काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय चुनावी गठबन्धनबीच तालमेल हुन नसकेका स्थानमा पार्टीको तर्फबाट बेग्लै उम्मेदवार उठाउने र मैत्रीपूर्ण तालमेल गर्ने स्पष्ट पारेको छ ।
उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन सोमबार (चैत १२ गते) अध्यक्ष चित्रबहादुर केसीले चुनावी समझदारी नभएका वा तालमेल हुन नसकेका स्थानहरुमा बेग्लै उम्मेदवार खडा गरेर मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।
चुनावी तालमेलका लागि अझैपनि बढी भन्दा बढी प्रयत्न गर्ने र प्रतिगमनलाई पराजित गर्न पुरा प्रयत्न गर्ने पनि अध्यक्ष केसीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
यस्तै, राजमोले पाँच दलबीच सहमति कायम भएका स्थानमा इमान्दारीपूर्वक सहमति पालना गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।
यस्तो छ, वक्तव्य
राष्ट्रिय जनमोर्चाले प्रतिगमनलाई पराजित गर्नको लागि सुरुदेखि नै पाँच दलीय गठबन्धनमा जोड दिँदै आएको छ र त्यसप्रतिको आफ्नो प्रतिवद्धतालाई इमान्दारिता र दृढतापूर्वक पालना गर्दै आएको छ । हाम्रो यो दृढ विश्वास रहेको छ कि पाँचदलीय गठबन्धनको राष्ट्रिय स्तरको एकताले नै प्रतिगमनलाई पराजित गर्न सक्ने छ र त्यसरी लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेतको रक्षा गर्न सक्ने छ ।
एमसीसी सम्बन्धी मतभेदका कारणले हाम्रो पार्टी पाँचदलीय गठबन्धनबाट अलग भयो । तैपनि प्रतिगमनलाई पराजित गर्नका लागि पाँचदलीय चुनावी तालमेललाई देशव्यापी रूपमा सफल पार्नु पर्छ भन्ने हाम्रो मत रहेको छ । त्यसबारे पाँच दलका बीचमा हुने सहमतिलाई इमान्दारितापूर्वक पालना गर्नुपर्छ भन्ने हाम्रो मत रहेको छ र अन्य पक्षहरुबाट पनि हामीले त्यही प्रकारको आशा गर्दछौँ । किनभने अहिले पाँचदलीय चुनावी तालमेलको नीतिले कुनै दल विशेषको स्वार्थका लागि होइन, राष्ट्रको लागि नै गम्भीर अर्थ र महत्व राख्दछ ।
यसका लागि हामीलाई दुःख छ कि कतिपय पक्षहरुद्वारा पाँचदलीय चुनावी तालमेललाई गम्भीरतापूर्वक लिने प्रश्नमा केही समस्याहरु देखा पर्ने गरेका छन् । विभिन्न जिल्लाहरुमा पनि पाँचदलीय चुनावी तालमेलको नीति सन्तोष प्रकारले अगाडि बढ्न नसकेको विषयप्रति पनि हाम्रो ध्यान आकर्षित भएको छ । त्यसले गर्दा कतिपय जिल्लाहरुमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेको छैन र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् । यदि त्यो कारणले पाँचदलीय तालमेलमा केही कमजोरी देखा पर्यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्ने छ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन्, जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ ।
यसका लागि हामीलाई खुसी लागेको छ कि कतिपय जिल्लाहरूमा चुनावी तालमेलको लागि सौहार्द्र्धपूर्ण वातावरणमा वार्ताहरु सम्पन्न भएका छन् र सिटहरुको विभाजनबारे सहमति पनि कायम भएको छ । जुन स्थानहरूमा त्यस प्रकारको सहमति कायम भएको छ, त्यहाँ प्रतिगमनलाई पराजित गर्न सफल हुने छौँ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।
पाँच दलीय चुनावी तालमेलको सिलसिलामा महानगर र उपमहानगरहरूमा सिटहरूको विभाजनमा सहमति भएको एउटा संयुक्त वक्तव्य जारी भएको थियो । त्यसरी सिटहरूको विभाजन हुँदा हाम्रो पार्टीका लागि कुनै सिट छुट्टाइएको थिएन । तैपनि हामीले त्यसलाई स्वीकार गरेका थियौँ । त्यो बेला अन्य कुनै महत्वपूर्ण नगरपालिकामा हाम्रो पार्टीको दाबीलाई पूरा गर्ने समझदारी भएको थियो । तर पाँचदलीय गठबन्धनमा धेरैपल्ट छलफल हुँदा पनि हाम्रो दाबीलाई स्वीकार गरिएन । हिजो ११ गते मनोनयको दिनसम्ममा पनि त्यसबारे सहमति कायम हुन सकेन । तैपनि त्यो कारणले पाँचदलीय चुनावी तालमेलमा कुनैपनि बाधा पार्ने हाम्रो विचार छैन र जहाँ र जुन रुपमा जति सम्भव हुन्छ, त्यस प्रकारको चुनावी तालमेललाई सफल पार्ने दिशामा नै हाम्रो प्रयत्न हुनेछ ।
कतिपय स्थानहरुमा चुनावी तालमेलका लागि सहमति हुन नसकेपनि जुन स्थानहरूमा परस्परमा चुनावी तालमेल भएको छ, त्यहाँ परस्परमा भएको सहमति अनुसार हामीले अन्य पक्षहरूका उम्मेदवारहरूलाई इमान्दारितापूर्वक समर्थन गर्ने नीति अपनाउने छौँ । तर चुनावी समझदारी नभएका वा तालमेल हुन नसकेका स्थानहरुमा हामीले आफ्ना बेग्लै उम्मेदवार खडा गरेर मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने नीति अपनाउने छौँ । तैपनि चुनावी तालमेलका लागि अझै पनि बढी भन्दा बढी प्रयत्न गर्ने र त्यसरी प्रतिगमनलाई पराजित गर्न पूरा प्रयत्न गर्ने नीति हामीले अपनाइरहने छौँ ।
त्यसरी चुनावी तालमेलबारे कतिपय मतभेद देखा परेपनि प्रतिगमनका विरुद्ध त्यसको (चुनावी तालमेलको) महत्व माथि ध्यान दिँदै सबै सम्भव तरिकाले त्यसलाई कायम राख्ने र सफल पार्ने हाम्रो प्रयत्न भैरहनेछ । किनभने अहिले प्रतिगमनका विरुद्धको कडा संघर्षको पृष्ठभूमिमा पाँचदलीय चुनावी तालमेलले देशको राजनीतिक र भविष्यका लागि पनि ऐतिहासिक महत्व राख्दछ भन्ने हाम्रो विश्वाश छ ।
मितिः २०७९ वैशाख १२ गते
चित्र बहादुर केसी
अध्यक्ष
राष्ट्रिय जनमोर्चा