सामान्यतया कम्युनिस्ट पार्टी त्यसलाई भनिन्छ, जसले विद्यमान शोषणप्रधान समाजको अन्त्य गरी त्यसको स्थानमा शोषणविहीन समाज स्थापना गर्ने लक्ष्य लिएको हुन्छ र त्यो लक्ष्य पूरा गर्नको लागि ऊसँग सही नीति, सिद्धान्त, विचार, राजनीति, दर्शन अनि व्यवहार हुनुपर्छ । यस्तो नीति, सिद्धान्त र राजनीतिले गरिखाने मिहिनेतकस वर्गका मानिसलाई शासनसत्ताको बागडोर सम्हाल्ने तहसम्म पुर्याउन सक्छ । यो तयारीलाई व्यावहारिक रूप दिन सशक्त र क्रान्तिकारी सङ्गठनको आवश्यकता पर्दछ ।
क्रान्तिकारी सङ्गठन निर्माण गर्नु अहिलेको पुँजीवादी व्यवस्थामा निकै अप्ठ्यारो काम हो किनभने पार्टीसङ्गठनले क्रान्तिकारी नीतिनिर्माण गरेर मात्र सङ्गठन स्वतःस्फूर्त क्रान्तिकारी बन्न सक्दैन । क्रान्तिकारी नीतिलाई लागु गर्न/गराउन त्यसमा आबद्ध भएका व्यापक कार्यकर्ताको आवश्यकता पर्दछ तर सबै कार्यकर्ता विद्यमान पुँजीवादी समाजभित्रै जन्मेहुर्केर आएको हुनाले उनीहरूमा क्रान्तिकारी सोच र विचारको विकास गर्न जरुरी हुन्छ । त्यसका लागि सबैभन्दा पहिले यो चराचर जगत् सम्पूर्ण मानव समाज र राजनीतिलाई सही प्रकारले बुझ्ने दृष्टिकोणको विकास गर्नुपर्छ ।
कम्युनिस्ट पार्टीमा लागेका कार्यकर्ताले चिन्तन भनेको सर्वहारावर्गीय चिन्तन वा विश्वदृष्टिकोण हुनुपर्छ । त्यो दृष्टिकोण आफै बन्दैन बरु सामाजिक व्यवहारबाट त्यसको निर्माण हुन सक्छ । निरन्तर अध्ययन र काम गर्नुपर्छ । काम गरेपछि अध्ययन अनि काम, फेरि अध्ययन—यसरी सही र गलतलाई छुट्याउन सजिलोसँग सकिन्छ । सही र गलतलाई छुट्याउन सक्ने भएपछि मात्र मानिसमा एउटा धारणा निर्माण हुन्छ, जुन सामाजिक व्यवहारको कसीबाट खारिएर बनेको हुन्छ । यसले मानिसको चेतनालाई व्यापकतामा लैजान्छ ।
चेतनामा व्यापकता आउनु भनेको संसारभरको खगोल भूगोलभित्रका सम्पूर्ण गतिविधिलाई गतिशील रूपमा बुझ्नु हो । त्यसकारण कम्युनिस्ट पार्टीमा लागेका कार्यकर्ताको दृष्टिकोण सर्वहारावर्गीय विश्वदृष्टिकोण हुनुपर्छ । सर्वहारावर्गीय विश्वदृष्टिकोण निर्माणका लागि व्यक्तिगत इच्छा, आकाङ्क्षा त्यागनुपर्छ । व्यक्तिगत लाभ हुने चिज र स्वार्थ त्याग्नुपर्ने आवश्यकता हुन्छ ।
व्यक्तिगत स्वार्थ, इच्छा र आकाङ्क्षा मनमा बोकेर पार्टीसङ्गठनमा आबद्ध भएका कार्यकर्ताको दृष्टिकोण फराकिलो हुँदैन । त्यसरी फराकिलो नभएको दृष्टिकोणले देख्ने भनेको केवल आफू, आफ्नो परिवार, इष्टमित्र र भाइभतिजा अनि मात्रै म, मेरो, मलाईको भावना मात्रै हो । यस्तो प्रकारको साँगुरो सोचाइको घेरा तोडेर चिन्तनप्रणालीलाई फराकिलो पार्दै लगेपछि मात्र क्रान्ति, आन्दोलन र पार्टीसङ्गठनलाई क्रान्तिकारी बनाउनु सम्भव हुने छ ।
कम्युनिस्ट आन्दोलनले स्थापनाकालदेखि अहिलेसम्म आइपुग्दा कैयौँ टुटफुट र विभाजन झेल्दै आइरहेको छ । ती टुटफुट र विभाजन किन र कसरी भन्ने विषयमा छुट्टै चर्चा आवश्यक पर्ने छ ।
२००६ सालमा जुन उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो, त्यो उद्देश्यबाट आज कुन कुन पार्टीले राजनीतिक, नैतिक, सैद्धान्तिक र व्यावहारिक पक्षमा च्यूत नभइकन काम गरिरहेका छन् भन्ने प्रश्नको कसीमा नै असल कम्युनिस्ट पार्टी कुन हो भनेर छुट्याउनुपर्दछ ।
नेपालको सन्दर्भमा कम्युनिस्टको आस्था र विचारसँग जोडिएका, लामो समय आफ्नो जीवन कम्युनिस्ट आदर्शमै आधारित रहेर बिताएका, कम्युनिस्टको झन्डा र यसको गौरवलाई झुक्न दिनुहुन्न भनेर हिजो नेतृत्व तहमै रहेर विभिन्न समयमा विभिन्न प्रकारका क्लास, प्रशिक्षण दिँदै हिँड्ने गरेका नेताहरूको चिन्तन, विचार, राजनीतिक दृष्टिकोण र व्यवहारलाई हेर्ने हो भने आज इतिहासकै कलङ्कित पात्रहरू बनिसकेका छन् । केशरजङ्ग रायमाझीदेखि अहिलेसम्मका पात्र र पार्टी, जसले कम्युनिस्ट राजनीति गरे/गरिरहे, उनीहरूले कम्युनिस्ट आदर्श, नैतिकता, सिद्धान्त, नीति अनि दर्शनलाई तिलाञ्जली दिँदै गइरहेको सन्दर्भमा नेपालको परिवेशमा नामधारी कम्युनिस्टले एकातिर नेपाली जनतालाई भ्रम पार्न सफल भएका छन् भने अर्कोतिर, कम्युनिस्ट पार्टीको नाममा मार्क्सवादी सिद्धान्तको सृजनात्मक प्रयोगको नाममा आफ्नो अवसरवादी, संशोधनवादी, दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी, अराजकतावादी, वाम सङ्कीर्णवादी, उपयोगितावादी, उत्तर आधुनिकतावादी आदि सैद्धान्तिक बिचलनमा पुगे । त्यसबाट गरिब निमुखाको पक्षमा उभिनुपर्ने आन्दोलन उनीहरूको विपक्षमा उभिएको छ । यो आन्दोलनमा विभिन्न प्रकारका देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू “फुटाऊ र राज गर” को राजनीतिक लौरो प्रयोग गरेर कम्युनिस्ट आन्दोलनलाई दिग्भ्रमित पारिरहेको परिप्रेक्ष्यमा आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरूले के कम्युनिस्टका सिद्धान्त र प्रस्थापनाप्रति मजाक गरिरहेको प्रतीत भइरहेको छ । कम्युनिस्टको नाममा हँसिया र हथौँडाअङ्कित रातो झन्डा प्रयोग गरेर कम्युनिस्ट ‘दुकानदार’ लाई कम्युनिस्टको मूल मर्म, आदर्श र नैतिकतालाई बेचेर विदेशी देखासिकी र नक्कल गरेर उनीहरूकै इसारामा देश र जनताको हित विपरीत हुने कार्य गर्दै आइरहेका छन् । यसलाई सजिलोसँग बुझ्नका लागि सङ्घीयतालाई लिन सकिन्छ ।
सङ्घीयताको माग न त २०६२–६३ सालको आन्दोलनमा उठेको थियो, न माओवादीको “जनयुद्ध” कालमा । सङ्घीयताको माग नेपालको अन्तरिम संविधान–२०६३ को तेस्रो संशोधनमार्फत नेपालमा भित्राउने अभीष्ट पूरा गरिएको थियो, जुन नेपाल र नेपाली जनताको हित विपरीत मात्रै होइन घातक पनि हो र हुने छ तर सङ्घीयताको मुद्दालाई बढाइचढाइ गरेर आआफ्नो राजनीतिक रोटी सेक्ने प्रपन्चमा कम्युनिस्ट भनाउँदासमेत पछि परेनन् । सङ्घीयताले नेपाललाई कायापलट गरेर स्विटजरल्यान्ड बनाउने, काठमाडौँको सिंहदरबारलाई गाउँगाउँमा पुर्याउने जस्ता अमान्य र फरेब अनि कुतर्क र बेतुकी कुरा गरेर नेपाली जनतालाई ठुलो भ्रममा पारेर अलमल्याउने काम गरेर विदेशीलाई खुसी पार्ने काम गरे ।
