देउसीभैलो सहयोगीहरु सम्पूर्णलाई मूल प्रवाह केन्द्रीय समितिद्धारा धन्यवाद

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र त्यस अन्तर्गतको साँस्कृतिक विभागको आयोजनामा भारतभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । नोभेम्बर १२, २०२३ गतेदेखि सुरु भएको भैलो कार्यक्रम सम्पन्न भएको हो । भारतव्यापी भैलो कार्यक्रमको आयोजक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभिन्न स्तरका समितिहरु रहेका थिए ।

साँस्कृतिक विभागका कलाकारहरुको सांस्कृतिक प्रस्तुति तथा मूल प्रवाहको वैचारिक अन्तरक्रियासँगै अगाडि बढेको प्रगतिशील भैलोमा पनि विविधता छ । धेरैजसो स्थानमा रक्तिमका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यस क्रममा गीत, संगीत र नृत्य प्रस्तुत गरिएको थियो । त्यसका साथै कतिपय नगरहरुमा घरदैलो र शुभकामना आदानप्रदान गरिएको थियो ।

हैदराबाद, चेन्नई उत्तर, दक्षिण, पूर्व र पश्चिम संयुक्त, हिसार, बेंगलोर उत्तर, बेंगलोर दक्षिण, जालन्धर, पाण्डेचरी, कोट्टयाम, रेवाडी, चंडिगढ, चिदम्बरम, नयाँ दिल्ली, फरीदावाद, भिवानी, रोहतक, आगरा, सोनीपत, पुरानो दिल्ली, करनाल, गुडगाव, भटिण्डा, विकानेर, पटियाला, गोविन्दगढ, रोपड, सुरत, सचिन, लुधियाना, वापी पूर्व, वापी पश्चिम, सिलवास, दमन, अलिबाग, रायगढ, नेल्लोर, बेंगलोर दक्षिण, निलगिरी, कोयम्बटोर, जयपुर उत्तर, भिवाडी, जयपुर दक्षिण, पूर्वी दिल्ली, परवाणु, सोलन, रामपुर, सुंग्रा, रिकंगपियो, मनाली, नागपुर, भोपाल, कानपुर, इल्लाहवाद लगायतका विभिन्न स्थानमा देउसी भैलो विभिन्न स्तरका नेता कार्यकर्ताहरुको नेतृत्वमा सम्पन्न भएको छ ।

यसै बीच केन्द्रीय समिति समितिको तर्फबाट अध्यक्ष ठाकुर खनालले एक वक्तव्य जारि गरि सम्पूर्ण स्तरका कलाकार, नेता, कार्यकर्ता, शुभचिन्तक एवं सहयोगीहरुलाई धन्यवाद प्रकट गर्नुभएको छ ।

अध्यक्ष खनालले भारत प्रवासमा प्रगतिशिल-जनवादी देउसीभैलोको शुरुवात मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको बताउनु भएको छ । वर्तमानमा विभिन्न व्यक्तिहरुले नेपाली भाषा संस्कृती संरक्षणको नाममा बुर्जुवा पश्चात्य संस्कृतिलाई अगाडि बढाउने र प्रगतिशिल आन्दोलनलाई अवरोध पैदान गर्ने कोशिस गरेको अध्यक्ष खनालले बताउनु भएको छ ।

वक्तव्यमा लेखिएको छ :

“भारतका विभिन्न नगरहरुमा नोभेम्बर १२, २०२३ देखि सुरु गरिएको प्रगतिशील-जनवादी देउसीभैलो कार्यक्रमहरु सम्पन्न भएका छन् । सामन्ती तथा साम्राज्यवादी पाश्चात्य संस्कृतिको विरुद्धमा प्रगतिशील कलासंस्कृतिको प्रचारप्रसारको लागि अहोरात्र खटिनुभएका कलाकार, नेता, कार्यकर्ता एवं शुभचिन्तकलाई धन्यवाद प्रकट गर्दछौ । साथै भैलो कार्यक्रमलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाको अर्को वर्ष १९८० देखि विभिन्न शहरमा लगातार प्रगतिशिल-जनवादी देउसीभैलो कार्यक्रम सम्पन्न गर्दै आएको छ । शुरुवाती दिनमा तानाशाही पञ्चायती व्यवस्थाका भरौटे तथा सुराकीहरुका साथै कुसंस्कार-कुरितीमा हुर्किएको समाजबाट पनि त्यसको प्रतिकार गर्दै देउसीभैलो माथि आक्रमण गर्नेसम्मका घटनाहरुको सामाना गर्दै प्रगतिशिल-जनवादी देउसीभैलो कार्यक्रम पनि लगातार अगाडि बढिरहेको छ । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्तपछि नेपालको राजनीतिक बाताबरण परिवर्तन भयो । त्यस पछि भारतमा देउसी भैलो कार्यक्रमले व्यापकता लिंदै गएको हो । विगतमा प्रगतिशिल-जनवादी देउसीभैलो कार्यक्रममाथि आक्रमण गर्नेहरु समेत अहिले विभिन्न संघ संस्थाको नाममा भैलो कार्यक्रममा सहभागि भएका छन् । साथै अन्य व्यक्तिहरुले पनि नेपाली भाषा संस्कृतिको संरक्षणको नाममा भैलो तथा विभिन्न प्रकारका साँस्कृतिक गतिविधि सञ्चालन गरेका छन् तर, उनीहरुले नेपाली समाजमा विद्यमान रहेको सामान्ति संस्कार एवं पाश्चात्य छाडा संस्कृतिलाई समेत अगाडि बढाईरहेका छन् । त्यसप्रकारका कार्यक्रमले नेपालीहरुमा मनोरञ्जन दिएता पनि नेपाली जनताको मुक्तिकामी भावनालाई जान वा अन्जान कुण्ठित बनाउने तथा सचेत राजनीतिक आन्दोलनबाट विमुख बनाउने काम गरेका छन् ।

सु-संस्कृत समाजका लागि सामाजिक रुपान्तरण पनि महत्वपूर्ण विषय हो । नेपाली समाजमा विद्यमान सामान्ति संस्कार र आगन्तुक पश्चिमी संस्कृतिलाई रुपान्तरण गरि प्रगतिशिल-जनवादी संस्कृतिलाई अगाडि बढाउनु पर्ने आजको आवश्यकता हो । हामी सम्पूर्ण कलाकारहरुलाई आफ्नो कलालाई प्रगतिशिल-जनवादी, शोषित-पिडीत जनताको मुक्तिको पक्षमा अगाडि बढाउन आव्हान गर्दछौं ।

अन्तमाः विस २०८० साल (सन २०२३) को तिहारको उपलक्ष्यमा आयोजना गरिएको प्रगतिशिल देउसी भैलो कार्यक्रमलाई आर्थिक, नैतिक एवं भौतिक रुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई पुनः धन्यवाद ज्ञापन गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार