नयाँ दिल्ली, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तत्वाधानमा आज २७ जुलाई २०२२ का दिन भारत व्यापी विरोध सभा हुने समाजका महासचिव कुल बहादुर थापाले जानकारी दिनुभएको छ ।
थापाले दिनुभएको जानकारी अनुसार २०७९ श्रावण ०७ गते संसदबाट राष्ट्रघाती नागरिकता विधेयक पारित भएको छ, त्यसका विरुद्ध आफूहरुले भारत व्यापी विरोध सभा आयोजना गरिएको हो ।
‘निश्चय नै, नागरिकता ऐनमा कैयौँ संशोधनहरू गर्नुपर्ने आवश्यकता थियो । खास गरेर नेपालको स्थिति र नेपालको सिमा तीनतिरबाट भारततिर खुला भएको र विश्व कै धेरै जनसंख्या भएका दुई देशहरुका बीचमा हाम्रो देश रहेको छ । यो अवस्थामा हाम्रो देशको नागरिकता नीतिलाई अत्यन्त कडा पार्नुपर्ने आवश्यकता थियो, तर सरकारले त्यसलाई झन्झन्खुकुलो पार्दै लैजानुले नेपालको राष्ट्रियता र सार्वभौमिकतामा समेत गम्भीर र दुर्गामी दुष्परिणामहरू हुनु अवश्वयमभावी छ ।’ महासचिव थापाले भन्नु भयो- ‘संसदबाट पारित नागरिकता विधेयक नेपालको राष्ट्रिय हितमाथि ध्यान दिएर होइन, विदेशी दबाबमा नै नागरिकता सम्बन्धी नीतिलाई खुकुलो पार्ने काम गरिएको छ । सरकारले विदेशीहरूप्रति खुकुलोनीति अपनाउनु गम्भिर प्रकारको राष्ट्रघात नै हो ।’
वास्तविक नागरिकलाई नागरिकता दिनु पर्छ तर विदेशबाट आएका बुहारीहरुलाई तत्काल नागरिकता दिन नहुने थापाको भनाई थियो । यसै विषयमा केन्द्रीयत रहेर ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने अन्तर्गत आफूहरुले आज भारत व्यापी विरोध सभा गर्ने महासचिव थापाले हामीलाई जानकारी दिनुभइको छ ।