अन्तर्राष्ट्रिय नेपाली एकता समाजको ज्ञापन पत्र यस प्रकार रहेको छ :

“गणतान्त्रिक नेपालमा प्रधानमन्त्री ज्यूको सुखद र सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
संविधान सभाबाट निर्मित नेपालको संविधानको व्यवस्थाअनुसार सार्वभौम जनताले निर्वाचनको माध्यमबाट सार्वभौमसत्ताको अभ्यास र शासनमा सहभागी भई आफूमाथि स्वयं आफूले आफ्ना प्रतिनिधिद्वारा शासन गर्ने मान्यतालाई राज्यले अङ्गीकार गरेको अवस्था छ । देशमा रोजगारीको अवसर नहुनुले लाखौँलाख नेपाली युवाहरू (नेपाली नागरिक) विदेशका विभिन्न मुलुकमा गई दु:ख–कष्टपूर्वक आयआर्जनमा सहभागी भई त्यहाँ रहन, बस्न बाध्य हुनुपरेको तथ्य सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ ।
विदेशमा रहेका त्यसप्रकारका लाखौँलाख नेपाली नागरिकलाई नेपालमा हुने निर्वाचनको सन्दर्भमा विदेशबाट नै मतदान गर्न पाउने लगायतको उनीहरूको अधिकारको पक्षमा हाम्रो सङ्गठनले दशकौँ अगाडिदेखि निरन्तर सङ्घर्ष गर्दै आइरहेको तथ्य सार्वजनिकरूपमा सबैको जानकारीमा नै छ । उनीहरूको सहभागिता बिनाको निर्वाचनले वास्तविक प्रतिनिधित्वलाई जनाउन सक्दैन । निर्वाचन सम्बन्धी उनीहरूको त्यसप्रकारको अधिकारको पक्षमा आवश्यक नीति र कानुनको प्रबन्ध गरी उनीहरूलाई निर्वाचनसम्बन्धी आफ्नो संवैधानिक अधिकारको उपभोग र प्रचलन गर्न पाउने व्यवस्था मिलाउनू भनी सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेशको सम्मान र पालना गर्नु नेपाल सरकारको संवैधानिक कर्तव्य नै हुन आउँछ । त्यसमा पनि विदेशमा रहेका नेपालीहरूको निर्वाचनसम्बन्धी हकको विषयमा सर्वोच्च अदालतबाट २०७४ चैत्र ७ गते जारी परमादेश (०७३–ध्इ–११४९) को सन्दर्भमा निर्वाचन आयोगले सरकारद्वारा आवश्यक  नीति र कानुनको प्रबन्ध गरेमा आयोगले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्ने कुरा बताउँदै आएको तथ्य पनि स्मरण गराउन चाहन्छौँ ।
अत: विदेशस्थित नेपाली नागरिकहरूको हकमा विदेशमा रहेको अवस्थामा पनि विदेशबाट नै नेपालमा हुने निर्वाचनमा सहभागी हुन पाउने र निर्वाचन सम्बन्धी मताधिकारलगायतको हक–अधिकारको प्रयोग गर्न पाउने व्यवस्था मिलाउनका लागि आवश्यक पर्ने नीति निर्माण र कानुनको तर्जुमालगायत अन्य जे गर्नुपर्ने हो, गरी संवैधानिक व्यवस्थाको पालना र सम्मानित सर्वोच्च अदालतको आदेश एवं विदेशस्थित नेपाली नागरिकको मताधिकारलगायतको अधिकारलाई सम्मान र सम्बद्र्धन गरी व्यवहारमा प्रयोग गर्ने वातावरण निर्माणका लागि सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष हार्दिकता पूर्वक जोडदार माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार