काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीमा फुट भएको भनेर प्रतिगामी तत्वहरुले हल्ला मच्चाएको बताएको छ । बुधबार एक वक्तव्य प्रकाशित गरी महासचिव मनोज भट्टरले राजमो राजनीतिक एवम् सांगठिनक रुपमा एक ढिक्का रहेको स्पष्ट पार्नुभएको छ ।
साथै, उहाँले पार्टीको साधारण सदस्यसमेत नरहेका केही व्यक्तिले राष्ट्रिय जनमोर्चा नामको दुरुपयोग गरेको भन्दै आपत्तिसमेत जनाउनुभएको छ । विज्ञप्तिमा पार्टीमा फुट हुने विभिन्न आधारहरु प्रस्तुत गर्दै पार्टीका केन्द्रीय समिति, तल्ला समिति वा साधारण सदस्यसमेत कोही पनि सो समूहमा सामेल नभएको अवस्थामा सञ्चारमाध्यमलाई स्पष्ट बुझेर समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभएको छ ।
राजमोले केही समयअघि सुदूरपश्चिमको एउटा अराजक समूह राष्ट्रिय जनमोर्चाकै नामबाट माओवादीमा विलय भएको स्मरण गर्दै अहिले गठन भएको कथित समूह पनि पार्टीको क्रान्तिकारी विचारमाथि आक्रमण गर्न र कुनै अवसरवादी समूहमा गएर विलय हुने बताएको छ ।
वक्तव्यमा भनिएको छ :
‘हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा फुटेर राष्ट्रिय जनमोर्चाको बेग्लै कथित केन्द्रीय समन्वय समिति गठन भएको भनेर कतिपय सञ्चार माध्यमले एक पक्षीय रुपमा गरेको समाचार सम्प्रेषणले जनस्तरमा भ्रम उत्पन्न भएको स्थिति तथा यही भ्रमपूर्ण अवस्थााको मौका छोपेर प्रतिगमनका पक्षधर अझ विशेषतः एमालेले यो भ्रमलाई थप फैलाउन गरिरहेको प्रयत्नका सम्बन्धमा पार्टीको धारणा स्पष्ट पार्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१. हाम्रो पार्टी राष्ट्रिय जनमोर्चामा फुट भएको वा पार्टी टुक्रिएको त्यसबाट मूल नेतृत्व कमजोर भएको भनेर विभिन्न सञ्चार माध्यममा प्रेषित समाचार आधारहिन, कपोलकल्पीत, तथ्यहिन तथा झुठो भएको कुरा केही तथ्यहरुको सामान्य उदाहरणबाट पनि प्रष्ट हुने छ । कुनै पनि पार्टी सामान्यतया दुई प्रकारको अवस्थामा विभाजनमा जाने गरेको पाईएको छ ।
प्रथमतः पार्टीको केन्द्रीय समितिको बहुमत, अल्पमत वा केही संख्याले मूल संस्थापन पक्षबाट अल्गिएमा वा तलैबाट बहुमत स्थानीय समिति वा पार्टीको सम्पूर्ण सदस्य संख्याको निश्चित प्रतिशतले मूल नेतृत्वबाट अल्गिएर बेग्लै संगठन खडा गरेको अवस्थालाई पार्टीमा विभाजन भएको रुपमा हेर्नु पर्दछ ।
तर राष्ट्रिय जनमोर्चाको नामबाट गरिएकोे कथित राष्ट्रिय भेलामा हाम्रो पार्टीको केन्द्रीय, प्रादेशीक, स्थानीय समितिका कुनै पनि सदस्य वा सम्पूर्ण सदस्य संख्याको एउटा निश्चित प्रतिशत सदस्य समेत सम्मिलित नभएको अवस्थामा राष्ट्रिय जनमोर्चामा फुट भयो भन्ने कुरा वहियात तथा निराधार हो । हाम्रा विरुद्धको प्रोपोगाण्डा (प्रचार युद्ध) मात्र हो ।
पार्टी राजनीतिक, सैद्धातिन्क तथा सांगठनिक रुपले एकढिक्का छ । प्रतिगामीहरुले फैलाइएका भ्रममा नपर्न हामी सम्पूर्ण शुभचिन्तक तथा आम न्यायप्रमी जनसमुदायसँग अपील गर्दछौँ । हाम्रो पार्टीको नाममा विभिन्न अनुशासनविहीन अराजक तथा पार्टीबाट धेरै पहिले कारवाही भैसकेका तथा निष्कासीत गैरपार्टी सदस्यहरुले गरेको भेलाका सम्बन्धमा पार्टीका जिम्मेवार पदाधिकारीहरु अध्यक्ष, महासचिव वा प्रवक्तासँग सत्यतथ्य नबुझी एकतर्फी रुपमा समाचार सम्पे्रषण गर्ने कतिपय जिम्मेवार सञ्चार माध्यमहरुको कार्यप्रति पनि दुःख व्यक्त गर्दछौँ ।
२. राष्ट्रिय जनमोर्चा क्रान्तिकारी राजनीति, विचार तथा सिद्धान्तसहित निर्वाचन आयोगमा दर्ता छ । कुनै पनि पार्टीको नाम सम्बन्धित पार्टीको अनुमतिविना वा त्यो पार्टीको वैधानिक व्यवस्था वा देशको प्रचलित कानून बाहेकका अन्य कसैले अनधिकृतरुपमा प्रयोग गरी राजनीतिक गतिविधि गर्ने वा भेला गर्ने अधिकार हुँदैन र छैन ।
त्यसो गर्नु सम्बन्धित पार्टीको नाम तथा उसको लोकप्रियता दुरुपयोग गर्न खोज्नु हो । हाम्रो पार्टीको कुनै तहमा नभएका, सदस्य समेत नरहेका व्यक्तिहरुले राष्ट्रिय जनमोर्चा नामबाट त्यसरी भेला गर्ने कार्य गर्नु सरासर हाम्रो पार्टीको नामको दुरुपयोग गर्नु हो । राष्ट्रिय जनमोर्चाको नामलाई दुरुपयोग गरेर आम जनसमुदायले हाम्रो पार्टीलाई दिँदै आएको सहयोगलाई समेत दुरुपयोग गर्न सक्ने सम्भावनालाई ध्यान दिँदा सतर्कताका लागि समेत अनुरोध गर्दछौँ ।
३. इतिहासमा पटक पटक विभिन्न अवसरवादी तथा पदलोलुपहरुले राष्ट्रिय जनमोर्चाको लोकप्रियतालाई भजाएर राष्ट्रिय जनमोर्चाको नामबाट विभिन्न समूह उपसमूह बनाएर दक्षिणपन्थी तथा अवसरवादी पार्टीहरुसँग सत्ता तथा पदको मोलमोलाई गर्ने गरेको कटु यथार्थता रहेको छ ।
आफ्ना तुच्छ स्वार्थका लागि एउटा क्रान्तिकारी विरासत बोकेको जनमोर्चाको नामबाट दक्षिणपन्थी, संशोधनवादी शक्तिहरुमा विलय हुने गरेका छन् । केही समय अगडि मात्र सुदूरपश्चिममा हाम्रा विरुद्ध हाम्रो नामबाट खडा गरिएको राष्ट्रिय जनमोर्चालाई माआवोदीमा विलय गराएर आफनो छुद्र स्वार्थ पूरा गर्ने काम हुनु त्यसको ज्वलन्त उदाहरण हो ।
ठीक त्यसै प्रकारले हामीमाथि आक्रमण गर्न अवसरवादी, अराजक, अनुशासनविहिन तथा प्रतिगमन उन्मुखहरुले हाम्रो नामको प्रयोग गरे पनि अन्ततः उनीहरुले पनि राष्ट्रिय जनमोर्चाको क्रान्तिकारी विरासतलाई खतम गर्नका लागि नै त्यसो गरिरहेका छन् । उनीहरुको कुनै ठोस राजनीतिक, सैद्धातिन्क तथा वैचारिक धरातल नभएकोले चाँडै कुनै न कुनै अवसरवादी धारामा विलय हुने कुरामा शंका छैन ।
४. ने.क.पा. (एमाले) ले हाम्रो पार्टीमा फुट भएको स्याल हुइयालाई अभियानको रुपमा चलाएको देखिन्छ । एमाले तात्कालिन राजनीतिमा प्रतिगमनको बाटोमा हिँडेको छ । ओलीले लादेको प्रतिगमनका विरुद्ध तथा नेपाललाई प्रतिगामी दिशामा लैजान गरिरहेको प्रयत्नका विरुद्ध राष्ट्रिय जनमोर्चा दृढतापूर्वक उभिदै आएको छ । प्रतिगमनलाई परास्त गर्न संघर्ष, पाँच दलीय गठबन्धनको निर्माण तथा त्यसको निरन्तरतामा जोड दिइरहेको छ ।
पाँच दलीय गठबन्धनका कारण एमालेलाई राजनीतिकरुपले धक्का पुग्दै आएको छ । पाँच दलीय गठबन्धनको परिणाम एमालेको नेतृत्वमा रहेको चारवटा प्रदेश सरकारबाट एमाले हट्नु प-यो । ओली नेतृत्वको सरकारको पतन भयो । राष्ट्रिय सभाको निर्वाचनमा नराम्रोसँग पराजित हुनु परेको छ । जसले गर्दा एमालेले पाँच दलीय गठबन्धनमा आबद्ध सबैमाथि प्रहार गरिरहेको छ ।
तर हाम्रो नामबाट गठित कथित केन्द्रीय समन्यव समिति र ओलीका बीच प्रतिगमनलाई हेर्ने सवालमा करिब करिब समानता रहेको कारण नै एमालेले कथित केन्द्रीय समन्वय समितिलाई समर्थन गर्दै फुटको हल्ला मच्चाएर हामीसहित पाँच दलीय गठबन्धनमाथि प्रहार गरिरहेको छ । त्यसैले प्रतिगामी कोणबाट कथित केन्द्रीय समन्वय समितिलाई भैरहेको समर्थन तथा हामीमाथि भैरहेको आक्रमणबाट पनि उनीहरुको प्रतिगमन उन्मुख कित्ता झन् प्रष्ट भएको छ ।
त्यसका साथै प्रतिगमनकारी शक्तिहरुले हामीलाई कमजोर बनाउन गरिरहेका षडयन्त्रहरु पनि फर्दाफास हुँदै गैरहेका छन् । अन्तिममा हाम्रा विरुद्धका रचिएका यी सबै षड्यन्त्रहरुलाई संघर्षको माध्यमबाट जवाफ दिँदै जाने र त्यसलाई पराजित गर्ने दृढता पनि व्यक्त गर्दछौं ।’
मितिः २०७८ माघ १९ गते
मनोज भट्ट
महासचिव