राष्ट्रिय जनमोर्चाद्वारा चुनावी घोषणापत्र सार्वजनिक

  • मूल नारा : 'गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं'
  • बुटवल  । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं,’ मूल नारासहित राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रमा गणतन्त्र बलियो बनाउनका लागि प्रदेश खारेज गरी स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने राष्ट्रिय जनमोर्चाले दाबी गरेको छ । त्यसका लागि विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुंदे घोषणापत्र जारी गरेको छ । चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेण्डालाई आफ्ना उमेदवारले कार्यान्वयनमा लैजाने उनले बताए ।

    घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्युनिकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ । गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ । इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गरी विदेशी आयातमाथि नियन्त्रण गर्ने बताउँदै दक्ष जनशक्ति निर्माण गरी बेरोजगारी अन्त्य गर्न योजना तर्जुमा गर्ने बताइएको छ ।

    यस्तै स्रोत संरक्षण तथा प्रवर्द्धनमा जोड दिने एवं कृषि एवं कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने घोषणापत्रमा उल्लेख छ । शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुँच पुर्‍याउन सामाजिक विकासमा अधिकतम बजेट विनियोजन गर्ने एवं बीचमा पढाइ छोड्ने विद्यार्थीका लागि विशेष योजना बनाएर लागू गर्ने बताइएको छ ।

    यातायात र ढुवानीका लागि रेल तथा सडक संजालको निर्माण र विकासमा जोड दिने र ग्रामीण क्षेत्रमा उद्योगधन्दाको विकास गर्ने घोषणापत्रमा उल्लेख छ । यसैगरी सबैको समान विकासका लागि पीछडिएका समुदाय र दुर्गम क्षेत्रको विकास गर्ने बताइएको छ । पर्यटन विकासका लागि ग्रामीण पर्यटनको विकासमा जोड दिने एवं पर्यावरण र पूरातात्विक क्षेत्रको संरक्षण गर्न विशेष योजना बनाउने भनिएको छ । प्रदूषण नियन्त्रण, स्रोत साधनको न्यायपूर्ण वितरण, सामाजिक सुरक्षा, पुर्नस्थापना लगायतलाई घोषणापत्रमा समेटिएको छ ।

    यस्तै भूउपयोग नीति बनाइ कार्यान्वयन गर्नुका सार्थ एकीकृत बस्ती विकास गर्ने राष्ट्रिय जनमोर्चाको योजना छ । संक्रामक रोगका विरुद्ध भौतिक पूर्वाधार तथा जनशक्ति निर्माणमा जोड दिइने, छाडा चौपाया नियन्त्रण गरिने पनि बताइएको छ । विपद् व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार तथा स्रोत साधन सम्पन्न बनाउने र प्राकृतिक स्रोत साधनको समुचित उपयोगमा ध्यान दिइने घोषणापत्रमा उल्लेख छ ।

    घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले गणतन्त्र समाप्त हुने तथा मुलुक प्रतिगमनतर्फ जाने खतरा बढेकाले पार्टी स्थानीय तहको निर्वाचनमा गठबन्दन गरेर जाने नीति लिएको बताए ।

    ‘संघीयता पक्षधरसँग सधैँ हाम्रो फरक मत छ । एमसीसी संसद्‍बाट पारित गरिएपछि सरकारी गठबन्धनबाट पनि हामी एक्लै थियौं । तर अहिले गणतन्त्र नै समाप्त गर्नेगरी प्रतिगमनको अभियान सुरु भएकाले चुनावमा गठबन्धनमा जान बाध्य भएका हौं,’ उनले भने । अध्यक्ष केसीले अन्य दलसँग कार्यगत एकता भए पनि नीतिगत रुपमा आफ्ना एजेण्डा कार्यान्वयनमा लैजाने बताए ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार