# हेम बिजी
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनलाई समग्र समिक्षामा हेर्दा ऐतिहासिक रुपमा सम्पन्न भयो । यो सम्मेलन ऐतिहासिक हुनुमा सम्मेलनका महत्वपूणर् बिषेशताहरु छन् । किनकि सम्मेलन बिषेश परिस्थिति र बिषेश समयमा आयोजना गरिएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय बिस्तारित बैठकले तोकेकै मिति २३-२४ जूलाई २०२२ र सम्मेलन तयारी समितिले व्यवस्थापन गरेको चेन्नई शहरको थिएगराजन हलमा सम्पन्न भयो । दक्षिण भारतका हजारौं प्रवासी नेपाली जनसमुदायहरूको भारी उपस्थितिले सम्मेलन ऐतिहासिक बन्न पुग्यो ।
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन गर्नुपर्ने समय अवधि केहि बाँकी नै थियो । तर विगतमा एकता समाजको स्थापना कालदेखि नै संगठनमा आफ्नो निजी महत्वकांक्षा पूरा गर्न नपाउँदा सिंगो संगठनलाई नै दिशा विहीन बनाउन एकता समाजकै नाम र झण्डा बोक्दै भारत प्रवासका नेपालीहरुलाई भ्रम छर्दै हिड्ने अनुशासन विहिन, अराजक र अवसरवादीहरुको षडयन्त्रकारी शिलशिला वर्तमानमा मूल प्रवाहसम्म देखा पर्यो ।
विगतमा एकता समाजको गौरवमय संघर्षशील इतिहासलाई कुहाउन खोज्दाखोज्दै नसकेर पाखा लागिसकेको अवस्थमा पुनः मूल प्रवाहमा नयाँ धमिराहरू निस्के । र पुनः भारत प्रवासका नेपालीहरुलाई भ्रम छर्न अराजक, अनुशासन विहिन र फुटपरस्त धन्दा चलाउँदै ति नयाँ धमिराहरुले दक्षिण भारत क्षेत्रीय समितिमा सानो प्वाल पारे । आज हामीले समय अवधी अघि नै क्षेत्रीय सम्मेलन गर्नु पर्ने कारण पनि यहि थियो कि, यथाशिघ्र नयाँ धमिराहरुले पारेको मूल प्रवाह विरुद्ध क्षेत्रीय समितिमा पारेको फुटपरस्त प्वाल टाल्नु थियो । अन्ततः ऐतिहासिक रुपमा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन सम्पन्न गर्दै फुटपरस्त नपस्ने गरी प्वाल टाल्यौं । आजसम्मको इतिहासले प्रमाणित गरेको कुरा के हो भने संगठनलाई तहसनहस पार्न दुस्साहस गर्न खोज्ने अवसरवादी, अनुशासनहिन र फुटपरस्त तत्वहरु इतिहासमा आफै अस्तित्व विहिन भएर हराएका छन् ।
एक तिर मूल प्रवाह विरुद्ध फुटपरस्त गतिविधि गर्दै हिडेका भगौडेहरुले आफ्नो पद बढुवा बनाउन सिंगो दक्षिण भारत हाम्रो कब्जामा छ भन्दै देश विदेशमा हल्ला फिजाउँदै थिए, अर्को तिर हामी विशाल हलले पनि थाम्नै नसक्ने अवस्थामा दक्षिण भारतकै हजारौं हजार जनसमुदायहरूको भव्य उपस्थितमा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन गर्दै थियौं । विगतका सम्मेलनमा भन्दा पनि अझै मूल प्रवाहका नेता, कार्यकर्ता, सदस्य, शुभचिन्तक र आम जनसमुदायको उपस्थितले दक्षिण भारत क्षेत्रीय समितिलाई फुटपरस्त धमिराहरुले धेरै क्षति नपुर्याएको प्रमाणित भयो । मूल प्रवाहप्रतिको आस्था, विश्वास र भावना जनतामा घटेकै थिएन । मूल प्रवाहको लक्ष्य, उद्देश्य र नीतिप्रति प्रतिबद्ध अनुशासित ईमान्दार र सचेत संघर्षशील कार्यकर्ताहरूलाई अराजक तत्वहरुले भ्रममा पार्न सक्दैनन् भन्ने तथ्य दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन देखाएको छ ।
इतिहासको प्रत्येक कालखण्डमा अनुशासनविहिन, अराजक, फुटपरस्त तत्वहरुले एउटै र उस्तै नाटक गर्छन् । मूलधारको संगठनसँग जुधाएर सामान्य कार्यक्रम आयोजनको वाहना बनाउने, स्वतन्त्र सामान्य जनतालाई भ्रम छरेर कार्यक्रममा ओसार्ने, जनमत देखाएर हल भराउन टाढा टाढाबाट मान्छेको कोटा तोक्ने र मूल धारको संगठनको कार्यक्रममा उपस्थित हुन नदिने यो संगठन विरोधहरुको चालबाजी पुरानै शैली हो । यहि गतिविधिको प्रवृति दक्षिण भारतमा देखापर्यो । केवल समय, मिति, स्थान र पात्राहरु मात्र फरक । तर प्रत्येक कालखण्डका अवरोध बाधा र चुनौतीलाई सामाना गर्दै संगठन अविश्राम आफ्नै गन्तव्यमा बढिरहेकै छ ।
अन्ततः फुटपरस्त अराजक गतिविधि विरुद्ध जुध्दै र जुट्दै बिषेश परिस्थितिमा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन भव्यकताका साथ सौहार्दपूणर् वातावरणमा सुसम्पन्न भयो । यहि सम्मेलनले अनुशासनविहिनहरुलाई किनारा लगायो । त्यसैले समग्रमा भन्नु पर्दा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन फुटपरस्त विरुद्ध फैसला थियो ।