प्रलोभन र भ्रम नफैलाउन एमालेलाई राजमो नेता ढुंगानाको चेतावनी

निसीखोला । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला सम्मन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले अनावश्यक प्रलोभन तथा भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ ।

राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाद्वारा शुक्रबार आयोजित बृहत आम सभामा बोल्दै ढुंगानाले एमाले लगायतका अन्य दलले जनताको कमजोर राजनीतिक चेतनाको फाइदा उठाउँदै भ्रम छर्ने र प्रलोभनमा पार्ने काम गरेको आरोप लगाउनुभयो ।

पछिल्लो समयमा एमालेले प्रलोभन दिने, अनावश्यक झुटा आश्वाशन दिने र पार्टी प्रवेशको नाटक गरेको भन्दै यसो नगर्न उहाँले चेतावनी दिनुभयो । सो अवसरमा उहाँले एमसीसी नेपाली राष्ट्रिय स्वाधिनताको विपरित रहेको भन्दै यसको खारेज नगरे सशक्त आन्दोलनमा जाने बताउनुभयो ।

कार्यक्रमा बोल्दै राजमोका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले एमसीसीविरुद्धको आन्दोलन, पार्टीको आगामी कार्यक्रम, जनजीविकामा राजमोको भूमिकाको बारे प्रकाश पार्नु भएको थियो । उहाँले आगामी चुनावमा राजावादी र प्रतिगमनकारी एमालेसँग कुनै तालमेल नहुने स्पष्ट पार्नुभयो ।

प्रदेश सभाका सदस्य खिमविक्रम शाहीले विकास निमार्णको कार्यमा आफूले पाएको अधिकारलाई समान हिसाबले वितरण गरेको र अरुले जस्तो ‘मैले गरे मेरो पहलमा भयो’ भनेर प्रचार गर्ने र प्रलोभन दिने काम नगरेको बताउनुभयो । उहाँले आफूलाई त्यस्तो गर्न नैतिकताले पनि नदिने र आफू सधैँ जनतालाई केन्द्रमा राखेर अगाडि बढ्ने धारण राख्नुभयो ।

कार्यक्रमको बिच बिच रक्तिम अभियानका कलाकारहरुले एमसीसीको विरुद्धमा नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम राजमो निसीखोला गाउँपालिकाका अध्यक्ष थम्मन घर्तीको अध्यक्षता, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष जुनविक्रम शाहीको स्वागत मन्तव्य तथा राजमो निसीखोलाका सचिव मिलन हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार