काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संघीयताबारे बहस हुन थालेको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।
नेपालको सन्दर्भमा कुनै पनि कोणबाट संघीयता आवश्यक नरहेको पनि बास्कोटाले दोहोर्याउनुभएको छ ।
संघीयताबारे बहस गर्दा कतिपयले ‘जिब्रै थुतुला झैँ’ गरेको भन्दै बास्कोटाले राजनीति व्यक्तिको पोजिसनका लागि नभइ राष्ट्रको पोजिसनका लागि गर्नुपर्ने बताउनुभएको छ ।
‘संघीयताबारे बहस हुन थालेकोमा खुसी लाग्न थालेको छ । ऐतिहासिक, राजनीतिक र आर्थिक कोणहरुबाट यो आवश्यक थिएन’ सामाजिक सञ्जालमा बास्कोटाले लेख्नुभएको छ, ‘दुई तह र समावेशीता नै पर्याप्त हुन् । बम पड्काएर उडाउ भनेको हैन, छलफल गरौँ भनेको हो । जिब्रै थुतुला झैँ गर्छन कोही त । राजनीति व्यक्तिको पोजीसनका लागि हैन देशको पोजीसनका लागि गरौँ । नो, तनाव ।’
स्मरणीय छ, पछिल्लो समय प्रदेश संरचना आवश्यक नभएको भन्दै बहस चकिँदै गएको छ । केही वर्ष अघिसम्म संघीयताको पक्षमा वकालत गर्नेहरु अब विरोधमा देखिन थालेका छन् ।
एमालेभित्र ठूलो पंक्ति संघीयताविरुद्ध खडा भएको छ भने नेपाली कांग्रेसमा पनि यो बहसको विषय बनेको छ । कतिपय स्थानमा जनताले स्वतःस्फूर्त रुपमा प्रदेश खारेज अभियान सञ्चालन गर्न थालेको छन् ।
राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै संघीयताविरुद्ध आवाज उठाउँदै आएको थियो । अहिले यो विषयमा जनमत बढ्दै गइरहेको छ ।