वास्तवमा सङ्घीयता सिद्धान्ततः गलत होइन, यो शासन सञ्चालन गर्ने प्रणाली हो । विश्वका दुई सय देशमध्ये करिब २६ देशमा मात्र सङ्घीयताको अभ्यास गरिएको छ । त्यसमा पनि करिब आधा दर्जन देशले सङ्घात्मक प्रणालीबाट वाक्कदिक्क बन्दै गएका छन् । दुईओटा सङ्घमा विभाजित भएको नाइजेरिया आज तीन दर्जनभन्दा बढी सङ्घमा, त्यो पनि जातीय सङ्घमा विभाजन भएको छ । त्यहाँ कति पीडा भएको होला त्यहाँका जनतालाई ? यो साम्राज्यवादी खेललाई बुझ्न नसक्नुको परिणाम हो ।
असल कम्युनिस्टले सङ्घीयतालाई सैद्धान्तिक रूपमा स्वीकार्छन् तर ठोस स्थितिको ठोस विश्लेषणको आधारमा मात्र व्यवहार गर्छन् वा त्यसलाई अपनाउने गर्दछन् न कि कुनै लहड या अन्धनक्कलका लागि तर नेपालका कम्युनिस्ट पार्टीमा लागेका अधितकर नेता वा पात्रहरू ठोस स्थितिको ठोस विश्लेषण गरेर होइन कि अन्धानुकरण गरी कम्युनिस्ट आदर्श र नैतिकता पतन गराउने कार्य गर्दै आइरहेका छन् ।
कहिले सेना नभएको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन भन्दै हिँड्नेहरू आर्जन गरेका सेना र शक्तिलाई पनि साम्राज्यवादी शक्तिलाई बुझाए ।
व्यक्तिवादी राजनीतिको कुण्ठित चिन्तनले प्रचण्डलाई विश्वको क्रान्तिको मार्गनिर्देशक मान्ने, जसको सिद्धान्त प्रचण्डपथ हुने, नेपालमा जनसत्ता निर्माण गरिसकेकाले अब दक्षिण एसिया हुँदै विश्वभर फैलिने आदि आदि धारणा अघि सारेका थिए । यस्ता कोरा कल्पनासहितका योजना तर इमानदार कार्यकर्ताको सहभागिताले केही हदसम्म नेपाली समाजमा उथलपुथल भने पारेको थियो तर गन्तव्यमा नपुग्ने उथलपुथलको कुनै महत्त्व रहँदैन, जसले कम्युनिस्टको झन्डालाई उचो राख्न सकोस् ।
असल कम्युनिस्ट पार्टीको घोषित नीति वर्गसङ्घर्ष नै हुन्छ । वर्गसङ्घर्षको माध्यमबाट नै सर्वहारा वर्गको हातमा राज्यसत्ता प्राप्त हुन सक्छतर यो देश, काल र परिस्थितिअनुसार नै लागु हुन सक्छ, जसभित्र वस्तुगत परिस्थिति, आत्मगत परिस्थितिको ठोस मूल्याङ्कन गर्ने कार्य पर्दछ ।
लेनिनले हतियारसँग खेलवाड नगर्नू भनेका छन् भने माओले सत्ता बन्दुकको नालबाट जन्मिन्छ भनेका छन् । दुबै नेताका भनाइ ठिक हुन् तर भिन्दाभिन्दै परिस्थितिमा । नेपालमा क्रान्ति सम्पन्न गर्ने लहड पैदा भयो, बालव्याधिको रूपमा ।
कम्युनिस्ट धाराभित्रै बाट राजावादी र काङ्ग्रेसपरस्त धारा अनि विभिन्न अराजकता र कुण्ठाले क्षत्विक्षत् बनेको कम्युनिस्ट आन्दोलनलाई २०२८ सालमा कामरेड मोहनविक्रम सिंहलगायतका केही नेताहरूद्वारा केन्द्रीय न्युक्लियस गठन गरी सही ट्रयाकमा ल्याउने कोसिस गरिएको थियो । २०३४ सालतिर चौथो महाधिवेशनद्वारा विभिन्न प्रकारले तितरबितर परेका कम्युनिस्ट घटकलाई एकजुट पारी एउटै मालामा उन्ने काम गरियो । त्यसबाट कम्युनिस्ट पार्टी सशक्त र इतिहासकै मजबुत पार्टी मात्र नभई मुलुकका लागि वैकल्पिक शक्ति बनेको थियो तर विडम्वना झ् चौथो महाधिवेशनमा चुनिएका केन्द्रीय समितिका नेताहरूको गुटबन्दी, चरम महत्त्वाकाङ्क्षा, पदलोलुपता, अराजकता, नेतृत्वप्रतिको पूर्वाग्रह, आरोप, अनुशासनविहीनता, वर्गसमन्वय सोचा, गालीगलौज र खासगरी तत्कालीन मोहनविक्रम सिंहप्रति रोष प्रकट गरी विषवमन गर्ने काम गरेका थिए । मोहनविक्रम सिंह दक्षिणपन्थी भयो, क्रान्ति गर्न सक्दैन भन्ने जस्ता आरोप लगाएर २०४२ सालमा मध्यपन्थी र उग्रवामपन्थीहरू पार्टीमा फुट पार्न सफल भएका थिए । सबै दस्तावेज मोहनविक्रम सिंहले लेखेका पास भए तर नेतृत्व मध्यपन्थीको हातमा गयो । क्रमशः उनीहरू क्रान्तिका नारा लगाउँदै गए । कहिले अन्धानुकरण त कहिले महत्त्वाकाङ्क्षी राजनीतिक लाइन अनि व्यवहारले गर्दा देशले ठुलो जनधनको क्षति व्यहोर्नुपर्यो ।
हिजो जजसले चर्का क्रान्तिका कुरा गर्ने गर्दथे, आज उनीहरूले नै प्रतिक्रान्तिको सेवा गर्ने द्वारमा बसेर साम्राज्यवादसामु समाजवादको भिक मागिरहेका छन् । आफूले आर्जेको सेना र शक्ति प्रतिक्रियावादी सङ्घमा समाहित गराउने अनि वर्गसङ्घर्षको एक मात्र कम्युनिस्टको हतियारलाई मिल्काएर वर्गसमन्वयको बाटोबाट चुनाव लड्ने अनि चुनाव जितेर संसद्बाट समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने झ् यहाँभन्दा ठुलो दिवालियापन र कम्युनिस्ट कार्यभारप्रतिको मजाक अरू के हुन सक्छ ?
अर्काथरी संसदीय व्यवस्थाभित्र भएका सीमित भए पनि प्राप्त भएका अधिकारलाई केही पनी नदेख्ने अनि यो ६ दशक लामो सङ्घर्षको फलस्वरूप प्राप्त भएको गणतन्त्रलाई ध्वस्त पार्ने भन्छन् तर यसको विकल्पमा के भन्ने कुराको विकल्प दिन सकिरहेका छैनन् । फेरि पनि तिनै क्रान्तिकारी कम्युनिस्ट ? ॅतागत होस्/नहोस्, नाम त बल बहादुर राख्नैपर्ने झ् यसरी यी दुबैथरी सोच र चिन्तन बोकेर नेपाली जनतालाई दिग्भ्रमित पार्नेहरू असल कम्युनिस्ट हुन सक्दैनन् ।
कम्युनिस्ट आदर्श र नैतिकताबाट चिप्लेर गएपछि केही बाँकी नरहँदो रहेछ । हिजो नेकपा (मसाल) को राजनीतिक विरासतबाट राजनीति गरेर अहिले विभिन्न पार्टीमा विलीन हुन पुगेका गुट र पात्रको हविगतले कतै उनीहरूलाइ मार्क्सवादी दर्शन र सिद्धान्तले धिक्कारिरहेको छ किनभने हिजो कम्युनिस्ट आदर्श र मर्मअनुसार नीतिनिर्माण गर्न सकेन भनेर मोहनविक्रम सिंहलाई धारे हात लगाएर अराजनीतिक गालिगलौज र बेतुकका लान्छना लगाउनेहरू, हिजो आफ्नो मार्गदर्शक सिद्धान्त भनेको मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा भनेर मान्नेहरू आज माओवाद मान्ने रे झ् सैद्धान्तिक बहसबिना, परिस्थितिमा परिवर्तन भएबिना माओ विचारधाराबाट माओवादमा कसरी फड्को मारे ? सङ्घीयताका धुरन्धर विरोध गर्नेहरू आज कसरी सङ्घीयताको पक्षमा टाँसिन पुगे ? जनसङ्घर्ष नै अहिलेको कार्यनीतिक नाराको रूपमा मान्नेहरू किन न जनसङ्घर्ष, न सशस्त्र सङ्घर्षको स्थितिमा पुगे तर पनि उनीहरू क्रान्तिकारी कम्युनिस्ट या असल कम्युनिस्ट झ् यावत् कुराहरू छन्, जसले उनीहरूले कम्युनिस्टको दाबीलाई पुष्टि गर्न सक्दैनन् ।
कम्युनिस्ट नीति गतिशीलताको आधारमा निर्माण गर्नुपर्छ, जडताको आधारमा होइन । ठोस स्थितिको ठोस विश्लेषणका आधारमा गर्नुपर्छ न कि सनकको भरमा अनि आग्रहपूर्वाग्रहको आधारमा । धेरै चिज प्राप्त गर्ने नाउँमा भएको थोरै चिज पनि गुमाएर रित्तै हुनु बुद्धिमत्ता मानिँदैन ।
सामान्यतः असल कम्युनिस्ट हुनका लागि निम्नलिखित गुणलाई मापदण्ड मान्न सकिन्छ :
१) कम्युनिस्ट प्रस्थापना मान्ने
२) कम्युनिस्ट घोषणापत्रअनुरूपका योजना बनाएर काम गर्ने ।
३) वर्गसङ्घर्षलाई मान्ने ।
४) क्रान्तिको पथप्रदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद माओ विचारधारा मान्ने
५) सङ्घर्षलाई दुई तहमा सञ्चालन गर्ने, जनसङ्घर्स र सशस्त्र सङ्घर्स ।
६) पार्टीसङ्गठनको संरचना गोप्य राख्ने ।
७) कार्यनीति र रणनीतिको प्रष्ट किटान गरेको हुनुपर्ने ।
८) कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारमाझ तालमेल हुनुपर्ने ।
९) ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा नीतिनिर्माण गर्नुपर्ने ।
१०) विरोधी शक्तिहरूबिचको सम्बन्ध सङ्घर्ष–एकता र सङ्घर्षको आधारमा हुनुपर्ने ।
११) मिक्रशत्तिसँगको सम्बन्ध एकता–सङ्घर्ष र एकताको आधरमा हुनुपर्ने ।
१२) सबै प्रकारका अवसरवाद, भ्रष्टाचार, पदलोलुप, सङ्कीर्णतावाद, उग्रवाद, मध्यपन्थी अवसरवाद, दक्षिणपन्थी भड्कावबाट मुक्त हुनुपर्ने ।
१३) आदर्शवाद, भाग्यवाद आदि त्यागेर द्वन्द्वात्मक भौतिकवादी दर्शनको आधारमा आफ्ना आचारविचार र व्यवहार गर्ने ।
१४) क्रान्तिको लक्ष्य र उद्देश्य भनेको न्यूनतम जनवादी क्रान्ति र अधिकतम समाजवाद हुँदै साम्यवादसम्मको हुनुपर्ने ।
१५) सर्वहारावर्गको अधिनायकत्वलाई स्वीकार गर्ने ।
१६) साङ्गठनिक क्षेत्रमा जनवादी केन्द्रीयताको सिद्धान्तलाई आत्मसात गर्ने ।
१७) सधैँभरि देश र जनताको हितलाई अग्रपङ्क्तिमा राखेर काम गर्ने ।
१८) पुराना चालचलन र रीतिरिवाजमा प्रगतिशील रूपान्तरण गर्न प्रयत्न गर्दै जाने ।
१९) पदप्रतिष्ठा र व्यक्तिगत स्वार्थ त्याग्ने, हमेसा सिद्धान्तप्रति निष्ठावान् र व्यवहारमा मितव्ययी हुने ।