विष्णु शर्मा
बर्षदिनको तीजमा सबैमाझ आउदैछौ
महिला हिंसा बिरुद्धमा गीत गाउदै छौ।
महिला हिंसा चर्किएर सहि सक्नु भएन
आन्दोलनको बिकल्प अब रहेन।।
देशैभरी चारैतिर महिला हिंसा चर्किन्छ
बच्चा देखि बृद्धको आँसु धर्किन्छ।
कठै गरिब महिला एकल हुनै हुदैन
बोक्सी भन्दा उनको मन यति रुदैन।।
बोक्सीको आरोप लगाइ मलमुत्र ख्वाउदछन्
आक्रमणमा महिला नै अघि आउदछन्।
नारीले नै अघि बढी कुटपिट गर्दछन्
नारीको नारी नै दुष्मन बन्दछन्।।
बिहे गरि बुहारी खाली हात आउदा
मर्न बाध्य हुन्छिन् उनी वचन लाउदा।
कतिलाई त मारेका छन् कुटपिट गरेर
दाइजो नल्याउदामा टडक भरेर।।
छोरी छोरी जन्मे पनि नारीलाई नै दोस छ
बैज्ञानिक युगका मानिसको नी छैन होस त।
बिज्ञानको बिधिमा नी अबुझ बनेर
धम्की दिन्छन् अर्को बिहे गर्छु भनेर।।
दिन दिनै आउने गर्छन् बलात्कारका घटना
बाहिर गए बाबा आमालाई उनकै रटना।
समाजले हेला गर्छ बलत्कारमा पर्नेलाइ
सजाय मिल्दैन ज्युदै मार्नेलाइ।।
समाजबाटै बहिष्कृत हुनुपर्ने नारीले
सम्मान साथ बाच्नुपर्छ भन्छौ हामीले ।
मानबबाटै असुरक्षित हुनुपर्ने नारी त
सचेत होस् समाज सारा भन्छौ हामी त।।
आज पनि बिकट ठाउमा छाउपडी प्रथा छ
हटाउ भन्दा महिलाको नै ठुलै जात्रा छ।
यो प्रथा हटाउ भन्दा बाधक बने महिला
यो जमातलाइ सचेत पार्नु पर्छ पहिला।।
बिमारी भाछन् कति चिसो गोठमा बसेर
कतिको ज्यान गएको छ सापले डसेर।
यति सम्म हुदा पनि किन सचेत बन्दैनौ?
नारी मार्ने कुसंस्कार हो किन मान्दैनौं ?
नारी सुरक्षित लक्षित छैनन् सरकारका योजना
त्यसैले त घटिराख्छन् सधैं घटना।
बाच्न हाम्लाइ गार्हो हुन्छ चुप्प लागि बसेमा
सुरक्षित हुन्छौ सचेत बन्न कम्मर कसेमा।।
यो तीजमा ठाउँ ठाउमा राम्रा सन्देश छरौ है
एक एक गरि महिला हिंसा अन्त गरौ है।
जसको लागि दिनुपर्छ सरकारलाई दबाब
मान्छे मार्ने कुसंस्कारलाई लाउन लगाम।।
। समाप्त।