कुरा काट्नेहरु समाजमा खुसुखुसु हल्ला गरि रहन्छन् ।
बनेको संरचना मुसाले जस्तै धुजाधुजा पारि रहन्छन् ॥
ईष्या, डाहा पोख्दै गुट उपगुट को खेलमा सधै मस्त हुन्छन् ।
समाज ध्वंस्त पार्ने यस्तै अभिष्ट पुरा गर्ने चाटुकार हुन्छन् ॥
अरुको कुरा काट्ने यत्रतत्र सर्वत्र सधै बिगार्ने गर्छन् ।
राम्रो गर्नेका विरुद्ध सधै प्रहार गर्ने यस्तै कुचेष्टा गर्छन् ॥
आफु राम्रो बन्न खोज्छ अरुला नराम्रो भन्ने उन्को नियत हुन्छ ।
आफुले सिन्को नभाच्ने अरुको कामै मन नपार्ने चरित्र हुन्छ ॥
राम्रो नराम्रो छुट्टाउनै नसक्ने अन्धानुकरण अर्कैको गर्ने ।
योगदान र सदभाव न बुझ्ने आशंका को नै सधै खेती गर्ने ॥
आफु सधै दुला भित्र बसेर स्वणीम संसारको विरोध गर्ने।
चरित्र त्यस्तै न अरुले गरेको देख्न सक्ने न आफैले नै गर्ने॥
कुरा काट्नेले बिगार्छ रिस्ता नाता गाउ समाज र देश पनि ।
झुट लाई पनि सत्य देखाउछ भताभुङ्ग पार्छ समाज पनि ॥
बेलैमा चिनौ कुरौटेहरु लाई नत्र बेहोर्नु पर्ला ठुलै क्षेती ।
दर्शन र कुटनितीको पर्दामा लुक्छ कुरौटेको झुटको खेती
॥
रचना – खिमराज चालिसे हाल चंडिगढ भारत