दाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले जिल्लाका विभिन्न पालिकामा उम्मेदवारी दिएको छ ।
दाङमा राजमोले केही स्थानमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेको छ भने केही स्थानमा गठबन्धन भित्रका दलबीच तालमेल भएको छ । अधिकांश स्थानमा राजमोले एक्लै उम्मेदवारी दिएको छ ।
राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले दिनुभएको जानकारी अनुसार राप्ती गाउँपालिकामा राजमो र माओवादी केन्द्रबीच तालमेल भएको छ । अध्यक्ष माओवादीको भागमा परेको राप्तीमा राजमोको तर्फबाट केशवराज खनालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
गाउँपालिकाको वडा नं १ ठाकुर प्रसाद आचार्य र ४ मा वीरबहादुर चौधरी राजमोको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बन्नुभएको छ ।
यस्तै, गढवा गाउँपालिकामा राजमो, माओवादी केन्द्र र एककिृत समाजवादीबीच तालमेल भएको छ । सो गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ । राजमोले वडा नं १ मा अध्यक्ष पाएको छ भने वडा नं ३, ४, ५, ६ र ७ मा सदस्य पाएको छ । वडा नं १ को अध्यक्षमा नवराज शर्माले उम्मेदवारी दिनुभएको छ ।
यता, तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका पाँचै दलबीच तालमेल भएको छ, जहाँ राजमोले ५ वटा वडासदस्यमा उम्मेदवारी दिएको छ । यस्तै, घोराही उपमहानगरपालिकामा राजमो, माओवादी र नेपाली कांग्रेसबीच तालमेल भएको छ । त्यहाँ राजमोले ६ वटा वडासदस्य पाएको छ ।
जिल्लाको बंगलाचुली गाउँपालिकामा राजमोले एकल उम्मेदवारी दिएको छ । गाउँपालिका अध्यक्षमा सञ्जय ओली र उपाध्यक्षमा अनिता पाण्डेले उम्मेदवारी दिनुभएको छ । वडा नं ३ र ४ मा राजमोले उम्मेदवारी दिएको छ । ३ को अध्यक्षमा केदार परियार र ४ मा सुमन घर्तीले उम्मेदवारी दिनुभएको हो ।
यस्तै, राजमोले एकल उम्मेदवारी दिएको राजपुर गाउँपालिकाको अध्यक्षमा रामफकिरे रैदास र उपाध्यक्षमा देउकला श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ।
वडाअध्यक्षहरुमा १ नं मा वेमराज खनाल, २ मा नमराज शर्मा, ४ मा राजकुमार विश्वकर्मा, ५ मा टेकबहादुर बुढा, ६ मा लुद्रबहादुर बुढा र ७ मा दिल बहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लमही नगरपालिकामा पनि राजमोको एकल उम्मेदवारी परेको छ । नगरपालिकाको प्रमुखमा पदमप्रसाद गोराथोकी र उपप्रमुखमा सीता पौडेलले उम्मेदवारी दिनुभएको छ । नगरपालिकाका विभिन्न ५ वटा वडामा राजमोले वडाअध्यक्षमा उम्मेदवारी दिएको छ ।