विष्णु शर्मा ##
आमा हजुरले मलाई
नौ महिना कोखमा राख्नुभयो ।
मलाई स्वस्थ जन्मियोस् भनी
देवीदेवता भाक्नुभयो ।।
ज्यानै लाने पीडा सही
मलाई जन्म दिनुभयो ।
केटाकेटी उमेरमा नै
हुर्काउने जिम्मा लिनुभयो ।।
मलाई स्तनपान गराउनलाई नै
पोषण तत्त्व खानुभयो ।
घरको गर्जो टार्नलाई
सुत्केरीमै मेला जानुभयो ।।
चिटिक्कको हृष्टपुष्ट शरीर
पछि मोटो बन्दै गयो ।
पतिभन्दा बुढी देखिन थाली
समाजले भन्दै गयो ।।
रातैभरि जागै बसी
मेरो सुसार गर्नुभयो ।
बिहान सबेरै उठ्न नसक्दा
घरको गालीमा पर्नुभयो ।।
मेरासामु ती गाली नि
आशीर्वादसरह लाग्ने गर्यो ।
मेरो सानो मुस्कानले
सबै थकान मार्ने गर्यो ।।
मेलामा दिएको खाजा पनि
नखाई मलाई ल्याइदिनुभयो ।
म बिरामी परेको बेला
डक्टर नर्स भइदिनुभयो ।।
लाखौँ दुखकष्ट सही
बिनाखोट हुर्काउनुभयो ।
लाखौँमा एक मेरी छोरी भनी
सदाबहार मलाई फुर्काउनुभयो ।।
स्कुलमा भर्ना गरी
दुईचार अक्षर चिनाउनुभयो ।
सामाजिक संस्कार सिकाउन
सँगसँगै हिँडाउनुभयो ।।
हजुरले थाहै नपाई
म त ठुली भएकी थिएँ ।
पहिलोपटक रजस्वला भएर
तल्तिर लुक्न गएकी थिएँ ।।
जब हजुरलाई थाहा भयो
आँशुका धारा बगाउनुभयो ।
त्यो अवस्थामा गर्नुपर्ने काम
सम्पूर्ण मलाई सघाउनुभयो ।।
अनि धेरै ढिला नगरी
विवाह गरिदिनुभयो ।
सुखसयल मलाई दिई
दुःख आफै लिनुभयो ।।
टाढा भइस् भनी भनी
दिनरात रुनुभयो ।
रोग नै पत्ता नलागी
अकालमा स्मृतिमा पुग्नुभयो ।।
सकिनँ मैले अटाउन कापीमा
हजुरको महिमा बयान गरी ।
हजुरको सम्झनाले निदमा
झझल्किन्छु घरी घरी ।।
पछुताउछु आमा म आज
हजुरलाई केही गर्न पाइनँ भनी ।
यदि अर्को जुनी छ भने फर्की आउनू
मेरी सुन्दर प्यारी आमा बनी ।।