो । नयाँ जनवादी क्रान्ति विश्व सर्वहारा समाजवादी क्रान्तिको अङ्ग हुन्छ । यसले साम्राज्यवाद अर्थात् अन्तर्राष्ट्रिय पुँजीवादको दृढतासाथ विरोध गर्दछ ।

५. माओको नयाँ जनवादी क्रान्ति र त्यो क्रान्ति विश्व सर्वहारा समाजवादी क्रान्तिको अभिन्न अङ्ग हुने प्रस्थापनाले विश्वका औपनिवेशिक तथा अर्ध (नव) औपनिवेशिक मुलुकमा चल्ने साम्राज्यवाद र देशीय सामन्तवाद विरोधी सङ्घर्षलाई पथप्रदर्शकको काम गरिरहेको छ । जुन मुलुकमा पुँजीवादको विकास भएको छ, त्यस्ता मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा अर्थात् सर्वहारा वर्गको नेतृत्वमा समाजवादी क्रान्ति हुन्छ तर जुन मुलुक पिछडिएका छन्; उद्योगधन्धाको विकास भएको छैन; आधुनिक सर्वहारा वर्गको सङ्ख्या कम छ वा किसानको बाहुल्यता छ† त्यस प्रकारको देशमा कम्युनिस्ट पार्टीको भूमिका के हुन्छ ? कम्युनिस्ट पार्टी पुँजी र सर्वहाराको विकास नहुँदासम्म प्रतिक्षा गरेर बस्छ वा कम्युनिस्ट पार्टीको नेतृत्वमा किसानलाई आधारभूत वर्गको रूपमा अगाडि बढाएर क्रान्तिको अभिभारा पूरा गर्छ ? जस्ता आधारभूत र नितान्त नयाँ समस्याको समाधान माओले अगाडि सार्नुभयो ।

६. लेनिनवादको आधारभूत समस्या, प्रस्थानविन्दु किसान समस्या नभएर मजदुर समस्या हो । किसान वर्ग सहयोगी समस्या हो तर माओले चीनको ठोस परिस्थितिमा किसान जस्तो पिछडिएको वर्गलाई क्रान्तिको आधारभुत शक्ति बनाउनुभयो । माक्र्सवादी–लेनिनवादी सिद्धान्तद्वारा प्रशिक्षित गरेर किसान जस्तो पिछडिएको वर्गलाई क्रान्तिकारी वर्गको रूपमा अगाडि सारेर किसान वर्गलाई क्रान्तिको आधारभूत शक्ति बनाउन सकिने प्रस्थापना अगाडि सार्नुभयो । त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउनुभयो । चीन जस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा किसान वर्गलाई क्रान्तिको आधारभूत शक्ति बनाएर नयाँ जनवादी क्रान्तिको अर्थात् कम्युनिस्टको नेतृत्वमा गरिने पुँजीवादी क्रान्तिको अवधारणा अगाडि सार्नुभयो । किसान पिछडिएको वर्ग मानिन्छ । सोभियत समाजवादी क्रान्तिमा किसानलाई कुनै क्रान्तिकारी वर्गको रूपमा अगाडि सारिएको थिएन तर माओले चीनको विशिष्टतामा किसानलाई क्रान्तिको आभारभूत वर्गको रूपमा अगाडि सार्नुभयो । कम्युनिस्ट पार्टीले किसानका माझ अथक परिश्रम गरेर उनीहरूलाई सर्वहाराकरण गरेर क्रान्तिमा गोलबन्द गर्न सकिने मात्र होइन कि त्यो वर्ग क्रान्तिको आधारभूत वर्ग हुने मान्यता अगाडि सार्नुभयो । त्यो सिद्धान्तको विकास गरेर नयाँ जनवादी क्रान्तिको सिद्धान्त र कार्यक्रम प्रस्तुत गर्नुका साथै त्यसको कार्यान्वयनसमेत गरेर देखाउनुभयो ।

७. नयाँ जनवादी क्रान्तिले दुईओटा आभिभारा पूरा गर्दछ । साम्राज्यवादी उत्पीडनको तख्ता पल्टाउनु, राष्ट्रिय क्रान्ति गर्नु तथा सामन्ती तथा जमिन्दार वर्गको उत्पीडनको तख्ता पल्टाउन जनवादी क्रान्ति गर्नु क्रान्तिका मुख्य अभिभारा हुन् । माओले यसलाई नयाँ जनवादी क्रान्तिको नाम दिए । नयाँ जनवादी क्रान्तिकोे व्याख्या गर्दै माओले भनेका छन्– “यो नौलो जनवादी गणतन्त्र एकातिर, पुरानो जनवादी स्वरूपको र पहिले नै थोत्रिइसकेको पुँजीपति वर्गको अधिनायकतन्त्रअन्तर्गत रहने युरोपेली–अमेरिकाली स्वरूपको पुँजीवादी गणतन्त्रभन्दा बेग्लै खालको हुने छ भने अर्कोतिर, सोभियत सङ्घमा फक्रिइसकेको र निसन्देह सबै पुँजीवादी देशमा स्थापना गरिने तथा सबै औद्योगिक दृष्टिले विकसित देशमा राज्यसत्ता र सरकारी ढाँचाको प्रधान स्वरूप बन्ने सोभियत सङ्घ जस्ता समाजवादी गणतन्त्रभन्दा पनि यो बेग्लै खालको हुने छ । सोभियत खालको सरकारको ढाँचा औपनिवेशिक तथा अर्धऔपनिवेशिक देशमा क्रान्तिको निम्ति भने खास ऐतिहासिक कालमा सबै औपनिवेशिक र अर्धऔपनिवेशिक देशमा क्रान्तिमा एउटा तेश्रो स्वरूपको राज्यसत्ता अर्थात् नौलो जनवादी राज्यसत्ता अपनाउनैपर्छ । यो एउटा खास ऐतिहासिक कालका निम्ति सुहाउँदो राज्यसत्ताको रूप हुनाले यो सङ्क्रमणकालीन हुन्छ । क्रान्तिको धार सामन्यतया पुँजीवाद र पुँजीवादी निजी सम्पत्तिको विरुद्ध नसोभm्याइने हुनाले चिनियाँ क्रान्तिको वर्तमान चरणको स्वरूप सर्वहारा समाजवादी नभएर पुँजीवादी–जनवादी हो ।”

८. तेस्रो विश्वका मुलुक, जहाँ पुँजीवादको विकास भएको छैन† किसानको बाहुल्यता छ† मजदुर वर्गको विकास भएको छैन† त्यहाँको क्रान्तिलाई माओको विचारले पथप्रर्दशकको काम गर्दछ । हाम्रो जस्तो मुलुकमा माओका योगदानले कति धेरै महत्त्व राख्दछ भन्ने कुरा प्रष्ट छ । यो क्रान्तिकारी प्रस्थापनाको प्रयोगको अभावमा विश्वमा चल्ने साम्राज्यवाद तथा सामन्तवाद विरोधी सङ्घर्षले सफलता प्राप्त गर्न सक्दैन । एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाअन्तर्गतका कतिपय मुलुकमा विगतदेखि चल्दै आएका आन्दोलन सफलतामा नपुग्नु त्यसका उदाहरण हुन् ।

९. माओले दर्शनशास्त्रको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । संसारको व्याख्या सबै दार्शनिकले गरेका छन् तर मुख्य कुरा समाजलाई परिवर्तन गर्नु हो भन्ने माक्र्सवादी प्रस्थापनालाई केन्द्रमा राखेर नै माओले दर्शनको विकास र प्रयोगमा ध्यान दिएको पाइन्छ । माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको व्यावहारिक प्रयोग गरेर नै चिनियाँ समाजमा विद्यमान अन्तर्विरोधलाई पक्रिने, पार्टीभित्र देखा पर्ने वैचारिक समस्यालाई समाधान गरेर क्रान्ति सम्पन्न गर्नुभयो । दर्शनको विषयमा माओको प्रष्ट मान्यता थियो कि “व्यावहारिक अभ्यासबिनाको दर्शनको कुरा गर्नु समय बर्बाद गर्नु मात्रै हो ।” माओ विश्वविद्यालय गएर किताबदेखि किताबसम्म अर्थात् विचारदेखि विचारसम्म सीमित रहने कुराको विरोधी हुनुहुन्थ्यो । पार्टीभित्र र समाजमा देखा परेका समस्यालाई समाधान गर्न माओले द्वन्द्वात्मक भौतिकवादी दर्शनको व्यावहारिक प्रयोगमा नै जोड दिनुभयो । त्यस सन्दर्भमा माओले लेखेका दर्शनसम्बन्धी दुईओटा निबन्ध “व्यवहारबारे” र “अन्तरविरोधबारे” विशेष रूपले महत्त्वपूर्ण छन् । राजनीतिक अर्थशास्त्रको क्षेत्रको विकासमा समेत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओको विशेष योगदान रहेको छ । जनवादी क्रान्ति सम्पन्न भएपछि नियन्त्रित प्रकारको पुँजीवादलाई अगाडि बढाउँदै समाजवादी अर्थतन्त्र विकास गरेर समाजवादलाई सुदृढ तुल्याउने कार्य गर्नुभयो ।

१०. माओले माक्र्सवाद–लेनिनवादको व्यावहारिक प्रयोगको सवालमा हमेसा ठोस परिस्थितिको ठोस मूल्याङ्कनमा जोड दिनुभयो । उहाँले माक्र्सवादी सिद्धान्तकोे अन्धनक्कल वा जडसूत्रवादको रूपमा ग्रहण गर्ने कुराको हमेसा विरोध गर्नुभयो । माओले चिनियाँ समाजको विशिष्टताअनुरूप माक्र्सवाद–लेनिनवादको व्यावहारिक प्रयोगमा ध्यान दिएको कारण नै चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो । यो सवालमा माओको मान्यतालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुने छ । “माक्र्सवाद एउटा सार्वभौम सत्य हो जसको प्रयोग सार्वभौम रूपमा गरिन्छ । हामीले यस कुरालाई स्वीकार्नैपर्दछ तर यो सार्वभौम सत्य प्रत्येक राष्ट्रको क्रान्तिको ठोस प्रयोगसँग गाँसिनुपर्दछ । चिनियाँ जनताले चिनियाँ क्रान्तिमा यसकारणले विजय प्राप्त गरे किनभने उनीहरूले माक्र्सवादलाई स्वीकार गरे र त्यसलाई चिनियाँ क्रान्तिको ठोस व्यवहारसँग गाँसे” तर विश्वका कतिपय मुलुकमा यसको ठिक उल्टो प्रवृत्ति पाइन्छ । माक्र्सवादलाई आफ्नो मुलुकको विशिष्टतामा प्रयोग गर्नुको सट्टा जडसूत्रको रूपमा ग्रहण गर्ने गरिन्छ जसको परिणामस्वरूप कम्युनिस्ट आन्दोलनले क्षति बेहोर्नुपरिरहेको छ ।

११. माओले आधुनिक संशोधनवादको विरुद्ध भिषण सङ्घर्ष गरेर माक्र्सवादको रक्षामा जोड दिनुभएको थियो । रुसको बिसौँ पार्टी महाधिवेशनमा ख्रुस्चेभले आधुनिक संशोधनवादी बाटो समातेपछि अन्तर्राष्ट्रिय स्तर माओले नै त्यसका विरुद्ध क्रान्तिको झन्डा उठाएर माक्र्सवादको रक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले १४ जुन १९६३ मा सोभियत सङ्घको कम्युनिस्ट पार्टीलाई पठाएको पत्र, जुन ‘महाविवाद’ नामक दस्तावेजको रूपमा विश्व प्रसिद्ध छ । चीनले प्रकाशन गरेको उक्त दस्तावेजमा चिनियाँ कम्युनिस्ट पार्टीले स्टालिनको पक्ष लिँदै ख्रुस्चेभका सम्पूर्ण संशोधनवादी कार्यदिशाको प्रतिवाद गरेको छ । माओले महाविवादमा नामक विश्वप्रसिद्ध दस्तावेजमा “व्यक्तिपूजाका विरुद्ध सङ्घर्ष” को वकालत गर्नुका पछाडि सोभियत सङ्घको कम्युनिस्ट पार्टीका नेताहरूको गन्तव्य जनवादलाई बढावा दिनु, सामूहिक नेतृत्वको व्यवहारमा लागु गर्न व्यक्तिको भूमिकाको अतिरञ्जनाको विरोध गर्नु नभएर त्यसका पछाडि अरू नै प्रयोजन छ । व्यक्तिपूजाको विरुद्ध सङ्घर्षको बहानामा उनीहरू स्टालिनलाई पार्टी, सङ्गठन र सर्वहारा जनताका विरुद्ध खडा गर्दै छन् । सर्वहाराको पार्टी, सर्वहाराको अधिनायकत्व र समाजवादी व्यवस्थालाई कलङ्कित गरिरहेका छन्” भनेर लेखिएको छ । माओको नेतृत्वमा रुसी ख्रुस्चेभी संशोधनवादका विरुद्ध निकै निर्मम सङ्घर्ष भएको थियो । माओले रुसी संशोधनवाद विरुद्ध चलाएको सङ्घर्षको बदलास्वरूप खु्रस्चेवले माओलाई पार्टी नेतृत्वबाटै हटाउने उद्देश्यले षड्यन्त्रसमेत गरेका थिए । त्यति मात्र नभएर रुसले चीनमा पठाएका तीन सयभन्दा बढी सहयोग र सम्झौताका निर्णयलाई एकतर्फी रूपमा रद्दसमेत गरेको थियो । रुस र चीनको सीमानाको सुदूरपूर्वी भागलाई छुट्याउने उसुरी नदीमा भएको एउटा निर्जल टापुको विषयलाई लिएर रुस र चीनका बिच सन् १९६९ मा युद्धसमेत भयो । बाह्य रूपमा यो युद्ध जस्तो देखिए पनि भित्री कुरा माओले रुसी नेतृत्वको संशोधनवादी लाइनको आलोचना गरेको हुनाले बदलास्वरूप रुसले चीनमाथि आक्रमणसमेत गरेको थियो ।

यद्यपि पार्टीभित्र पनि माओले संशोधनवादी विचारका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै उग्रवामन्थी तथा दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्ष गरेर माक्र्सवादको रक्षामा जोड दिनुभएको थियो । क्रान्तिकालीन अवस्थामा मात्र नभएर नयाँ जनवादको स्थापना भएपश्चात पनि माओले विभिन्न खाले अवसरवादका विरुद्ध कडा सङ्घर्ष गर्नुपर्‍यो । सन् १९५८ मा चिनियाँ कम्युनिस्ट पार्टीभित्र समाजवाद र पुँजीवादको बाटोबारे ठुलो सङ्घर्ष भयो । माओले समाजवाद निर्माण गर्ने मुख्य नीति, जनकम्युनको स्थापना र उद्योग विकास गर्ने नीति अगाडि सार्नुभयो ।

१२. माओमाथि कैयौँ कोणबाट आक्रमण गर्ने गरिएको छ । माओको निजी सहायक, डाक्टर, नर्सले भनेका कुरालाई आधार बनाएर पश्चिमा शक्तिहरूले माओमाथि मनगढन्ते आरोप लगाउने गरेका छन् । त्यसैगरी रुसी संशोधनवादीले माओलाई अन्धराष्ट्रवादी, युद्धपिपासुलगायतका कैयाँै आरोप लगाउने गरेका छन् । ट्राटस्कीवादी कोणबाट पनि माओको विरोध गर्ने गरिएको छ । त्यस्तो विरोध मुख्यतया अमेरिकाको आरसिपी कम्युनिस्ट पार्टीले गर्ने गरेको छ । माओको नेतृत्वमा सन् १९६३ मा चिनियाँ कम्युनिस्ट पार्टीले प्रधान अन्तर्राष्ट्रिय अन्तरविरोधसम्बन्धी विश्लेषणलाई गलत बताएर माओमाथि प्रहार गर्ने गरेका छन् ।

१३. माक्र्स र लेनिनले समाजवादी व्यवस्थामा पनि वर्गको अस्तित्व विभिन्न रूपमा कायम रहने कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गरेका छन् । त्यही सिद्धान्तको आलोकमा तथा रुसको समाजवादी व्यवस्थाको अनुभवबाट शिक्षा लिँदै माओले समाजवादभित्र पनि वर्गको अस्तित्व कायम रहने हुँदा वर्गसङ्घर्षको आवश्यकतामा जोड दिँदै सर्वहारा वर्गको अधिनायकत्वभित्र पनि वर्गसङ्घर्षलाई सञ्चालन गर्नुभयो । माओले पार्टी र सरकारका विभिन्न पद ओगटेर बसेका छद्मभेषी, पुँजीवादी र संशोधनवादीका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । सन् १९६६ अगस्ट महिनामा आठौँ केन्द्रीय समितिको एघारौँ पूर्ण बैठकले सांस्कृतिक क्रान्ति गर्ने निर्णय गर्‍यो । माओ आफैले संशोधनवादी सदरमुकाममा बम बर्साऊ भनेर आह्वान गर्नुभयो । यो महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई समाजवादभित्र सञ्चालन गरिएको वर्गसङ्घर्ष उत्कर्षको रूपमा लिन सकिन्छ यद्यपि चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति असफल भयो । सर्वहारा सांस्कृतिक क्रान्तिको पक्षधर नेताहरूलाई जेलमा कोच्ने काम भयो तर सर्वहारा सांस्कृतिक क्रान्तिको अत्यन्तै ठुलो महत्त्व छ ।

१४. क्रान्तिकारी सङ्घर्षमा कार्यनीति र रणनीतिको महत्त्वलाई माओले गहन रूपले व्याख्या गरेका छन् । उहाँले कार्यनीति र रणनीतिबिच उचित सन्तुलन कायम गरेर नै क्रान्तिलाई सफल पार्न सकिने कुरामा जोड दिनुभयो । कार्यनीति र रणनीतिबिच उचित सन्तुलन कायम गर्न नसकेर विश्व कम्युनिस्ट आन्दोलनमा थुप्रै क्षति पुग्ने गरेको छ । त्यो नेपालको हकमा पनि सत्य हो । माओले जापान विरोधी संयुक्त मोर्चामा कार्यनीतिसम्बन्धी हालका समस्या, रणनीतिको सम्बन्धमा, कम्युनिस्ट विरोधी भिषण आक्रमणलाई परास्त गर्ने, पार्टीका वर्तमान नीतिसँग सम्बन्धित केही समस्या, चारैतिर मुक्का प्रहार गर्नेबारे, साम्राज्यवाद र सबै प्रतिकृयावादी कागजी बाघ हुन् जस्ता प्रसिद्ध रचनामा कार्यनीति र रणनीतिको विषयमा विशद् व्याख्या गरिएको छ । यी लेखमा क्रान्तिका लागि आवश्यक पर्ने कार्यनीति र रणनीतिको प्रश्नले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पथप्रदर्शकको काम गरेको छ ।

१५. माओले सैन्यविज्ञानको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । चीनमा सङ्गठन र सङ्घर्षको मुख्य स्वरूप सेना र सशस्त्र सङ्घर्ष थियो । यो चीनको विशिष्टता थियो । किसानलाई सङ्गठित बनाएर तयार गरिएको सेनालाई सर्वहारा चरित्रको सेनामा विकास गरेर जनतासँग घनिष्ट सम्बन्ध राख्नेलायक सेना बनाउने व्यावहारिक उपायसमेत प्रस्तुत गर्नुभयो ।
माओ गुरिल्ला युद्धका गुरु नै मानिन्छन् । माओले चीनमा किसानमाझ निर्माण गरेको सेना र सञ्चालन गरेको युद्धको अनुभवले दुनियाँभरिका क्रान्तिकारी युद्धमा मदत पुर्‍याइरहेको छ । त्यसबाट नेपालको क्रान्तिकारी आन्दोलनले पनि थुप्रै शिक्षा प्राप्त गर्न सक्दछ तर माओले हमेसा यान्त्रिक ढङ्गबाट युद्ध सञ्चालन गर्ने कुराको विरोध गरेका छन् । माओले युद्धसँग सम्बन्धित सबै पक्षको साङ्गोपाङ्गो अध्ययन आफ्ना सैनिक रचनामा प्रस्तुत गरेका छन् । सेनाको गठन, सेनाका लागि आवश्यक पर्ने अनुशासन, राजनीतिक कार्यलाई केन्द्रमा राखेर सेना र युद्धको सञ्चालन, सिपाही र अफिसरका बिचको एकता, जनतासँग घनिष्ट सम्बन्ध, युद्धका विभिन्न प्रकार; जस्तै : छापामार र चलायमान युद्ध, युद्धका दौरान आधारक्षेत्रको (स्थानीय सत्ता) निर्माण, गाउँबाट सहर घेर्ने रणनीति तथा दीर्घकालीन जनयुद्धलगायतका विषयमा माओले युद्ध र रणनीतिका समस्या, जापान विरोधी छापामार युद्धको रणनीतिक भूमिका, चीनको क्रान्तिकारी युद्ध र रणनीतिका समस्यालगायतका लेखमा माओले विकास गरेको सैन्यविज्ञान राम्रोसँग अभिव्यक्त भएको छ । युद्धकलासम्बन्धी माओको ज्ञान शास्त्रीय प्रकारको नभएर चीनमा सञ्चालन गरिएको झन्डै २८ वर्ष लामो सशस्त्र सङ्घर्षमाथि आधारित छ ।

माओले चिनियाँ गृहयुद्ध लामो समयसम्म चल्ने कुरामा जोड दिनुभएको थियो अर्थात् माओ चिनियाँ जनक्रान्तिको प्रकृति दीर्घकालीन हुने मान्यता राख्नुहुन्थ्यो तर ली लिसानले राष्ट्रव्यापी विजय प्राप्त गर्नका लागि लालसेनालाई प्रतिक्रियावादी सेनामाथि हमला गर्ने आदेश दिए । त्यसबाट कम्युनिस्ट पार्टीलाई धेरै ठुलो क्षति पुग्यो । माओले चिनिया क्रान्ति दीर्घकालीन हुनुको कारणमाथि चर्चा गर्दै लेख्नुभएको छ– “प्रतिकृयावादी शक्तिहरू धेरै बलिया भएका कारण क्रान्तिकारी शक्तिले विस्तारै अगाडि बढनुपर्ने कुरामा जोड दिएको हुनाले त्यसैबाट हाम्रो युद्धको दीर्घकालीन स्वरुप निश्चित हुन्छ ।” यो कुरा नेपाल जस्तो मुलुकका लागि पनि सत्य हो ।

१६. लेनिनवादका विभिन्न आधारमध्ये पार्टीनिर्माणको प्रश्न पनि एउटा हो । माओले लेनिनवादलाई सिर्जनात्मक विकास तथा प्रयोग गर्ने क्रममा माक्र्सवादी सिद्धान्तद्वारा लैस लौह अनुशासन भएको, गुटबन्दीरहित, लडाकु चरित्र भएको कम्युनिस्ट पार्टीको निर्माणमा लगातार जोड दिनुभयो । माओले नयाँ जनवादी क्रान्तिको सफलताका लागि तीन जादुगरी हतियार हुनुपर्नेमा जोड दिएका छन् । ती हुन– पार्टी, संयुक्त मोर्चा र सेना । यी तीनओटा साधनको अभावमा क्रान्तिलाई सफल तुल्याउन सकिँदैन । कम्युनिस्ट पार्टीनिर्माणको प्रश्न एउटा जटिल प्रक्रिया हो । पार्टीभित्र र बाहिरका गलत तत्त्वका विरुद्ध लगातार चल्ने सङ्घर्षको बिचबाट नै सही क्रान्तिकारी पार्टीनिर्माणको प्रक्रिया अगाडि बढने गर्दछ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको आधारमा नै पार्टी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । सही र वास्तविक कम्युनिस्ट पार्टीनिर्माणको सिलसिलामा माओका रचनाले विश्व कम्युनिस्ट आन्दोलनलाई पथप्रदर्शकको काम गरिरहेको छ ।

पार्टीनिर्माणको सिलसिलामा माओले लेखेका लेखहरू; जस्तै : उदारवादको विरोध गर, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका, हाम्रो अध्ययनलाई सुधारौँ, पार्टीको कार्यशैलीमा सुधार, रुढिगत पार्टीलेखनको विरोध गर, हाम्रो अध्ययन र हालको परिस्थिति, जनवादी केन्द्रीयता, पार्टी कमिटीको कार्यपद्धति, पार्टी अनुशासन र एकता, जनवादी केन्द्रीयता विशेष रूपले उल्लेखनीय छन् । यी रचनाले पार्टीनिर्माणको समस्यालाई समाधान गर्न दिशानिर्देशकको काम गरेको छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा माओका उपर्युक्त पाँचओटा योगदानले महत्त्वपूर्ण भूमिका खेल्नुका साथै पथप्रदर्शनको काम गरेको छ । यी योगदानले माक्र्सवाद–लेनिनवादको विकास तथा प्रयोग आधुनिक संशोधनका विरुद्धको सङ्घर्षमा नयाँ आयाम थप्ने काम गरेको छ । माओका विचारले ठोस परिस्थितिमाथि आधारित कार्यनीति तथा रणनीति तय गर्न शक्तिशाली पार्टी तथा सेनाको निर्माण गरेर नयाँ जनवादी क्रान्तिको अभिभारा पूरा गर्न वैचारिक रूपले दिशानिर्देश गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार