पार्टी विरुद्ध प्रकाशित कतिपय लेखको सम्बन्धमा स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएको छ । विभिन्न सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा नेकपा (मसाल) को विरोधमा एक प्रकारको बाढी नै आएको छ भन्दा अतिशयोक्ति नहोला । आवश्यकताअनुसार पार्टीले ती सबै विरोधको सामना गर्दै आएको छ र गर्दै जाने छ । यो लेखलाई तीन जना कमरेडले फरक फरक मिति, शीर्षक र पत्रिका तथा अनलाइनमा लेखेका लेखमा ब्यक्त विचारलाई स्पष्ट पार्न केन्द्रित गर्ने प्रयास गरेको छु ।
आठौँ महाधिवेशनको विषयमा का. विमल शर्माले शृङ्खलाबद्ध रूपमा लेख प्रकाशन गरिरहनुभएको छ । मैले यो लेख लेख्दासम्म आठौँ महाधिवेशनको विषयमा सिलसिलाबद्ध रूपमा क्रमशः गर्दै उहाँका सातओटा लेख प्रकाशन भइसकेका छन । आठौँ महाधिवेशनको विषयमा सिलसिलाबद्ध रूपमा आइरहेका लेखलाइ हेर्दा उहाँले त्यस विषयमा विद्यावारिधी (पिएचडी) नै गर्न थालेको भन्ने भान हुँदै छ । आठौँ महाधिवेशनको विषयमा विद्यावारिधी (पिएचडी) गर्न थाल्नुभएकोमा उहाँलाई धन्यवाद तथा शुभकामना छ । तर स्मरण रहोस्, सिलसिलाबद्ध रूपमा आठौँ महाधिवेशनको विरुद्ध आइरहेका लेखमा कुनै नयाँ सृजनात्मक वा रचनात्मक विषयवस्तु छैन । ती लेखमा झन्डै साढे तीन वर्षअघि देखि लगातार उहाँहरूले दोहोर्याउँदै आएका बासी कुराको रटान र पुनरावृत्ति मात्र छ ।
ती लेखहरू एक प्रकारले नेकपा (मसाल), अझ त्यसमा पनि महामन्त्री का. मोहनविक्रम सिंह तथा चित्रबहादुर केसीलगायतका थुप्रै कमरेडका विरुद्ध ‘गालीपुराण’ मात्र हुन् । साढे तीन वर्षको ऊर्जावान तथा महत्त्वपूर्ण समय गालीगलौज तथा ‘गालीपुराण’ लेख्नमा बिताएको देख्दा उहाँको स्तरउपर दया लागेर पनि आउँछ । साढे तीन वर्षको अवधि र समय कुनै चानचुने समय होइन । उहाँले यो अवधिमा दूरगामी प्रकारको लाभ हुने नयाँ नयाँ विषयमा अनुसन्धान गरेर देशको कम्युनिस्ट आन्दोलनलाई समृद्ध पार्न वा योगदान दिन सक्नुहुन्थ्यो । पार्टीमा बस्दाका सैद्धान्तिक तथा राजनीतिक विमतिका विषयलाई पनि माक्र्सवादी–लेनिनवादी धरातलबाट व्याख्या–विश्लेषण गरेर वाम आन्दोलनलाई नयाँ खुराक दिन सकिन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा थोरै समयमा पनि नेताबाट ठुला ठुला बौद्धिक उपलब्धि प्राप्त भएका छन् ।
का. युवराज पन्थीले कार्ल माक्र्सद्वारा लिखित पुँजीको खण्ड १, २ र ३ लाई हिन्दीबाट तीन वर्षको अवधिमा (२०६४ असोजदेखि सुरु गरेर २०६७ सालभित्र) नेपालीमा अनुवाद गर्नुभयो । पुँजीको नेपाली अनुवादले वाम आन्दोलनलाई महत्त्वपूर्ण योगदान पुगेको छ । “साम्राज्यवाद ः पुँजीवादको चरम अवस्था” नामक महान् रचना लेनिनले १७ महिनामा तयार पारेको देखिन्छ । त्यो रचनाले माक्र्सवादको विकासमा नयाँ आयाम थप्ने काम गरेको छ । तर का. विमल शर्माले साढे तीन वर्षको समय गालीगलौज तथा चरित्रहत्यामा व्यतित गर्नुभयो । गालीगलौज र चरित्रहत्याको राजनीतिले नेकपा (मसाल) को नाम दुरूपयोग गरेर उनीहरूले गठन गरेको कथित केन्द्रीय समन्यव समितिलाई दिशानिर्देश गर्न सक्दैन । आफ्नो समूहलाई दिशानिर्देश गर्नका लागि नेकपा (मसाल) भन्दा फरक तथा उच्चस्तरको राजनीतिक धरातलमा खडा गर्नुपर्ला । हामीभन्दा राजनीतिक, साङ्गठनिक तथा सैद्धान्तिक रूपले फरक देखाउने सुविधा अब नेकपा (मसाल) लाई गाली गरेर त प्राप्त हुन सक्दैन ।
२०७८ माघ १२ गतेको हाँक साप्ताहिकमा का. रामबहादुर बुढाको “असहिष्णुताको पराकाष्ठा” शीर्षकको लेख प्रकाशित गरेको भनिएको छ । लेखमा व्यक्त भएका धारणामाथि केही विचार गर्नुपर्ने आवश्यकता छ । सो लेखमा का. बुढाले नेकपा (मसाल) र महामन्त्री का. मोहनविक्रम सिंह फरक मतप्रति हमेसिा निकै असहिष्णु रहने गरेको आरोप लगाउनुभएको छ । त्यो आरोपलाई पुष्टि गर्न का. मोहनविक्रम सिंहले युगदर्शन साप्ताहिकलाई दिएको अन्तर्वार्तालाई प्रमाणको रूपमा अगाडि सार्नुभएको छ ।
महामन्त्रीको भनाइ त प्रष्ट छ : चरम प्रकारको अराजकतावादी र अनुशासनविहिन प्रवृत्तिका कारण कतिपयलाई पार्टीबाट निष्काशित गर्नुपर्यो । अर्कोतिर, प्रतिगमन उन्मुख राजनीतिक कार्यदिशा समातेका कारण कतिपय हाम्रो पार्टीबाट फुटेर गएका थिए भनिएको छ । यति कुरा प्रष्ट हुँदाहुँदै पनि विचारको आधारमा कारबाही गरिएको कुरा स्वयम् महामन्त्रीले अहिले आएर स्वीकार गर्नुभयो भन्नुको कुनै अर्थ छैन ।
पार्टीमा विद्यमान समस्याका विषयमा मोहनविक्रमले युगदर्शन साप्ताहिकलाई दिएको अन्तर्वातामा अन्तर्वार्तामा “एकातिर, चरम प्रकारको अराजकतावादी र अनुशासनविहीन प्रवृत्ति र अर्कोतिर, प्रतिगमनउन्मुख राजनीतिक दिशा समातेका हुनाले उनीहरूलाई पार्टीबाट निष्काशित गर्नुपरेको थियो वा उनीहरू हाम्रो पार्टीबाट फुटेर गएका थिए” भन्ने विचार प्रकट गर्नुभएको छ । त्यसलाई आधार बनाएर आफूसहितका माथि भएको कारबाही अनुशासनको कारणले नभएर फरक मत राखेका कारण भएको थियो भन्ने कुरा महामन्त्रीले अस्वीकार गर्दागर्दै पनि अहिले आएर स्वयम्ले स्वीकार्नुभएको पुष्टि गर्न का. बुढाले प्रमाणको रूपमा अन्तर्वार्ताको उपर्युक्त वाक्यांशलाई जस्ताको तस्तै लेखमा उल्लेख गर्नुभएको छ ।
अन्तर्वार्ताको वाक्यांशलाई राम्रोसँग हेरेमा उहाँको त्यो दाबी र प्रमाण कति फितलो छ भन्ने कुरा स्वतः प्रष्ट हुने छ । त्यसबाट फरक मतप्रति नेतृत्वको असहिष्णुता नभएर लेखकको हाम्रो पार्टीप्रतिको चरम प्रकारको पूर्वाग्रहलाई झल्काउँछ ।
लेखकले लेखमा अन्तर्वार्ताको “एकातिर, चरम प्रकारको अराजकतावादी र अनुशासनविहीन प्रवृत्ति” भन्ने वाक्यांशमा उल्लेख गर्नुभएको छ ।तर लेखकले व्याख्या गर्दा यो वाक्यलाई छुटाएर वा अलग्याएर आफ्ना आग्रह प्रमाणित गर्ने “अर्कोतिर, प्रतिगमनउन्मुख राजनीतिक दिशा समातेका हुनाले” भन्ने आफूअनुकूलको वाक्यलाई टिपेर त्यसलाई थप बल पुग्ने गरी “उनीहरूलाई पार्टीबाट निष्काशित गर्नुपरेको थियो” भन्ने वाक्यलाई अगाडि सारेर असहिष्णुताको आरोप लगाइदिनुभयो । तर “वा उनीहरू हाम्रो पार्टीबाट फुटेर गएका थिए” भन्ने वाक्यलाई छोडिदिनुभयो अर्थात् महामन्त्रीको भनाइ त प्रष्ट छ : चरम प्रकारको अराजकतावादी र अनुशासनविहिन प्रवृत्तिका कारण कतिपयलाई पार्टीबाट निष्काशित गर्नुपर्यो । अर्कोतिर, प्रतिगमन उन्मुख राजनीतिक कार्यदिशा समातेका कारण कतिपय हाम्रो पार्टीबाट फुटेर गएका थिए भनिएको छ । यति कुरा प्रष्ट हुँदाहुँदै पनि विचारको आधारमा कारबाही गरिएको कुरा स्वयम् महामन्त्रीले अहिले आएर स्वीकार गर्नुभयो भन्नुको कुनै अर्थ छैन ।
विश्वभरिका क्रान्तिकारी कम्युनिस्टले पार्टीभित्र मत प्रकट गर्ने र ती मतका पक्षमा अन्तरपार्टी जनमत निर्माण गर्ने निश्चित सङ्गठनात्मक नियम र प्रणाली छ । कम्युनिस्टहरूले सामाजिक प्रजातन्त्रवादीले झै आफ्ना विचार निर्णय गरिएको अवस्थामा बाहेक सार्वजनिक वा असम्बन्धित स्थानमा व्यक्त गर्न मिल्दैन । आफ्ना मत वा विचारलाई सङ्गठनात्मक प्रणालीअन्तर्गत चलाउनुपर्ने नियमका बारेमा लेखक अनभिज्ञ हुनुहुन्न । अर्को कुरा, विचारको छलफलमा स्वतन्त्रता हुन्छ तर विचारको टुङ्गो लागेपछि त्यसलाई एकमना एकताका साथ कार्यान्वयन गर्नुपर्दछ । फरक विचार राखेका कारण निर्णय कार्यान्वयनमा त्यसको असर वा प्रभाव पर्न दिनुहुँदैन ।
का. बुढालाई फरक विचार राखेका कारण कारबाही भएको होइन । सङ्गठनात्मक प्रणालीको अतिक्रमण गरी अनुशासनको उल्लङ्घन गरेका कारण नै उहाँसहितका त्यस प्रकारको अनुशासनविहीन क्रियालापमा संलग्नहरूलाई कारबाही गर्नुपरेको हो ।
जनवादी केन्द्रीयताको नियमभित्र रहेर लेखकसहितकाले पार्टीभित्र मनग्ये जनवादी अधिकार प्राप्त गर्नुभएको थियो । कतिपय विषयमा खुल्ला रूपमा समेत छलफल चलाइएको थियो । महाधिवेशनले एउटा फैसला दिइसकेपछि पनि महाधिवेशनमा अल्पमतमा परेका विचारलाई पुनः केन्द्रीय समिति तथा राष्ट्रिय परिषद्का बैठकमा उठाउन पाउने हक पनि सुरक्षित नै गरिएको थियो । त्यही नीतिअन्तर्गत उहाँहरूले लगातार प्रत्येक केन्द्रीय समितिका बैठकमा आफ्ना मत उठाई पनि रहनुभएको थियो । उहाँहरूले प्रत्येकपटक राखेका प्रस्तावलाई छलफल गराउनुका साथै मतदानमा लैजाने गर्ने गरिएको मागबमोजिम मतदानमा समेत लैजाने काम भइरहेको थियो । यो प्रक्रियामा कुनै नियोजन वा नियन्त्रण त पार्टीले गरेको थिएन । तर फरक मतलाई अनधिकृत ठाउँ वा असम्बन्धित व्यक्ति वा समितिमा राख्ने काम हुन थाल्यो । उहाँहरूले गुटबन्दी गर्न थाल्नुभयो । छद्म नामबाट पार्टी, पार्टी नेतृत्वका विरुद्ध द्वैष तथा घृणा फैलाउने, पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णयका विरुद्ध लेख लेख्न थालेपछि मात्र पार्टीले यो कार्यलाई अनुुशासनको विषय बनाएको हो । यस्तो अराजक कार्यलाई दुनियाको कुनै क्रान्तिकारी कम्युनिस्ट पार्टीले पनि स्वीकार गर्न सक्ने विषय हुन सक्दैन । त्यसका बाबजुद पनि पार्टीले छद्म नामबाट आएका लेखका विषयमा निष्पक्ष ढङ्गबाट छानबिन गरेको थियो । छद्म नामबाट आएका लेखलाई भाषाविदमार्फत पहिचान गर्न लगाइएको छ । त्यसरी प्रमाणित भएपछि मात्र केन्द्रीय समितिको बैठकमा का. बुढाको उपस्थितिमा उहाँलाई उचित तथा पर्याप्त सुनवाइको मौका दिएर नै कारबाही गर्न पार्टी बाध्य हुनुपरेको थियो । त्यसैले का. बुढालाई फरक विचार राखेका कारण कारबाही भएको होइन । सङ्गठनात्मक प्रणालीको अतिक्रमण गरी अनुशासनको उल्लङ्घन गरेका कारण नै उहाँसहितका त्यस प्रकारको अनुशासनविहीन क्रियालापमा संलग्नहरूलाई कारबाही गर्नुपरेको हो ।
का. बुढासम्बद्ध समूहले लिएको प्रतिगमनउन्मुख राजनीतिक कार्यदिशाका विषयमा पनि सङ्क्षिप्त चर्चा गर्नुपर्ने आवश्यकता छ । लेखकले लेखमा भने झैँ गणतन्त्रको विरोध गरेका कारण उहाँहरूलाई पार्टीले प्रतिगमनउन्मुख दिशा समातेको भन्ने विश्लेषण वा ठहर गरेको होइन । कार्यनीतिक रूपले समेत गणतन्त्रको वैद्ध तथा विप्लवलगायतका समूहले पनि विरोध गर्ने गर्दछन । त्यस आधारमा हामीले ती समूहले प्रतिगमनउन्मुख राजनीतिक दिशा समातेको भनेका त छैनौँ । अहिलेको सन्दर्भमा त्यस प्रकारको नीति अपनाउनुलाई वाम सङ्कीर्णतावादी प्रवृत्तिको रूपमा परिभाषित गरेका छौँ । तर जहाँसम्म का. बुढासम्बद्ध समूहको सवाल छ, त्यो वाम सङ्कीर्णतावादीहरू भन्दा केही फरक छ । तत्कालीन ओली सरकारले गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षताको प्रश्नमा सही नीति अपनाएका बेला तथा सरकारमाथि प्रतिगामी कोणबाट आक्रमण भइरहेको अवस्थामा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन फुटपरस्तहरूले जोड दिएका थिए । तर ओलीले दुई दुईपटक संसद् विघटन गरेर देशमाथि प्रतिगमन लाद्ने काम गरेको अवस्थामा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनु तथा काङ्ग्रेससहितका प्रतिगमन विरोधीसँग गठबन्धन गर्नुलाई गलत बताउन थाले । गण्डकी प्रकरणमा त नाङ्गो रूपले नै प्रतिगमनको पक्ष लिएका थिए । प्रतिगमन विरोधी शक्ति, अझ विशेषतः हाम्रो पार्टीमाथि बढी प्रहार केन्द्रित गरेका थिए । अहिले पनि उहाँहरूको प्रहार प्रतिगमनमाथि नभएर पाँचदलीय गठबन्धनमाथि छ ।
अग्रगमन र प्रतिगमनको विश्वव्यापी अभ्यास र परिभाषालाई आधार बनाउने हो भने अहिलेको सन्दर्भमा राजाको कुनै पनि प्रकारको शासन वा फासिवादमा फर्किनु प्रतिगमन हो भने त्यसका तुलनामा गणतन्त्र अग्रगमन हो । का. मोहनविक्रमले अग्रगमनका पक्षमा प्रतिगमनका विरुद्ध सङ्घर्ष गरिरहनु भएको छ । त्यस अर्थमा उहाँको यात्रा अग्रगमनतर्फ नै अग्रसर छ ।
फासिवादका कैयौँ विशेषता ओलीको कार्यशैली, स्वभाव र निर्णय प्रक्रियामा प्रत्यक्ष देखिएका छन । फासिवादको मुख्य विशेषता घरदेखि राज्यसम्म जनवादलाई नकार्नु हो । जनवादको नकार ओलीको कार्यशैलीको मुख्य विशेषता नै बनेको छ । त्यसका बाबजुद पनि ओलीप्रति उहाँहरू लचिलो नै हुनुहुन्छ । ओलीको बचाउ गरेर त्यसका विरोधी शक्तिमाथि प्रहार केन्द्रित गरिरहनु भएको छ । राजावादी शक्तिहरूले गणतन्त्रमाथि तीव्र प्रहार गरिरहेको अवस्थामा समेत राजावादीसँगको सहकार्यमा जोड दिइरहनु भएको छ । यी सबै पक्षमाथि ध्यान दिँदा त्यो समूहले प्रतिगमनउन्मुख राजनीतिक कार्यदिशा लिएको कुरामा कुनै शङ्का छैन ।
२०७८ साल माघ २० गतेको मूलबाटो अनलाइनमा “क. मोहनविक्रम सिंहको प्रतिगमनतर्फको यात्रा” शीर्षकमा का. हुकुमबहादुर सिंहको लेख प्रकाशित भएको छ । का. हुकुमबहादुर सिंहको उक्त लेखले का. मोहनविक्रम सिंहले प्रतिगमनको बाटो समातेको अर्थात् प्रतिगमनतर्फ का. मोहनविक्रम हिँड्दै हुनुहुन्छ भन्ने निराधार आरोप लगाएको छ । सामान्यतः राजनीतिक शब्दावलीको प्रयोगको हिसाबले वर्तमानको परिवर्तित अवस्थाबाट विगतको निरङ्कुशतातर्फ फर्किनुलाई प्रतिगमन भनिन्छ । प्रायः नेपाली, अङ्ग्रजी वा राजनीतिक शब्दकोशले उपर्युक्त प्रकारले नै प्रतिगमनको परिभाषा गरेको पाइन्छ । अहिलेको सन्दर्भमा गणतन्त्रबाट जुनसुकै प्रकारको राजशाही वा फासिवादतर्फ जानु वा फर्किनु प्रतिगमन हो । नेपाली, अङ्ग्रजी वा राजनीतिक शब्दकोशमा दिएको परिभाषालाई आधार बनाएर हेर्दा का. मोहनविक्रमले हाल अपनाएको राजनीतीक बाटो वा यात्रालाई मूल्याङ्कन गरेमा का. हुकुमबहादुरले लगाएको आरोप हावादारीबाहेक केही छैन ।
का. मोहनविक्रमले गणतन्त्रको रक्षामा जोड दिँदै राजाको वैधानिक वा निरङ्कुश सत्ता वा गणतन्त्रको नाममा फासिवाद वा कसैको सर्वसत्तावादका विरुद्ध सङ्घर्ष गरिरहनु भएको छ । यदि गणतन्त्रभन्दा फासिवाद वा राजाको वैधानिक वा निरङ्कुश शासन अग्रगमन हो भन्ने लेखकको राजनीतिक सोचाइ हो भने उहाँको त्यो राजनीतिक मान्यताका आधारमा का. मोहनविक्रमको राजनीतिक यात्रा प्रतिगमनतर्फको देखिनु स्वभाविक हो । जनताका दुस्मनशक्ति प्रतिगामीहरूले गणतन्त्रलाई प्रतिगमन तथा राजावादी वा फासिवादी शासनलाई अग्रगमन देख्छन् ।
अग्रगमन र प्रतिगमनको विश्वव्यापी अभ्यास र परिभाषालाई आधार बनाउने हो भने अहिलेको सन्दर्भमा राजाको कुनै पनि प्रकारको शासन वा फासिवादमा फर्किनु प्रतिगमन हो भने त्यसका तुलनामा गणतन्त्र अग्रगमन हो । का. मोहनविक्रमले अग्रगमनका पक्षमा प्रतिगमनका विरुद्ध सङ्घर्ष गरिरहनु भएको छ । त्यस अर्थमा उहाँको यात्रा अग्रगमनतर्फ नै अग्रसर छ ।
पार्टी तथा पार्टी महासचिवले नेकपा (मसाल) लाई आधारभूत रूपमा क्रान्तिकारीको रूपमा विश्लेषण गर्ने तर त्यही पार्टीको एउटा कार्यकर्ताले हाम्रो वैधानिक मोर्चालाई सरकारी देख्नु गम्भीर प्रकारको विरोधाभास हो । लेखकको अल्पज्ञानले यस प्रकारको त्रुटि भएको होला भनेर भन्नुभन्दा पनि उहाँको हामीप्रतिको चरम पूर्वाग्रह नै हो ।
का. हुकुमबहादुरले लेखमा राष्ट्रिय जनमोर्चालाई सरकारी जनमोर्चा भनेर गम्भीर प्रकारको तल्लो स्तरको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनमोर्चा जहिले पनि जनताको आवाज बुलन्द गर्दै आएको छ । सरकारमा सहभागी भएको अवस्थामा समेत जनमोर्चाबाट मन्त्री भएकाहरूले समेत आफ्नै सरकारले जनता तथा राष्ट्रका विरुद्ध संसद्मा प्रस्तुत प्रस्तावको विपक्षमा समेत मतदान गरेको इतिहास बोकेको सङ्गठनलाई सरकारीको आरोप लगाइदिनुभयो ।
लेखकसम्बद्ध समूहका प्रमुख नेता का. मोहन बैद्धले केही दिनअगाडि सार्वजनिक रूपले नै मोहनविक्रम सिंह तथा विप्लवको दम्भका कारण उहाँहरूसँग पार्टीएकताको काम अगाडि बढ्न नसकेको खुलासा गर्नुभएको छ । यो खुलासामा कति सत्यता छ वा छैन ? नेकपा (मसाल) ले वैद्य समूहलाई कसरी विश्लेषण गरेको छ ? त्यो विषयमा हामी बेग्लै छलफल गरौँला । तर का. बैद्धको अभिव्यक्तिले उहाँहरूले आफ्नो पार्टी जस्तै नेकपा (मसाल) लाई समेत क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा मूल्यांकन गरिरहनुभएको कुरा प्रष्ट छ । हामीप्रतिको त्यही विश्लेषण र बुझाइका कारण नै उहाँहरूले पार्टीएकताको प्रस्ताव गर्नुभएको भन्ने कुरा पनि प्रष्ट छ ।
पार्टी तथा पार्टी महासचिवले नेकपा (मसाल) लाई आधारभूत रूपमा क्रान्तिकारीको रूपमा विश्लेषण गर्ने तर त्यही पार्टीको एउटा कार्यकर्ताले हाम्रो वैधानिक मोर्चालाई सरकारी देख्नु गम्भीर प्रकारको विरोधाभास हो । लेखकको अल्पज्ञानले यस प्रकारको त्रुटि भएको होला भनेर भन्नुभन्दा पनि उहाँको हामीप्रतिको चरम पूर्वाग्रह नै हो । हामीलाई सरकारी जनमोर्चा देख्ने सोचाइ स्वयम लेखकसम्बद्ध समूहको केन्द्रीय नीति विपरीत रहेको छ । केन्द्रीय नीति विपरीत विचार प्रकट गर्नु हामीप्रतिको घोर पूर्वाग्रह तथा असन्तुलित मानसिकताको उपज हो ।
२०७८ माघ २१ गते
धनगढी, कैलाली