लेनिन तथा पुँजीवादी साम्राज्यवाद

  • मनोज भट्ट ##

लेनिनको जन्म अप्रिल २२, १८७० का दिन रुसको सिम्बिर्क सहरमा भएको थियो भने उहाँको मृत्यु जनवरी २१, १९२४ का दिन भएको थियो ।

लेनिनको परिवार राजनीतिक रूपले सचेत थियो । लेनिनको परिवारका सदस्यहरू जारविरोधी क्रान्तिकारी गतिविधिमा सक्रिय थिए ।

लेनिनका दाजुलाई तत्कालीन रुसको निरङ्कुश राजतन्त्र जारका विरुद्ध क्रान्तिकारी गतिविधिमा भाग लिएर राजाको हत्या अभियोगमा फाँसीको सजाय दिइएको थियो । लेनिनको दिदीले पनि जारविरोधी क्रान्तिकारी गतिविधिमा सक्रिय रहेका कारण कैयौँपटक जेल तथा निर्वासनको सजाय भोग्नुपरेको थियो ।

लेनिन सानैमा क्रान्तिकारी विचारबाट शिक्षितदीक्षित तथा प्रेरित हुनुहुन्थ्यो । तत्कालीन जार सरकारको विरोध गरेबापत् लेनिन १७ वर्षको कलिलो आयुमा पहिलोपटक निर्वासित हुनुपरेको थियो ।

का. लेनिनको नेतृत्वमा रुसमा कम्युनिस्ट पार्टीको स्थापना भयो । उहाँकै नेतृत्वमा कम्युनिस्ट पार्टीभित्र देखा परेका विभिन्न खाले भड्काव, अवसरवादी धारका विरुद्धको सङ्घर्र्षले सफलता प्राप्त गर्दै गएर अन्तत: सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो ।

विश्वको इतिहासमा पहिलोपटक रुसमा स्थापना भएको समाजवादी राज्यलाई का. लेनिनले लामो समय नेतृत्व गर्न पाउनुभएन । सन् १९२२ मा लेनिनको हत्याप्रयास भएको थियो । लेनिनलाई लागेको गोलीका छर्रा टाउकोबाट निकाल्न नसकिएका कारण त्यसैबाट उहाँको स्वास्थ्य झन्पछि झन् बिग्रिँदै गएर अन्तत: त्यसैबाट जनवरी २१ का दिन उहाँको मृत्यु भएको थियो ।

लेनिनको मृत्यु भएको १०० वर्ष पुग्दै छ । यो अवसरमा संसारभरिका कम्युनिस्टले विश्व कम्युनिस्ट आन्दोेलनमा लेनिनले पुर्‍याउनुभएको योगदानलाई विभिन्न रूपले सम्झना गर्दै छन् । लेनिनको शिक्षालाई आफ्नो देशको ठोस परिस्थितिअनुरूप लागु गरेर नै लेनिनप्रतिको सच्चा सम्मान हुने छ ।

लेनिनको मृत्यु भएको १०० वर्ष पुगेको छ । हामीले लेनिनका योगदानको स्मरण गर्नुका साथै उहाँले प्रतिपादन गरेका सिद्धान्तमाथि भइरहेका आक्रमणका विरुद्धको सङ्घर्र्षलाई थप तीव्र पारेर नै साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा क्रान्तिलाई अगाडि बढाउन सक्दछौँ ।

आज कैयौँ कोणबाट लेनिनका विचार पुराना भइसकेका कारण त्यसको सान्दर्भिकता वर्तमान परिस्थितिमा नरहेको दाबी गरिदै छ ।

लेनिनमाथि वा उहाँका विचारमाथि प्रतिक्रियावादी कोणवाट मात्र होइन, स्वयम् कम्युनिस्टको झन्डा बोक्ने कथित अवसरवादीहरूले पनि लेनिनका योगदानमाथि प्रहार गरिरहेका छन् । प्रविधिको क्षेत्रमा आश्चर्यजनक प्रगति भएको वर्तमान युगमा लेनिवादको सान्दर्भिकता समाप्त भएको भ्रम छर्दै छन् ।

माक्र्सवादका तीनओटा मुख्य सङ्घटक अङ्ग दर्शन, अर्थशास्त्र तथा समाजवादको क्षेत्रमा लेनिनले महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । त्यसैले माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणको रूप लेनिनवादलाई लिइन्छ । स्टालिनले लेनिनवादलाई “लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद” बताएका छन् । लेनिनवादमाथि थप जोड दिँदै स्टालिनले भनेका छन्– “सामान्यतया लेनिनवाद सर्वहारा क्रान्तिको सिद्धान्त र विशेषत: सर्वहारा वर्गको अधीनायकत्वको सिद्धान्त र कार्यनीति हो अर्थात् लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो भन्नुको तात्पर्य लेनिनको सिद्धान्तले मार्गनिर्देशन गरेको सिङ्गो युग साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग हो । अहिले पनि त्यो युग समाप्त भएको वा बदलिएको छैन । त्यसैले वर्तमान युग साम्राज्यवादी युग हो र यो युगको क्रान्तिको सिद्धान्त तथा कार्यनीतिलाई लेनिनका विचारले पथ प्रदर्शन गर्ने काम गरिरहेको छ ।”

लेनिनले परिभाषित गरेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग समाप्त भएको भनेर विभिन्न कम्युनिस्ट विरोधी अवसरवादी धाराले भ्रम दिइरहेका छन् । त्यो चिर्नुपर्ने आवश्यकता छ ।

पुँजीवादको विकासको उच्चतम् चरण साम्राज्यवादका बारेमा लेनिनले गर्नु भएको व्याख्या तथा विश्लेषणको विषयमा हामीले छलफललाई केन्द्रित गर्ने छौँ ।

बेलायतलगायत युरोपका कतिपय देशमा पुँजीवादी क्रान्ति सम्पन्न भएको थियो । त्यहाँ खुल्ला प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास भएको थियो । औद्योगिक क्रान्तिपश्चात् युरोपमा देखा परेको खुल्ला प्रतिस्पर्धामा आधारित पुँजीवाद उन्निसौँ शताब्दीमा पुग्दा त्यसको विकास उत्कर्षमा पुगेको थियो । पुँजीवादको विकास भएर साम्राज्यवादमा परिणत हुने प्रक्रिया लगभग सन् १८६० देखि सुरु भएको मानिन्छ । प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा अगाडिदेखि नै लेनिनले पुँजीवादको विकासमा देखा परेका नयाँ प्रवृत्तिहरू जस्तै उत्पादनको सङ्केन्द्रण, पुँजीको निर्यात, एकाधिकारीको सङ्ख्यामा वृद्धि, औपनिवेशिक नीति, साम्राज्यवादी शक्तिबिच विश्वको बाँडफाँडका लागि युद्ध जस्ता विषयमाथि लेनिनले ध्यान दिँदै त्यसबारे विभिन्न लेखमार्फत् माक्र्सवादी दृष्टिकोण अगाडि सार्ने कामको सुरुवात गरिसक्नुभएको थियो।

लेनिनले आफ्नो पुस्तक “साम्राज्यवाद पुँजीवादको उच्चतम अवस्था” मा पुँजीवादको विकास प्रक्रिया र एकाधिकार अर्थात् साम्राज्यवादमा त्यसको रूपान्तरणलाई सुसङ्गत रूपमा प्रस्तुत गर्नुभएको छ यद्यपि लेनिनले “साम्राज्यवाद पुँजीवादको उच्चतम अवस्था” लेखेको पनि झन्डै १०७ वर्ष पुग्दै छ । यो १०७ वर्षको दौरान विश्वमा कैयौँ परिवर्तन भएका छन । इतिहासमा नै पहिलोपटक सन् १९१७ मा रुसमा समाजवादी व्यवस्थाको स्थापना भयो । त्यसको अन्त मात्र भएन कि सन् १९९० मा सोभियत सङ्घको विघटन पनि भयो । औपनिवेशिक मुलुक स्वतन्त्र भए । सन् ६० को दशकमा आइपुग्दा विश्वभरिबाट उपनिवेशवादको विघटन भयो । विश्वमा दुइटा ठुला ठुला विश्वयुद्ध भए । कैयौँपटक गम्भीर प्रकारका पुँजीवादले आर्थिक मन्दीको सामना गर्नुपरेको छ । पुँजीवादभित्र पटक पटक देखा पर्ने अन्तरविरोधलाई टालटुल पार्न विभिन्न नीति अगाडि सारिएका छन् । प्रत्येक आर्थिक सङ्कटपछि साम्राज्यवादीले पुँजीवादी अर्थनीतिमा सामान्य फेरबदल गर्ने र आर्थिक सङ्कटलाई केही पर धकेल्ने प्रयास गर्दै आएको छ अर्थात् १०७ वर्षको अवधिमा थुप्रै परिवर्तन भएता पनि साम्राज्यवादसम्बन्धी लेनिनको विश्लेषण आधारभूत रूपमा अहिले पनि सही र विज्ञानमाथि आधारित छ ।

लेनिनले साम्राजवादलाई विभिन्न कोणबाट व्याख्या–विश्लेषण तथा परिभाषित गर्नुभएको छ । पुँजीवाद जब आफ्नो विकासको उच्च चरणमा पुग्दछ, तब त्यो साम्राज्यवादमा परिणत हुन्छ भनेर व्याख्या गर्नुभएको छ । त्यो व्याख्यालाई पुष्टि गर्ने प्रयत्न गर्नुभएको छ ।

पुँजीवादको एकाधिकारपूर्ण अवस्थाको नाम साम्राज्यवाद हो भन्दै साम्राज्यवादका निम्न पाँचओटा आधारभूत विशेषता रहेको बताउनुभएको छ :

१. उत्पादन तथा पुँजीको केन्द्रीकरण यो स्तरमा हुन्छ कि जसबाट एकाधिकार पुँजीवादको जन्म हुन्छ, जसको आर्थिक जीवनमा निर्णायक भूमिका हुन्छ ।

(२) बैङ्क तथा औद्योगिक पुँजीको एकीकरण भएर वित्तीय पुँजीको उत्पत्ति हुन्छ, जसले वित्तीय अल्पतन्त्र सृजना गर्दछ ।

(३) माल निर्यातको सट्टा पुँजीको निर्यातले प्राथमिकता पाउँछ ।

(४) अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवाद कार्टेलको निर्माण हुन पुग्दछ । तिनीहरूले आपसमा संसारभरि हिस्सेदारी गर्न चाहान्छ ।

(५) सबभन्दा ठुला पुँजीवादी शक्तिहरू पूरै संसारभरि भौगोलिक रूपमा बाँडिएका हुन्छन् ।

लेनिनले साम्राज्यवादको विशेषतालाई एकाधिकार पुँजीवाद, मरणासन्न पुँजीवाद तथा परजीवी पुँजीवाद बताउँदै एकाधिकार पुँजीवाद त्यसको सारतत्त्व हो भन्नुभएको छ । लेनिनले अगाडि सार्नुभएको साम्राज्यवादका पाँचओटा विशेषता अहिलेको स्थितिमा पनि आधारभूत रूपमा सही छन् यद्यपि ती विशेषता आधारभूत रूपमा सही हुँदाहुँदै पनि दोस्रो विश्वयुद्धसम्म साम्राज्यवादले बोकेका कतिपय चरित्रमा केही भिन्नता देखा परेको यथार्थलाई नजरअन्दाज गर्नुहँुदैन । ती परिवर्तनलाई पनि हामीले ध्यानमा राख्नुपर्छ ।

लेनिनले साम्राज्यवादसम्बन्धी कृति प्रकाशित गर्ने बेलामा तत्कालीन अवस्थामा मुख्यतया उद्योग र उत्पादनको क्षेत्रमा पुँजीको केन्द्रीकरण मुख्य प्रवृत्ति थियो । मुख्यतया उद्योगको क्षेत्रमा नै पुँजी र उत्पादनको केन्द्रीकरण र एकाधिकारको उत्पत्ति हुन्थ्यो तर आजको अवस्थामा आएर निर्माण, सेवा, सञ्चार, प्रविधि, कृषि तथा सेवाको क्षेत्रमा समेत पुँजीवादको प्रवेश, त्यसको विकास र एकाधिकारको अवस्था पैदा भएको देखिन्छ । यो क्षेत्रमा समेत बहुराष्ट्रिय कम्पनी कार्यरत छन् । यो क्षेत्रका बहुराष्ट्रिय कम्पनीले विश्वबजारमा एकाधिकार कायम गरेका छन् ।

पुरानो पुँजीवादको युग खुल्ला प्रतिस्पर्धाको युग थियो । मालको निर्यात उसको मुख्य विशेषता थियो । आधुनिक पुँजीवाद अर्थात् एकाधिकारीको युगमा पुँजीको निर्यात त्यसको मुख्य विशेषता बनेको छ । साम्राज्यवादी मुलुकमा पुँजीको विराट पैमानामा सञ्चय हुन्छ । त्यो सञ्चित पुँजीलाईं पिछडिएका मुुलुकमा नाफाका लागि निर्यात गर्ने प्रवृत्ति पाइन्छ । संयुक्त राष्ट्र सङघले बेला बेलामा जारी गर्ने लगानी प्रतिवेदनअनुसार पनि अमेरिका पुँजी निर्यातको क्षेत्रमा एक नम्बरमा पर्दछ भने चीन दोस्रो नम्बरमा आउँछ । पहिला पुँजीको निर्यात गरेर मुनाफा कमाउने प्रवृत्ति थियो भने दोस्रो विश्वयुद्धपश्चात् त्यसमा केही परिवर्तन देखा परेका छन् । कमजोर मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि वित्तीय पुँजीको निर्यात देखा परेको छ । अहिलेको परिस्थितिमा पुँजीको निर्यात एउटा आम विशेषता बनेको छ ।

लेनिनले साम्राज्यवाद पुँजीवादको उच्चतम अवस्थामा उपनिवेशहरूमा पनि पुँजीको विकास भइरहेको बताउनु भएको छ । तर त्यहाँको पुँजीवादले विकास गरिरहेको एकाधिकारको रूप के कस्तो हुनेछ त्यसबारे तात्कालिन अवस्थामा लेनिनका लागि बताउनु सम्भव थिएन । बेलायतमा पुँजीवादको जन्म सामन्तवादको गर्भबाट भएको थियो । सामन्तवादको गर्भबाट जन्मिएको विशुद्ध पुँजीवादले प्रतिस्पर्धा गर्दै एकाधिकारको रूप ग्रहण गरेको थियो । तर दोस्रो विश्वयुद्ध पछि पुँजीवादको विकास बेग्लाबेग्लै ढङ्गबाट ्अगाडि बढेको देखिन्छ । पूर्वीय मुलुकहरूमा सामन्तवादलाई कायम राखेर माथिबाट पुँजीवाद लाद्ने काम भयो । भारतमा माथिबाट लादिएको पुँजीवादले एकाधिकारको स्वरूप ग्रहण गरेको छ । भारतमा लादिएको पुँजीवादले विदेशी पुँजीसँग पनि साँठगाँठ गर्‍यो, जसको परिणाम भारतको पुँजीवादले एकाधिकार स्वरूप ग्रहण गरेको छ ।

चीनको स्थिति बेग्लै पाउँछौँ । कम्युनिस्ट पार्टीको नेतृत्वमा सामन्तवादका साम्राज्यवाद विरोधी जनवादी क्रान्ति भएको थियो । त्यसैले चीनलाई साम्राज्यवादी शक्तिहरूले नवऔपनिवेशिक प्रणालीमा लिएर जान वा नवऔपनिवेशिक शोषणभित्र राख्न त सम्भव हुने कुरा भएन । चीनमा भएको जनवादी क्रान्ति अन्तत: पुँजीवादी क्रान्ति थियो । पुँजीवादलाई समाजवादमा लैजान वा रूपान्तरण गर्न माओले पार्टीभित्र तथा बाह्य रूपमा सोभियत सङ्घसँग कडा सङ्घर्र्ष गर्नुपरेको थियो । माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । पुँजीवादको पुनस्र्थापनासमेत भयो । राज्य नियन्त्रित वा राजकीय पुँजीवादले क्रमश: चीनमा बजार, इलाका तथा पिछडिएका मुलुक मात्र नभएर शक्तिसम्पन्न मुलुकका बजारमा पनि एकाधिकारको माध्यमद्वारा वा बहुराष्ट्रिय कम्पनीमार्फत् आफ्नो एकाधिकार कायम गर्दै साम्राज्यवादमा परिणत भएको छ । अहिलेको अवस्थामा साम्राज्यवादी नीतिलाई विश्वव्यापीकरण गर्न मुख्य भूमिका खेल्ने उपकरण भूमण्डलीकरणको अमेरिकी ट्रम्प प्रशासनले विरोध गरेको थियो तर चीनले भूमण्डलीकरणको पक्षमा लगातार जोड दिइरहेको छ ।

साम्राज्यवाद पुँजीवादको उच्चतम चरण हो । यस चरण त्यो प्रगतिशील पुँजीवादबाट परजीवी पुँजीवादमा फेरिन्छ । साम्राज्यवाद पुँजीवादको उच्चतम चरण भएको विश्लेषण अगाडि सारेर लेनिनले साम्राज्यवादका विरुद्ध सर्वहारा क्रान्तिको सिद्धान्त, कार्यनीति तथा रणनीति पनि प्रस्तुत गर्नुका साथै त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउनुभयो । माक्र्सवादीले साम्राज्यवादपूर्वको पुँजीवादको अवधिमा एउटा छुटै मुलुकमा समाजवादको विजयी हुनु असम्भव रहेको समाजवादको विजय सबै पुँजीवादी मुलुकमा एक साथ हुने छ भन्ने मान्यता राख्थे तर लेनिनले उक्त अवधारणालाई बदल्नुभयो । उहाँले क्रान्तिसम्बन्धी नयाँ अवधारणा अगाडि सार्नुभयो । त्यो थियो– सबै मुलुकमा एकसाथ समाजवादको विजय हुनु असम्भव छ र एउटा छुट्टै पुँजीवादी मुलुकमा समाजवादको विजय हुनु सम्भव छ । सन् १९१५ मा लेख्नुभएको “संयुक्त राज्य युरोपको नारा” तथा सन् १९१६ लेनिनले लेख्नु भएको “सर्वहारा क्रान्तिको युद्ध कार्यक्रम” शीर्षकको लेख निकै नै महत्त्वपूर्ण रहेको छ । सर्वप्रथम हामी लेनिनको “सर्वहारा क्रान्तिको युद्ध क्रार्यक्रम” मा व्यक्त विचारलाई यहाँ प्रस्तुत गर्ने छौँ ।

उक्त लेखमा लेनिनले भन्नुभएको छ– “पुँजीवादको विकास विभिन्न मुलुकमा ज्यादै विषम ढङ्गबाट अगाडि बढ्छ । वस्तु उत्पादन व्यवस्थाअन्तर्गत यो विकास अर्को ढङ्गबाट हुन सक्दैन । यसबाट अकाट्य रूपमा यो निष्कर्ष निस्कन्छ भने समाजवादले सबै मुलुकमा एकसाथ विजय प्राप्त गर्न सक्दैन । यसले पहिले एउटा वा कैँयन् मुलुकमा विजय प्राप्त गर्ने छ र अरू देश केही समयका लागि पुँजीवादी वा निम्नपुँजीवादी रहने छन्” ।

सबै मुलुकमा एकैचोटी पुँजीवादका विरुद्ध क्रान्ति हुने कुरा वर्तमान युगमा किन सम्भव छैन भन्ने विषयमा लेनिनले आफ्नो लेख “संयुक्त राज्य युरोपको नारा” मा पुँजीवादको विकासको विषमताले साम्राज्यवादी युद्ध उत्पन्न हुन्छ । यो युद्धले साम्राज्यवादको जग कमजोर पार्छ । जुन ठाउँमा साम्राज्यवाद सबैभन्दा कमजोर हुन्छ, त्यहाँ त्यसको मोर्चा तोड्न सम्भव हुन्छ । सर्वहारा वर्ग एक ठाउँमा वा कैयन् ठाउँमा साम्राज्यवादी मोर्चा तोड्न सम्भव छ । पुँजीवाद विकासको विषमताले गर्दा सबै मुलुकमा एकसाथ समाजवादको विजय हुनु असम्भव छ भन्ने दृष्टिकोण अगाडि सार्नुभयो । यसरी समाजवादी क्रान्तिसम्बन्धी अर्थात् साम्राज्यवाद तथा सर्वहारा क्रान्तिसम्बन्धी लेनिनको सिद्धान्तले माक्र्सवादलाई नयाँ सिद्धान्तबाट समृद्ध पार्ने काम गरेको छ ।

पुँजी तथा मालको उत्पादनको केन्द्रीयकरण तीव्र ढङ्गबाट हुन थालेपछि ती देशका शासकहरू आफ्नो देशमा केन्द्रित भएको पुँजी लगानी गर्ने ठाउँ, उत्पादित मालका निम्ति बजार र कच्चा पदार्थको स्रोतको खोजीमा राष्ट्रिय राज्यको सीमा नाघेर बाहिर जान थाले ।

परिणामस्वरूप तिनले मुख्यत: एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका अविकसित देशमाथि सैन्य राजनीतिक हस्तक्षेप गररे ती देशलाई आफ्नो प्रत्यक्ष उपनिवेश बनाउन सफल भएका थिए । साम्राज्यवादीले विश्व पुँजीवादी पद्धतिलाई विकास गर्न उपनिवेशको विस्तार गरे । तत्कालीन अवस्थामा फ्रान्स बेल्जियम, बेलायत ठुला ठुला उपनिवेश भएका मुलुक हुन् । कमजोर तर प्राकृतिक स्रोतसाधनले सम्पन्न एसिया, ल्याटिन अमेरिका र अफ्रिकाअन्तर्गत मुलुकलाई फ्रान्स, बेल्जियम, बेलायतले आफ्ना उपनिवेश बनाएका थिए । त्यसको परिणाम सन् १९०० सम्म सम्पूर्ण भूमण्डलको भागवण्डा भइसकेको थियो । लेनिनले तत्कालीन अवस्थामा साम्राज्यवादी शक्तिबिच भएको उपनिवेशको बाँडफाँडलाई आफ्नो पुस्तक “साम्राज्यवाद पुँजीवादको उच्चतम अवस्था” मा तथ्याङ्कसहित पेस गर्नुभएको छ ।

ग्रेट ब्रिटेनको आफ्नो मुलुकको क्षेत्रफल ३ लाख किलोमिटर र जनसङ्ख्या ४६५ लाख थियो भने ग्रेट ब्रिटेनसँग १८७६ देखि सुरु गरी १९१४ सम्म पुर्‍याएको औपनिवेशिक मुलुकको क्षेत्रफल ३३५ लाख किलोमिटर तथा जनसङ्ख्या ३९३५ लाख थियो अर्थात ग्रेट बिटेनले विश्वको ३३५ लाख किलोमिटर क्षेत्रफलमाथि कब्जा जमाएको थियो भने विश्वको ३,९३५ लाख जनसङ्ख्या उसको अधीनमा थियो ।

बेलायतको अधीनमा विश्वका ५६ ओटा मुलुक रहेका थिए ।

फ्रान्सले ३ करोड ६५ लाख ५३ हजार जनसङ्ख्या तथा ३५ लाख ८४ हजार ५८० वर्ग माइल जमिन कब्जा गरेको थियो भने जर्मनीले १ करोड ६६ लाख ८७ जनता तथा १ लाख २६ हजार २२० वर्गमाइल जमिन कब्जा गरेको थियो । यसरी युरोपका साम्राज्यवादी देशले दुनियाँलाई भागवण्डा गरेका थिए । सन् १९१४ देखि १९१८ सम्म चार वर्ष चलेको युरोपको पहिलो विश्वयुद्ध बढीभन्दा बढी उपनिवेश कब्जा गर्ने होडका लागि भएको थियो । चार/पाँचओटा युरोपको मुलुकले विश्वलाई भागवण्डा गरेर हैकम कायम राखेका थिए । सन् १९०० सम्ममा अफ्रिकाको ९० प्रतिशत भूभागमा युरोपेली राष्ट्रको उपनिवेशवाद स्थापित भइसकेको थियो । एउटाको प्रदेशमा वा एउटा उपनिवेशमा अर्को युरोपियन मुलुक छिर्न सक्दैनथ्यो । यही प्रक्रियामा शास्त्रीय पुँजीवादले एकाधिकारी पुँजीवादमा फड्को मार्‍यो ।

त्यही एकाधिकारी पुँजीवादलाई लेनिनले साम्राज्यवाद नामकरण गरे ।

सन् १८६० देखि १९४५ को अवधिमा साम्राज्यवादी मुलुकले अन्य कमजोर मुलुकलाई सैन्यबलबाट उसको राष्ट्रियता खतम गरेर सोझै आफ्नो उपनिवेश बनाएर वा स्थानीय रूपमा आफ्ना दलाल खडा गरेर अर्धउपनिवेश बनाएर वा स्वयम् युद्धमा विजित मुलुकले पराजित हुने अर्को साम्राज्यवादी मुलुकमाथि विभिन्न प्रकारका शर्त लादेर आफनो अधीनमा राखेर शोषण गर्ने गथ्र्यो । त्यसैले सन् १८६० देखि १९४५ को अवधिमा साम्राज्यवादीको युद्धपिपासु उत्पीडनकारी चरित्र प्रत्यक्ष देखा पर्दथ्यो तर दोस्रो विश्वयुद्धपछि अझ मुख्यतया उपनिवेशको विघटनपछि तिनीहरू आफनो वास्तविक चरित्रलाई विभिन्न आवरणमा लुकाएर देखा पर्ने गरेका छन् । कमजोर मुलुकको समृद्धि, विकासको नाममा गैरसरकारी सङ्गठन, विश्व बैङ्क, विश्व व्यापार सङ्गठन, बहुराष्ट्रिय कम्पनी, भूमण्डलीकरणको नाम छिरिरहेका छन् । सैन्य आक्रमणलाई पनि विकल्पको रूपमा प्रयोग गर्ने गरेका छन् ।

द्वितीय विश्वयुद्धपछि युरोपियन साम्राज्यवाद कमजोर भयो । त्यो दौरानमा उपनिवेशवादका विरुद्ध सञ्चालित राष्ट्रिय मुक्ति आन्दोलनको लहर विश्वव्यापी रूपमा फैलिन पुग्यो । सन् १९६० को दशकमा आइपुग्दा प्राय: सबै उपनिवेश स्वतन्त्र पनि भए । त्यसबाट साम्राज्यवादको रूपमा केही फरक परेको छ तर सारमा भने कुनै फरक परेको छैन । माक्र्सवाद–लेनिनवाद विरोधी थुप्रै धाराले यो तर्क गरिरहेका छन् कि पुँजीवादी प्रतिस्पर्धाले राष्ट्रिय सीमा नाघेपछि साम्राज्यवादीले आफ्नो उत्पादन, पुँजी खपतका लागि उपनिवेश कब्जा गर्ने काम गरेका थिए । अब ती उपनिवेश स्वतन्त्र भइसकेका छन् ।

साम्राज्यवादसँग उपनिवेश अभिन्न रूपले जोडिएर आउँछ । साम्राज्यवाद तथा उपनिवेशका बिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।

साम्राज्यवादको अस्तित्त्वका लागि उपनिवेशवाद एउटा नभई नहुने अपरिहार्य तत्त्व हो । उपनिवेशवादको अभाव वा अनुपस्थितिमा साम्राज्यवादको कल्पना गर्न सकिन्न तर समयकाल, परिस्थितिअनुसार उपनिवेशवादका पनि स्वरूप तथा चरित्र फेरिन सक्दछ ।

कतिपयले दोस्रो विश्वयुद्धभन्दा अगाडि जस्तो विश्वमा उपनिवेशवाद नभएकाले पुँजीवादले विकास गरेर आÇनो उच्चतम चरण साम्राज्यवादमा परिणत हुन्छ भन्ने लेनिनको सिद्धान्त वर्तमान अवस्थामा मेल खाँदैन भनेर तर्क गरिरहेका छन् । लेनिनवादको सान्दर्भिकता समाप्त भयो भनेर भ्रम फैलाइरहेका छन् ।

उपनिवेशको उन्मूलनपछि साम्राज्यवादीले पूर्ण उपनिवेश तथा अर्धउपनिवेशलाई कज्याउने नयाँ नीति अगाडि ल्याएका छन्, जसलाई नवउपनिवेशवाद भनिन्छ । नवऔपनिवेशिक चरणको साम्राज्यवादका बारेमा सन् १९६३ मा माओको नेतृत्वमा रुसी संशोधनवादी आम कार्यदिशाका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीले तयार गरेको विश्वप्रसिद्ध “महाविवाद” शीर्षकको दस्तावेजमा उल्लेखित यो भनाइ राख्नु सान्दर्भिक हुने छ : “दोस्रो विश्वयुद्धपछि साम्राज्यवादीले उपनिवेशवादलाई त्यागेको नभई नयाँ कलेवर नवउपनिवेशवादको रूपमा विकास गरेका छन् । नवउपनिवेशवादको मुख्य चारित्रिक विशषता भनेको के हो भने साम्राज्यवादीले केही क्षेत्रमा पुरानो शैलीको औपनिवेशिक शासन पद्धतिको ठाउँमा नयाँ शैलीको औपनिवेशिक शासन पद्धतिको विकास आफूले चयन गरेका र प्रशिक्षित गरेका दलालमार्फत् विकास गरेका छन्” ।

नव उपनिवेशवादका मुख्य दुईओटा उद्देश्य छन् :

१. विश्व पुँजीवादी आर्थिक प्रणालीभित्र पूर्वउपनिवेश र पूर्व अर्थ उपनिवेशहरूलाई राख्नु

२. नवस्वतन्त्र मुलुकमाथि शोषण र उत्पीडनको अवस्था बनाइराख्नु हो ।

माओका माथि उल्लेखित भनाइलाई आधार बनाएर हेर्ने हो भने द्वितीय विश्वयुद्धपछि साम्राज्यवादी मुलुकले आफ्नो उपनिवेश त्यागेको होइन र छैनन् । पुरानो साम्राज्यवादले आधुनिक साम्राज्यवादको रूपधारण गरेको मात्र हो ।

यसरी दोस्रो विश्वयुद्धमा उपनिवेश तथा अर्धउपनिवेशहरू विघटनको परिणाम साम्राज्यवादीले नवउपनिवेशवाद जन्माएका छन् ।

एसिया, अफ्रिका, ल्याटिन अमेरिकाअन्तर्गतका मुलुक फ्रान्स, बेलायत, जर्मनी, जापानबाट स्वतन्त्र भए पनि दोस्रो विश्वयुद्धपछि विश्व शक्तिराष्ट्र बन्न सफल अमेरिकाको नवऔपनिवेशिक शोषणको जन्जिरभित्र जकडिएका छन् । त्यहाँ कैयौँ मुलुकमा फ्रान्स र अमेरिकाका अहिले पनि नौसैनिक अखाडा कायम नै छन् । कतिपय मुलुकमा रुस तथा कतिपय मुलुकमा चीनका सेना पनि तैनाथ रहेका छन् । आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न अहिले पनि साम्राज्यवादी मुलुकले प्रत्यक्ष सैन्य आक्रमणको नीति अपनाउने गरेका छन् । त्यसैले प्रथम विश्वयुद्धभन्दा अगाडि र त्यसपछिका दिनमा अस्तित्त्वमा देखा परेका प्रत्यक्ष उपनिवेश वा अर्धउपनिवेश विघटन भएका कारण साम्राज्यवादको अस्तित्त्व समाप्त भयो भनेर निष्कर्षमा निकाल्नु एक प्रकारले प्रत्यक्ष/अप्रत्यक्ष रूपले साम्राज्यवादको सेवा गर्नु हो ।

नवउपनिवेशवादको आधार नवउदारवाद हो । नवऔपनिशिक सामाजिक चरणमा साम्राज्यवादीले नवउदारवादमार्फत् तेस्रो विश्वका कमजोर मुलुकमाथि आफ्नो साम्राज्यवादी शोषण कायम राखेका छन् । भूमण्डलीकरण, विश्व व्यापार सङ्गठन, बहुराष्ट्रिय कम्पनी, विश्व बैङ्क जस्ता माध्यमद्वारा अमेरिकाले तेस्रो विश्वका एसिया, अफ्रिका, ल्याटिन अमेरिकामाथि आफ्नो नियन्त्रण कायम राखेको छ ।

साम्राज्यवादले सुरु गरेको उदारीकरण, निजीकरण र भूमण्डलीकरणको नीति साम्राज्यवादी पुँजीको भूमण्डलीकरणको नीति हो ।

साम्राज्यवादले विज्ञान, प्रविधिलाई व्यापक मात्रामा प्रयोग गरेर बहुराष्ट्रिय कम्पनीमार्फत विश्वव्यापी रूपमा पुँजीपति वर्गलाई एकआपसमा जोडेर भूमण्डलीकृत पुँजीवादको अभ्यास भइरहेको छ । बहुराष्ट्रिय कम्पनीमार्फत साम्राज्यवादीले आÇनो उत्पादनलाई विश्व बजारमा पुरयाएर विश्व बजारमाथि आफ्नो नियन्त्रण तथा एकाधिकार कायम गरिरहेका छन् । त्यससँग सम्बन्धित केही उदाहरण यहाँ प्रस्तुत गर्नु सान्र्दभिक हुने छ ।

मालको उत्पादन र वितरण प्रणालीमा सीमित बहुराष्ट्रिय कम्पनीको एकाधिकार झन् बढेर गएको छ । सन् २०२१ मे १ मा प्रकाशित मन्थली रिभ्यू–२०१९ का अनुसार विश्वका सबैभन्दा ठुला ५०० कम्पनीले ३३३ खर्ब डलरको व्यापार गरेका छन् । त्यसबाट तिनीहरूले नाफा मात्र २१ खर्ब डलर कमाएका थिए । सन् २०१६ मा विश्वको सबैभन्दा ठुलो अमेरिकी कम्पनी वालमार्टले ५ खर्ब डलर कमाएको थियो । यो तथ्याङ्कबाट स्पष्ट हुन्छ कि बहुराष्ट्रिय कम्पनीहरू साम्राज्यवादी नीतिलाई अगाडि बढाउने भरपर्दा तथा शक्तिशाली उपकरण बनेका छन् ।

लेनिनले भने झैँ आज पनि पुँजीवादी साम्राज्यवाद कायम रहेको छ तर त्यसको संरचना र चरित्रमा परिवर्तन आएको छ । विश्व अर्थतन्त्रलाई नियन्त्रण गर्ने भूमण्डलीकृत साम्राज्यवादको बहुराष्ट्रिय चरित्र नै अहिलेको साम्राज्यवादी एकाधिकार पुँजीवादको विशेषता हो नवउपनिवेशवादी नीतिलाई तेस्रो विश्वका देशको सिमानाभित्र कथित उदारीकरणको अभियानमार्पmत छिराउने काम गरेका छन् ।

उदारीकरण भन्नाले साम्राज्यवादी शक्तिहरूले पुँजी, प्रविधि, सिप, सूचना, वस्तु र श्रममाथि नियन्त्रण कायम गर्नु र तिनका बजारका लागि सीमाविहीन विश्व निर्माण गर्नु भन्ने बुझ्नुपर्दछ ।

विश्व व्यापार सङ्गठनले पनि साम्राज्यवादी नीतिलाई अगाडि बढाउने एउटा महत्त्पूर्ण उपकरणको रूपमा काम गरिरहेको छ । विश्व व्यापार सङ्गठनले विश्व अर्थतन्त्रको सम्पूर्ण व्यापारमाथि एकाधिकार कायम गरेको छ । एक जना अमेरिकी कूटनितिज्ञको यो भनाइ मननयोग्य छ : “आज हामीसँग डब्लुटिओ, विश्व बैङ्क तथा आइएमएफको शक्ति छ र अमेरिकी कर्पोरेसन विश्वभरि छरिएका छन् ।

हामीले अन्य देशभित्र सैनिक पठाउनुपर्दैन । सैनिकको सट्टा हामी कर्पोरेसन पठाउँछौँ ।” विश्व व्यापार सङ्गठन आजको नवऔपनिवेशिकवादको सबैभन्दा प्रभावकारी हतियार भएको छ । यो साम्राज्यवाद जटिल प्रकारको छ ।

साम्राज्यवादको अर्को नाम युद्ध पनि हो भनेर लेनिनले परिभाषा गर्नुभएको छ । कतिपयले दोस्रो विश्वयुद्ध भएको ७० वर्षभन्दा बढी समय भइसकेको छ तर बजार, उपनिवेश, इलाकाका लागि पुँजीपतिका बिच प्रतिस्पर्धा भएर त्यो प्रतिस्पर्धाले विश्वयुद्धको रूप लिएको छैन । त्यसैले प्रथम विश्वयुद्ध पुँजीपतिले बढीभन्दा बढी उपविनेश कब्जा गर्ने होडमा भएको जस्तो स्थिति अहिले नभएको र यो अवधिमा कुनै विश्वयुद्ध पनि नभएको कुराले पुष्टि गर्छ कि लेनिनवादको औचित्य समाप्त भएको वा साम्राज्यवादसम्बन्धी लेनिनको व्याख्याको सान्दर्भिकता समाप्त भएको भनेर तर्क गर्ने गरेका छन् । ती तर्क वास्तविकतासँग मेल खाँदैन । यो ७० वर्षको दौरान पनि ठुला ठुला विनाशकारी युद्ध भएका छन् । ती युद्ध साम्राज्यवादी प्रभुत्व कायम गर्नका लागि नै भएका छन् । बितेका ३० वर्षको अन्तरालमा १४ ओटा युद्ध लड्ने क्रममा अमेरिकाले १४२ खर्ब डलरको सैन्य खर्च गरेको छ । रुस–युक्रेन युद्धमा अमेरिकाले गरेको खर्च यसमा जोडिएको छैन । दोस्रो विश्वयुद्ध भएदेखि आजसम्मको अवस्थामा आइपुग्दा सन् १९९१ मा भएको खाडीयुद्ध, कोसोभोयुद्ध, सन् २००१ को अफगानिस्तान युद्ध, सन् २००३ को इराकयुद्ध, सन् २००१ को लिबियायुद्ध, सन् २०१० को सिरियायुद्ध जस्ता कैयौँ युद्ध भएका छन् ।

यी युद्धका कारण मध्यपूर्वमा मात्रै १० लाखभन्दा बढी मान्छेको मृत्यु भएको छ । अहिले रुस तथा युक्रेनका बिच चलिरहेको युद्धका पछाडि पनि अमेरिकी साम्राज्यवादी स्वार्थले काम गरेको कुरा कसैबाट लुकेको छैन ।

लेनिनले साम्राज्यवादलाई मरणासन्न पुँजीवाद भनेर विश्लेषण गर्नु्भएको छ । कैयौँले यो तर्क पनि गर्ने गरेका छन् कि लेनिनले साम्राज्यवादलाई मरणासन्न पुँजीवाद भनेको झन्डै १०७ वर्षभन्दा बढी समय भयो तर पुँजीवाद मर्नुको सट्टा झन् झन् नयाँ रूपमा बलियो भएर आइरहेको छ । त्यसैले लेनिनको विश्लेषणले मेल नखाएको हुनाले लेनिनवाद निरर्थक भयो भन्ने दाबी गरिरहेका छन यद्यपि यो दाबीमा कुनै सत्यता छैन । सोभियत सङ्घ कम्युनिस्ट पार्टी (बोल्सेभिक) को इतिहासमा लेनिनको विचारको व्याख्या गर्दै प्रष्ट भनिएको छ कि “साम्राज्यवाद मरणशील पुँजीवाद हो तर मरणशील पुँजीवाद भए पनि स्वत: सर्वहारा वर्गको क्रान्तिबिना नै मरेर जान्छ र त्यो खतम हुन्छ भन्ने होइन । त्यसका लागि मजदुर वर्गको क्रान्ति आवश्यक पर्छ । क्रान्तिबिना पुँजीवादलाई खतम गर्न सकिन्न” ।

सन् २००८ मा अमेरिकाबाट सुरु भएर विश्वभरि विस्तार भएको पछिल्लो वित्तीय सङ्कटको प्रभाव अहिलेसम्म सकिएको छैन । २००८ देखि आजसम्म आउँदा अमेरिकाको निगम ऋण र २ ट्रिलियन डलरबाट बढेर ६ ट्रिलियन (अर्थात् ६० खर्ब) डलर पुगेको छ । अमेरिका आन्तरिक तथा बाह्य रूपमा सङ्कटग्रस्त बनेको छ । अमेरिकी साम्राज्यवादका तथा उत्पीडित राष्ट्रका बिचको अन्तरविरोध चर्को बढेर गएको छ । विश्व बहुध्रुवमा बाँडिएको छ । अमेरिकी साम्राज्यवादका विरुद्ध रुस, चीन, उत्तर कोरिया, ल्याटिन अमेरिका, अफ्रिकाका कतिपय मुलुक, मध्यपूर्वका देशले बेग्लाबेग्लै मोर्चाबाट अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्र्ष गरिरहेका छन् । अमेरिका रुस–युक्रेनबिचको युद्धमा पनि अप्ठ्यारोमा पर्दै गएको छ । अफगानिस्तानबाट हार खाएर फिर्ता हुनुपर्‍यो । मध्यपूर्वका तीन/चारओटा मुलुकबाहेकले अमेरिकालाई कडा टक्कर दिइरहेका छन । स्वयम् युरोपभित्र पनि अमेरिका विरुद्ध सङ्घर्र्ष भइरहेको छ । यी सबै घटनाक्रम समाजवादी क्रान्तिको पूर्व अवस्था (बेला) हो । त्यस मानेमा क्रान्तिका लागि वस्तुगत अवस्था धेरै नै अनुकूल भएर गएको छ ।

साम्राज्यवाद तथा सर्वहारा क्रान्तिका लागि लेनिनवादले नै पथप्रदर्शकको काम गर्दछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार