काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री क्रान्तिकारी विचारको रक्षाका लागि गलत विचार र प्रवृतिलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।
नेकपाको ७४ औँ स्थापन दिवस तथा १५३ औँ लेनिन जयन्तीका अवसरमा नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
कम्युनिष्ट आन्दोलनलाई सही ढंगले बुझ्न विश्व र नेपालको अवस्थालाई हेर्नुपर्ने उहाँले बताउनुभयो । सही विचार अपनाउन नसक्दा कैयौं कम्युनिष्ट पार्टी विघटन भएका वा अवसरबादी संगठनमा परिणत भएका उहाँले उदाहरण दिनुभयो । उहाँले संगठन निर्माण र सैद्धान्तिक दृष्टिकोणलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । रुसमा लाखौं सदस्य भएपनि कम्युनिष्ट आन्दोलन पतन भएको उहाँले बताउनुभयो ।
‘एउटा पक्ष कमजोर भए कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ । जस्तै रुसमा कम्युनिस्टको पतन भयो । मानिसले पहिले देखि नै व्यक्तिगत स्वार्थले जग हाल्दै आएको थियो’ उहाँले भन्नुभयो, ‘लेनिन स्टालिनको मृत्यु पछि वैचारिक संघर्ष कमजोर भयो अनि समाज वादको अन्त्य भयो ।’
कम्युनिस्ट पार्टीले आन्दोलनलाई सही वैचारिक रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी एमालेमा व्यक्तिगत स्वार्थको प्रवृत्तिले गर्दा गलत बाटोमा गए । आज हामी भित्र पनि त्यो प्रवृत्ति छ । त्यसबाट मुक्त हुन पर्छ।’
महामन्त्री सिंहले जो सत्तामा गयो त्यसैका पछि दौडिरहने प्रवृति बढेको बताउनुभयो । ‘भ्रष्टाचार गर्ने, सम्पत्ति जोड्ने, सुख सयल गर्ने । यो खतरा हो कम्युनिस्ट आन्दोलनको लागि’ उहाँले भन्नुभयो, ‘अहिले पनि युवा विद्यार्थीमा सैद्धान्तिक अध्ययनको कमिले विचार र क्रान्तिकारी स्प्रिट कमजोर हुने गरेको छ ।कार्य्कर्ताले व्यक्तिगत काममा जोड दिने र पार्टीको कामलाई ध्यान नदिने कारणले गर्दा क्रान्तिकारी आन्दोलन पछाडी परेको छ ।’
उहाँले तत्काल गर्ने काम के हो त्यसमा हामी ख्याल गर्नुपर्ने भन्दै रणनीतिका साथ साथै तत्कालको कार्यनीतिले पनि महत्त्व राख्ने बताउनुभयो । अहिले केपी ओलीले प्रतिगमनतर्फ देशलाई धकेल्ने प्रयास गरिरहेकोले त्यसलाई रोक्नुपर्ने आवश्यकता रहेको सिंहको भनाई थियो ।
‘ओलीले प्रतिगमन निम्त्याउन प्रयासरत छन् उनलाई राप्रपाले समर्थन गरेको छ । भारतले समर्थन गरेको छ’ उहाँले भन्नुभयो, ‘दशकौँ लडेर ल्याएको गणतन्त्रमा अहिले पनि खतरा कायम छ ।’
कार्यक्रम मा राष्ट्रिय जनमोर्चाका सचीव हिमलाल पुरी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी, अखिल नेपाल कानुन व्यावसायिक संघ (अन्ला) अध्यक्ष पदम रोका, जातीय समता समाजका महासचिव भक्त विस्वकर्मा, अखिल नेपाल बुद्धिजीवी संघका कोषाध्यक्ष भोला ढकाल, राजमो केन्द्रीय सदस्य लाल बहादुर थापा र घनश्याम न्यौपाने, प्रगतिशील लेखक संघ नेपाल बागमतीका अध्यक्ष लक्षमणदेव पाण्डे, अखिल (छैटौं) का पूर्वसल्लाहकार भिष्म जोशीको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सन्चालन नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिँहले गर्नुभएको थियो भने अध्यक्षता नेकपा (मसाल) केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले गर्नु भएको थियो ।