मूल प्रवाह मध्य दक्षिणबाट जागेश्वर र भूमिरामको बिदाइ

रामप्रसाद पौडेल,

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेता जागेश्वर कालाथोकी र भूमिराम पौडेललाई बिदाइ गरेको छ । एकता समाज मध्य दक्षिण क्षेत्रको मातहत रहेर बिगत ३५ वर्षदेखि सक्रिय नेताद्वय कालाथोकी र भूमिरामलाई एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले अबिर तथा माला लगाएर र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

बधाई तथा शुभकामना मन्तव्य राख्दै उहाँले जागेश्वर कालाथोकी र भूमिराम पौडेल संगठनका परिपक्क नेता भएको कारण उहाँहरुले स्वदेश फर्केर राष्ट्रिय जनमोर्चा आवद्ध रहि काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कतिपय कार्यकर्ताहरु भारतमा रहुन्जेल मूल प्रवाहमा नेतृत्व तहसम्म काम गरेका साथीहरू नेपाल फर्किसकेपछि विभिन्न कारणले संगठनसँग सम्पर्क गर्न नखोज्ने, जिम्मेवारीबाट पन्छिन खोज्ने जस्ता प्रवृत्तिहरु पनि देखिन्छन् भन्दै वास्तवमा यस्ता प्रवृत्ति र चिन्तन बोकेका कार्यकर्ताहरुले समाज र शोशित पीडित जनताको पक्षमा काम गर्न नसक्ने बताउनुभयो।

कार्यक्रममा भूमिराम पौडेलले आफू यहाँबाट सबै साथीहरू छाडेर जान पर्दा नरमाइलो लागे पनि आखिर एकदिन नेपाल नै फर्किनु पर्ने हुन्छ भन्दै त्यसैले समय छँदै आफ्नै देशमा फर्कन सके बढी प्रभावकारी हुने बताउनु भयो ।

स्वदेश फर्केर आफूले सकेको, जानेको र अहिलेसम्म सिकेको अनुभवहरु प्रयोग गर्दै राष्ट्रिय जनमोर्चाले दिएको जिम्मेवारी पूरा गर्ने प्रण गर्नुभयो । त्यसैगरी जागेश्वर कालाथोकीले पनि जसरी मूल प्रवाहमा रहँदा आस्था निष्ठा र जिम्मेवारी हरुलाई इमान्दारी साथ पूरा गरियो त्यसैगरी स्वदेशमा गएर पनि विभिन्न कठिनाइका बाबजुद आफू निरन्तर रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिला संयोजक पुष्पा पौडेल ,नगर समितिका सदस्य लालबहादुर थापा,कमला शर्मा लगायतका बक्ताहरुले बधाई तथा शुभकामना दिनुभएको थियो ।

एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित उत्तर हैदराबाद नगर समितिले आयोजना गरेको बिदाइ कार्यक्रमको अध्यक्षता नगर कोषाध्यक्ष तेजेन्द्र प्रसाद शर्मा, सञ्चालन सूर्य बहादुर थापा र स्वागत धनबहादुर थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार