रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश

रौतहटमा विभिन्न पार्टी परित्याग गरी करिब सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवप्रवेशीहरू राजमोमा प्रवेश गरेका हुन् ।

पार्टीप्रवेशका लागि २०७८ पुस १५ गते राजपुर नगरपालिकाको पानीट्याङ्कीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि दुर्गा पौडेलले राष्ट्रिय जनमोर्चा नै देशको राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने एक मात्र पार्टी राजमो भएको बताउनुभयो ।

‘राष्ट्रिय जनमोर्चाले निरन्तर राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गरिरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘२०६२–६३ सालको जनआन्दोलनद्वारा प्राप्त गणतन्त्र र धर्म निरपेक्षता अहिले पुनः खतरामा पर्न थालेकाले त्यसको विरुद्ध सिङ्गो नेपाली जनता एकजुट हुनुपर्ने बेला आएको छ ।’

उहाँले एम.सी.सी. र सङ्घीयताले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा स्वतन्त्र परराष्ट्र नीति कुण्ठित हुने दाबी गर्दै त्यसका विरुद्ध नेपाली जनताले बेलैमा आवाज उठाउनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

मधेसमा मधेसवादी दलहरूले मधेसी जनताका मुद्दाहरूमाथि खेलवाड गरिरहेको पनि उहाँको भनाइ थियो ।

‘तपाईंहरूले अहिलेसम्म मधेसका धेरै पार्टीलाई समर्थन दिएर हेर्नुभयो’ सांसदसमेत रहनुभएकी पौडेलले भन्नुभयो– ‘अब राष्ट्रिय जनमोर्चामा रहेर सङ्घर्ष गर्नका लागि तयार हुनुहोस् । हामी तपाईहरूको संविधादप्रदत्त मागका लागि सङ्घर्ष गर्ने छौँ ।’

राजमो कार्यक्रममा राजमो केन्द्रीय सचिव हिमलाल पुरी, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलम, राजमो केन्द्रीय सदस्य देवी शर्मा, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य बालकृष्ण आचार्य र नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराईले पनि सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा राजमो केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, राजमो २ नं. प्रदेश समितिका कोषाध्यक्ष शेरबहादुर कार्की, प्रदेश सदस्य हरि सापकोटा, हेमा केसी, तारादेवी क्षेत्री, देवी आचार्य, राजमो बाराका अध्यक्ष जीवन भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

राजमो नेता हरिकिशोर महतोको अध्यक्षता तथा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य हृदयनारायण शाहको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो । राजमो नेता लक्ष्मीनारायण श्रीवास्तवले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

  

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार