गिरीप्रसाद बुढा
संसारमा अनेक प्रकारका सिद्धान्त, आस्था र विश्वासका आधारमा थुप्रै पार्टीहरू निर्माण भएका छन् । ती भिन्न–भिन्न पार्टीहरू आफू सञ्चालन हुन सबैले आआफ्नै प्रकारका पार्टीपद्धति प्रयोगमा ल्याइरहेका हुन्छन् । नेपालमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) पनि आफ्नै पार्टीपद्धतिमा अगाडि बढिरहेको छ । यसरी नेकपा (मसाल) ले अपनाउँदै आएको पार्टीपद्धति कुनै व्यक्तिविशेषले आफ्नो मर्जीले बनाएको पार्टीपद्धति होइन भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
नेकपा (मसाल) ले अपनाउँदै आएको पार्टीपद्धति माक्र्सवादी–लेनिनवादी सिद्धान्तको आधारमा अगाडि बढेको सङ्घर्ष र क्रान्तिको लामो अनुभवबाट विकसित भएको पार्टीपद्धति हो । यही पार्टीपद्धतिको आधारमा सोभियत सङ्घको कम्युनिस्ट पार्टीले रुसमा समाजवादी ध्वजा फहराउन सफल भएको थियो भने यही पार्टीपद्धति प्रयोगमा लिएर संसारका कैयौँ कम्युनिस्ट पार्टीहरूले सबैखाले प्रतिक्रियावादी शक्तिलाई हायलकायल पारेका थिए । आज पनि संसारका कैयौँ पार्टीहरूले यही पार्टीपद्धति अपनाएर अगाडि बढिरहेका छन् । नेपालमा यसखालको पार्टीपद्धति अपनाएर अगाडि बढ्ने कार्य नेकपा (मसाल) ले गर्दै आएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अपनाउँदै आएको यस प्रकारको पार्टीपद्धतिमा कैयौँ कार्यकर्ता किन लामो समयसम्म टिक्न सक्दैनन् र पार्टीलाई तथानाम गाली गर्दै पार्टीबाट बाहिरिने गर्दछन् ? नेकपा (मसाल) को इतिहासमा यो पटक–पटक उठ्दै आएको प्रश्न हो । नेकपा (मसाल) को २०७६ जेष्ठमा सम्पन्न आठौँ महाधिवेशनपछि पनि कतिपय नेता–कार्यकर्ताहरू पार्टीबाट बाहिरिने क्रम चलिरहेको छ र पुनः यिनीहरूले पनि अगाडिका साथीहरूले जस्तै पार्टीलाई तथानाम गालीगलौज गर्ने गरिरहेका छन् । साथीहरूका यस प्रकारका पार्टी विरोधी स्वरले आम सर्वसाधारणमा केही हदसम्म भ्रम पैदा गर्नु स्वाभाविक छ । यस प्रकारका भ्रमलाई चिर्न हामीले ती साथीलाई राम्ररी सम्झाउन, बुझाउन जरुरी छ ।
हिजोआज पार्टी जिम्मेवारीबाट बाहिरिएका र कतिपय पार्टीभित्रै रहेका साथीहरूले पनि फेसबुक, अनलाइनलगायतका विभिन्न माध्यमबाट पार्टी विरोधी स्वर निकाल्न राम्रै अभ्यास गर्ने गरेको पाइन्छ । कैयौँ पार्टी विरोधी कायर व्यक्तिले त नक्कली फेसबुक आइडीको माध्यमबाट पार्टीका गोप्य सामग्री सार्वजनिक गर्नेजस्तो अत्यन्तै घृणास्पद र अक्षम्य अपराधसमेत गरिरहेका छन् । यसै सन्दर्भमा म ती साथीहरूलाई प्रश्न गर्न चाहान्छु, के साँच्चै पार्टी गलत भएको कारण तपाईहरूले यस्तो हर्कत गरिरहनुभएको छ ? के तपाईहरू एउटा पार्टीसदस्यले आत्मसात गर्नुपर्ने अधिकार, कर्तव्य र अनुशासन पालना गर्दागर्दै पनि पार्टी जिम्मेवारीबाट बाहिरिनुपरेको हो त ? तपाईहरूले पार्टीपद्धति पालना गर्दागर्दै, पार्टी बलियो बनाउने र पार्टीहित चिताउँदा–चिताउँदै पार्टीले तपाईहरूलाई जबरजस्ती हुत्याइदिएको हो त ? यदि त्यस्तै हो भने बाँकी हजारौँ कार्यकर्ताले अझै पनि पार्टीको झण्डा बोकिरहन कसरी सम्भव भइरहेको छ त ? के तपाईहरूबाहेकका ती हजारौँ कार्यकर्ता सबै निकम्मा र केही नबुझ्ने हुन् त ? के तपाईहरूले छातीमा हात राखेर यसको जवाफ दिन सक्नुहुन्छ ? मलाई लाग्छ, यसको जवाफमा तपाईहरूले नक्कली शब्दजालको खेती त गर्न सक्नुहोला, तर सच्चाइ बोल्न सक्नुहुने छैन ।
यही पार्टी हो, जसले तपाईहरूलाई माक्र्सवाद सिकायो । दुई/चार जनाको अगाडि उभिएर आफ्नो परिचय दिँदा मुटुको ढुकढुकी बढ्ने तपाईहरूलाई हजारौँका अगाडि हात हल्लाई–हल्लाई भाषण गर्नसक्ने बनायो । यही पार्टी हो, जसले कवि, कलाकार, लेखक वा नेताको रूपमा समाजमा तपाईहरूको पहिचान बनाइदियो । यही पार्टीले तपाईहरूलाई जीवन जिउनका लागि सङ्घर्षको पाठ सिकायो । तपाईहरूका अवचेतन मनमा चेतन भरिदियो । पार्टीले तपाईहरूलाई जन्माएर हुर्काउँदासम्म पार्टीप्रति तपाईहरूको खासै गुनासो थिएन भन्दा पनि हुन्छ, बरु पार्टीका लागि तपाईहरूले थुप्रै योगदान दिएको हुन सक्छ । पार्टीका लागि तपाईहरूले थुप्रै पसिना बगाएको हुन सक्छ । कुनै कुनै पलमा त तपाईहरूले पार्टीका लागि आफ्नो ज्यानलाई हत्केलामा राखेर लडेको पनि हुन सक्नु हुन्छ । अनि, तपाईहरू आफै पनि पार्टीको फलामे अनुशासन निर्माणको लागि अमूल्य योगदान दिनुभएको पनि हुन सक्छ । यसरी पार्टीका लागि तपाईहरूले के–कति योगदान दिनुभएको छ, यो आफैले आत्मसमीक्षा गरेपछि तपाईहरू स्वयम्लाई अनुभुति हुने विषय भयो ।
तर तपाईहरू आफैले भन्नुस त, पार्टीका लागि बगाएको तपाईहरूको यो पसिनाको मूल्यलाई किन सदावहार बनाउन सक्नुहुँदैन ? बेलाबेलामा किन तपाईहरूमा यसरी बैँसको उन्माद चल्ने गर्दछ ? हेर्नुस् साथी हो, यो बैँकिो उन्माद चलेको बेला हामी सम्हालिन सक्नुपर्दछ । यस्तो उन्मादको क्षणमा हामी सम्हालिन सकेनौँ भने हाम्रो गन्तव्यले सही लक्ष्य प्राप्त नगर्न पनि सक्दछ । यस्तै बैँसको उन्मादमा मदमत्त भएर बरालिएका विगतका धेरै साथीलाई हेर्नुस त, उहाँहरू अहिले कहाँ हुनुहुन्छ ? कतै तपाईहरू पनि क्रान्तिको नाममा त्यस्तै डम्पिङ साइडमा पुग्नलाई उत्प्रेरित त भइरहनु भएको छैन ? होइन भने हिजोका दिनमा जुन पार्टीले तपाईहरूलाई माक्र्सवादको पाठ सिकायो, पढायो र तपाईहरूलाई यो ठाउँमा उभिन सक्ने बनायो । उसैलाई खुइल्याउन यस्तो दुस्साहस किन गर्नुप-यो ?
म यो कुरा स्वीकार्दछु कि पार्टी जीवनमा तपाईहरूका चित्त नबुझेका थुप्रै कुरा अवश्य होलान् । हरेक व्यक्तिमा त्यो हुन्छ नै । हिजोआज तपाईहरूले पार्टीलाई दक्षिणपन्थी भन्दै खुबसँग प्रचार गरिरहनुभएको छ । मानौँ, तपाईहरूको बुझाइमा यो पार्टी दक्षिणपन्थी भयो अरे अथवा यो पार्टी बिग्रियो अरे ! तर दक्षिणपन्थी भएको पार्टीलाई वामपन्थी भएको पार्टी बनाउन र बिग्रेको पार्टीलाई सुधार्नका लागि के तपाईहरूले सही तरिका अपनाइरहनुभएको छ त ? म एकचोटी तपाईहरूलाई निधार खुम्चाएर सोच्न अनुरोध गर्दछु । तपाईहरूका जस्तै पार्टीभित्रका हजारौँ कार्यकर्ताका अनेकौँ विचार छन् । तर ती विचार प्रकट गर्न पाउँदैनौ भनेर पार्टीले कसैलाई भनेको छैन । हजारौँ प्रतिभाले प्रतिस्पर्धा गर्न पाउने र हजारौँ फूलहरूले फुल्न पाउने अधिकार तपाई–हामी सबै कार्यकर्तामा सुरक्षित छ ।
यो अधिकारलाई पार्टीले खोसेको अनर्गल प्रचारबाजीमा तपाईहरू किन लागिरहनुभएको छ ? यहाँसम्म कि पार्टीकै विरोध गर्ने मन भए पनि पार्टीले नगर कहिल्यै भन्दैन । तर पार्टीपद्धतिले यति मात्रै भन्दछ कि तिमीहरूले तिम्रा कुराहरू गर्ने ठाउँमा गर । तिम्रो जिब्रोलाई फलामे अनुशासनमा राख । एउटा कम्युनिस्ट पार्टीले यति भन्नु के गलत हो त ? साँच्चै तपाईहरूले पार्टीप्रति आस्था राख्नुहुन्छ भने तपाईहरूले पार्टीपद्धतिको यो कुरा बुझ्न किन तयार नहुने ? कि तपाईहरूले मार्तोभले भनेजस्तै सङ्गठनात्मक रूपले खुकुलो पार्टी मन पराउनु हुन्छ ? अथवा तपाईहरू पार्टी अनुशासन नमाने पनि हुने पार्टीसदस्य बन्न रुचाउनु हुन्छ ?
एउटा कम्युनिस्ट पार्टीको सदस्यले त लेनिनले भनेजस्तै पार्टी अनुशासन मान्नैपर्ने हुनुपर्छ होला नि ! लेनिनले भनेजस्तै कुनै न कुनै सङ्गठनमा बसेर काम गर्नुपर्छ होला नि ! अनि, पार्टीको कार्यक्रमलाई मान्ने र पार्टीलाई आर्थिक सहयोग गर्ने हुनुपर्छ होला नि ! यस प्रकारको पार्टीपद्धतिलाई आत्मसात गर्न नसक्नेले पार्टी सिद्धियो, पार्टी बिग्रियो भनेर चिन्ता गरेको स्वाङ किन पार्नुप-यो ? अझ कैयौ स्थानमा त मोहनविक्रम सिंहले नेकपा (मसाल) सिद्धायोसम्म भन्न पछि पर्नुभएको छैन तपाईहरू ! म तपाईहरूलाई सम्झाउन चाहान्छु, कृपया तपाईहरूले नेकपा (मसाल) लाई मोहनविक्रम या कुनै एउटा व्यक्तिको बिर्ताको रूपमा बुझ्ने कमजोरी नगर्नुस् । नेकपा (मसाल) मा वर्षाैंदेखि पार्टीका हजारौँ नेता–कार्यकर्ता तथा पार्टी शुभचिन्तकको पसिना र योगदान मिसिएको छ । तसर्थ नेकपा (मसाल) मा महामन्त्री मोहनविक्रम सिंह र चित्रबहादुर केसीको जुन हक छ, त्यही हक एउटा कन्दराको सेलमा रहेर काम गरिरहेको पार्टी सदस्यको पनि छ ।
त्यसैले पार्टी किन अपेक्षित रूपमा अगाडि बढ्न सकेन, पार्टी किन कमजोर भएको छ भन्ने सवालमा मोहनविक्रम सिंह वा अरू कुनै व्यक्तिविषेशलाई दोष दिएर तपाईहरू किन व्यर्थै भ्रम छर्ने कार्य गरिरहनुभएको छ ? पार्टी सिद्धाउने काम त यताउता सर्वत्र पार्टीको विरुद्धमा जिब्रो फट्कार्दै हिड्नेहरूबाट पो हुन्छ होला त ! पार्टी कमजोर त पार्टीको नीति कार्यक्रम र अनुशासन नमान्ने मान्छेबाट पो हुन्छ होला त ! पार्टी सिध्याउने काम त मुखुण्डो लगाएर पार्टीको गोप्यता सार्वजनिक गर्ने धन्दामा संलग्न सिआइडी प्रवृत्तिमा चलिरहेका व्यक्तिबाट पो हुन्छ होला त ! यस्तो काम तपाईहरूबाट भएको छ कि मोहनविक्रम सिंहबाट ? यो कुरा तपाईहरू आफैले आफ्नै मुटु छामेर हेर्न सक्नुहुन्छ ।
तपाईहरूको नजर यति तलसम्म गिरिरहेको छ कि पार्टी नीति र अनुशासनलाई इमान्दारीतापूर्वक पालना गरिरहेका कार्यकर्तालाई समेत आसेपासे, पुजारी, चाटुकार आदि उपमा दिन पछि परिरहनु भएको छैन । सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको उपहास त तपाईहरू नै गरिरहनुभएको छैन र ? आज तपाईहरूले नक्कली नामबाट व्यर्थैको बकबास किन गरिरहनुभएको छ ? आज तपाईहरूले वास्तविक नामबाट पार्टीभित्र खुलेर बहस गर्नलाई किन मुटु कमाइरहनु भएको छ । किन तपाईहरू कुखुराको चल्लाको जस्तो सानो मुटु लिएर लुकीछिपी पार्टी विरोधी गतिविधिमा लागिरहनुभएको छ ? यदि तपाईहरू साँच्चिकै सही मानिस हुनुहुन्छ भने छाती चौडा पारेर पार्टीभित्र खुला बहसमा किन आउन सक्नुहुँदैन ?
हेर्नुस् साथीहरू, तपाईहरूको यो कायरताले अर्थात् तपाईहरूको यो फेसबुकको नक्कली नामले तपाईहरूको खराबी र लाजलाई कदापि छोप्न सक्ने छैन भन्ने कुरा तपाईहरूले हेक्का राख्न जरुरी छ । यो पार्टीमा वर्षाैंदेखि पसिना बगाउँदै आएको एक इमान्दार पार्टी कार्यकर्ताको नाताले म दाबीसाथ भन्न सक्छु कि खासमा पार्टी सही छ । तर तपाईहरू गलत हुनुहुन्छ । तपाईहरूका बुझाइ गलत छ । तपाईहरूमा कुण्ठा छ, इष्र्या र वैमनस्यता छ । तपाईहरूको शरीर निम्न–पुँजीवादी प्रवृत्ति र महत्त्वाकाङ्क्षी रोगले गल्दै गइरहेको छ । म छिटोभन्दा छिटो तपाईहरूलाई यो रोगबाट मुक्त हुने उपायमा लाग्न सुझाव दिन चाहन्छु । तपाईहरूले जतिसुकै जालझेल र झुटको खेती गरेता पनि कसैले पत्याउनेवाला छैन । किनकि तपाईहरू गलत भएको कुरा नै सत्य हो । अनि, पार्टी सही भएकै कुरा नै सत्य हो । पार्टी सत्य र सही बाटोमा नै हिँडिरहेको छ भन्ने कुरा नेकपा (मसाल) को आठौँ महाधिवेसनको चित्रले पनि प्रष्ट पार्दछ ।
नेकपा (मसाल) को इतिहासले आठौँ महाधिवेशनको चरण पार गरिसकेको छ । देशैभरिका पार्टीसदस्य मिलेर आठौँ महाधिवेशन सम्पन्न गरेका हुन । कुनै पनि पार्टीसदस्य यो महाधिवेशनमा आफ्ना विचार प्रकट गर्न तथा छलफलमा भाग लिनबाट बञ्चित भएका थिएनन् । हरेकले चुन्ने र चुनिने अधिकार उपयोग गरेका थिए । वास्तवमै यो आठौँ महाधिवेशनले उच्च जनवादको प्रयोग गर्न सफल भएको कुरा दिनको घामजस्तै छर्लङ्ग छ । यही महाधिवेशनको आदेशलाई शीरोधार्य गर्दै इमान्दार कार्यकर्ताहरू मैदानमा पसिना बगाइरहेका बेला केही नक्कली मित्रहरूले महाधिवेशनको खिल्ली उदाउँदै मुतको न्यानोमा सपना देखिरहनुभएको छ ।
आज पार्टीले जेजति नीति तथा कार्यक्रम लागु गर्दै छ, त्यो देशभरिका सम्पूर्ण पार्टीसदस्यले तयार पारेको साझा नीति तथा कार्यक्रम हुन् । अब मैदानमा रहेका मसालका कार्यकर्ताहरू कोही अल्पमत र कोही बहुमत पक्षका छैनन् । सबै एउटै पक्षमा छन्, त्यो हो– मसाल पक्ष । तर पार्टीपद्धति स्वीकार्न नसक्ने केही साथीहरू महाधिवेशनले मेटाइसकेको अल्पमत र बहुमतको भावनालाई बोकेर आत्मरति लिइरहनुभएको छ । ए साथीहरू हो, म तपाईहरूलाई यस प्रकारका निरर्थक आत्मरतिमा नरमाउन सल्लाह दिन चाहन्छु । किनकि, नेकपा (मसाल) ले जन्मदेखि नै पार्टीपद्धतिमा बोल्सेभिक स्प्रित कायम गर्दै आएको छ ।
तपाईहरूलाई थाहै होला, पार्टी महाधिवेशनका फैसला र पार्टी नियमावली उल्लङ्घन गर्ने तथा नमान्नेमाथि बोल्सेविक पार्टीले कस्तो तरिका अपनाउने गर्दथ्यो ? बोल्सेभिक पार्टीको इतिहास हे-यौँ भने देख्न सक्छौँ कि यस प्रकारले पार्टी कार्यक्रम तथा विचार नमान्ने र यसको विरोध गर्दै हिड्ने ट्राटस्की, जिनोभियेब, कामेनेभ, सोकोलिनकोभजस्ता व्यक्तिहरू अन्ततः रद्दीको टोकरीमा फ्याँकिएका थिए । नेकपा (मसाल) ले अपनाउने पार्टीपद्धति पनि यही हो ।
त्यसैले पार्टीपद्धतिभन्दा बाहिर रहेर कसैले पनि कुकार्यको मार्गमा नहिडौँ । सबै साथीहरूले पार्टी पद्धतिमा रहेर पार्टी र क्रान्तिका निम्ति पसिना बगाऊ । हामी टुटफुट र विभाजनमा होइन, एकतामा रमाउने गरौँ । हामीले आफूलाई होइन, विरोधीलाई कमजोर बनाउने राजनीति गरौँ । हाम्रो पार्टीको सर्वाेच्च अङ्ग आठौँ महाधिवेशनले देखेको सपनालाई पूरा गर्न हामी सबै एकढिक्का बनौँ ।