अब मसाल कता कि, एमाले कता ?

झुलेली पोस्ट साप्ताहिकमा २० पुस २०७८ मा प्रदीप ज्ञवालीले एउटा लेख “अब मसाल कता ?” शीर्षकमा लेखेका रहेछन्, लेखक संभवतः एमाले नजिकका बुद्धिजीवी कलम बहादुर हुनु पर्छ, म उहाँलाई चिन्दैन तर उहाँका लेखाई शब्द छनौट हेर्दा उहाँ एमाले कै हनुमान हो भन्ने कुरामा शंका छैन ।

देशको सबैभन्दा ठूलो दल हुँ भन्ने एमालेका कलम बहादुरहरुको ध्यान पनि मसालमा जादो रहेछ र आफू अनुकूल मिलाएर लेख लेख्न बाध्य हुने रहेछ । यसको अर्थ मसालको राजनीतिले उनीहरूलाई राती निद लाग्दैन, दिनमै पनि एक्लै बर्बराउने बनाउँदो रहेछ भन्ने लाग्यो ।

उनले आफ्नो लेखमा लामो गन्थन लेखेका छन् । त्यस मध्ये ४६ सालको त्रिपक्षीय सम्झौता धोका हो भन्ने मसालको नीतिले उनलाई ठूलो चोट पुगेको देखिन्छ । २०४६ सालको महान जनआन्दोन चरम उत्कर्षमा पुगेको बेला चोर ढोकाबाट सिंहदरबार छिर्नुलाई शक्ति सन्तुलनको बाध्यता भनेका छन् । राजा हारेको तर्सेको अन्तिम अवस्थामा के बाध्यता थियो लेखेका छैनन् ।

उनीहरूले बनाएको संविधानलाई मसालले कालो संविधान बन्यो भनेर पिर मानेका छन् । संसदीय चुनाव बहिस्कार पार्टीको नीति थियो, उनीहरुले हारेको र कांग्रेसले जितेकोमा दोष जति मसाललाई थोपरेर आफू पानी माथिको ओभानो बन्न खोजेका छन् ।

संविधानसभाको चुनाव हुनै पर्छ भन्ने मसालको नारालाई कुतर्क गरेर गलत बताउने असफल कोशिस मात्रै गरेका छन् । तात्कालिक रुपमा संविधानसभाको चुनाव आबश्यक थियो भन्ने स्वीकार त गरेका छन् तर लेख्न सकेका छैनन् । के राजाले संविधानसभाको चुनाव गराउँथे त ? भन्ने हास्यास्पद कुतर्क लेखेका छन् । घुमाई फिराई ज्ञावलीको भनाइ एमालेलाई समर्थन गरेन भन्ने नै छ, के राष्ट्रघाती महाकाली सन्धि गर्दा समर्थन सही हुन्थ्यो ? महाकाली सन्धि कुन बाध्यता थियो त्यो लेखेकै छैनन् ।

पार्टीमा टूटफुट विद्रोहमा मजा लिदै भनेका छन्- ‘मसाल पटक पटक विभिन्न प्रकारका आरोप लगाएर अवसरवादी अराजकतावादी भन्दै कारबाही गर्छ र खुम्चिएर सानो समुह मात्रै भएको छ ।’ उनले यो लेखेका छैनन् भरत शाही जस्ता आफ्ना एजेन्ट पार्टीमा घुसाएका थिए । लेखको सारमा मसाल एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी हो भनेर कबुल गरेका छन् । पार्टी अर्ध भूमिगत राजनीतिमा लागेको र मोहनविक्रम नेपाली माओसम्म लेखेका छन् ।

उनको शीर्षक अब मसाल कता जाँदैछ ? को उत्तर आफै दिएका छन् मसालले देश र जनताको हितमा पार्टी र क्रान्तिको लागि सम्झौताहीन संघर्ष गर्दै आएको छ । निकट भविष्यमा गरिबीको चपेटामा परेका भोको पेटबाट क्रान्तिको ज्वालामुखी विष्फोट हुनेछ । त्यही डरले तर्साई रहेको छ लेखक प्रदीप ज्ञवाली जि लाई । अरुको कति तर्सेका छन् आउने दिनमा थाहाँ हुने नै छ । आफ्नो डर लेखद्वारा प्रदर्शित गर्नुभएकोमा उहाँलाई धन्यवाद मात्रै भन्न सकिन्छ, तर एमालेको अबको बाटो कता ? त्यस बारे भने हामीले भन्दा पनि वहाँहरुको प्रतिगामी सोंच र गतिविधिले नै तय गर्नेछ ।

(लेखकः- मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार