वापी । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलनले भारतस्थित श्रमजिवी नेपालीहरुको पक्षमा र सिंगो संगठनको इतिहाँसमा नयाँ आयाम थपेको समाजका सचिवालय सदस्य धनवीर पुनले बताउनु भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति र महिला बिभागको संयुक्त आयोजनामा ८औं अखिल भारत सम्मेलनको संदेश सभा एवं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस समारोहलाई सम्बोधनको क्रममा पुनले सो धारणा राख्नु भएको हो ।
‘मूल प्रवाह आफ्नो स्थापना कालदेखि नै विभिन्न प्रकारका टुटफूट र हमलाका विरुद्ध संघर्ष गर्दै आएको छ । तर आठौं अखिल भारत सम्मेलनले मूल प्रवाहको इतिहाँसमा नयाँ आयाम थपेको छ ।’ पुनले भन्नु भयो- ‘मूल प्रवाह सामाजिक संगठन हो, यसमा कैयौंले आफ्नो महत्वकांक्षा पुरा हुन नसक्दा संगठनमाथि नै हमला गर्ने कोशिस गरे तर उनीहरु परास्त हुँदै गए ।’ अहिले देखिएका केही फूटपरस्त गतिविधिलाई पनि आठौं अखिल भारत सम्मेलनले समाप्त गरेर अगाडि बढेको पुनको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै केन्द्रीय सचिव वेद बहादुर कार्कीले मूल प्रवाहका सम्पूणर् स्तरका कार्यकर्ताहरुको अविस्मरणीय योगदानले नै मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सम्पन्न भएको बताउनु भएको थियो । ‘सम्मेलनले कसलाई के चयन गर्यो, त्यो प्रमुख विषय नभएर हामीले मूल प्रवाहको सफलता कायम गरेका छौं ।’ कार्कीले भन्नु भयो- “घोषणा पत्र र विधानलाई २०७२ को नेपालको संविधान अनुकुल व्यवस्था गर्न सकेको छौं ।’
त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य गोवीन्द थापा, रमकला काऊछा, केन्द्रीय वैकल्पिक सदस्य कृष्ण कुंवर, श्रीधर शर्मा, केन्द्रीय परिषद सदस्य निखिल रावत, बाबुराम दहीत, चाम बहादुर घर्ती, सुरेन्द्र राना, साँस्कृतिक विभाग पश्चिम भारत क्षेत्रीय संयोजक हरी सिंह काउछा लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता पश्चिम भारत क्षेत्रीय महिला बिभाग कि संयोजक शोभा धामीले र सञ्चालन क्षेत्रीय कोषाध्यक्ष प्रविणा सिंह धामीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई विना काउछा र कालाकारहरुले स्वागत गरेका थियो ।