
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले फागुन २१ गतेको निर्वाचनको धेरै महत्वपूर्ण रहेको बताउनु भएको छ । भट्टले आज पुस ७ गते सोमबार प्रधानमन्त्रीसँग भएको सर्वदलिय बैठकमा सो धारणा राख्नुभएको हो ।
‘आगामी फागुन २१ गते हुने चुनावलाई हाम्रो पार्टीले समर्थन गरेको छ ।’ भट्टले अगाडि भन्नुभयो– ‘कोर्स करेक्सनको उपयुक्त बाटो नै चुनाव हुनसक्दछ ।’ यद्यपि वर्तमान सरकार असंवैधानिक रहेको भट्टको टिप्पणी थियो ।
‘यो सरकार संविधानभन्दा बाहिर गएर बन्यो’, नेता भट्टले भन्नुभयो– ‘असंवैधानिक ढंगले नै प्रतिनिधि सभा विघटन गरियो ।’
भट्टले लिकबाहिर गएको कोर्स सच्चाउन तोकिएको समयमा निर्वाचन गर्नुपर्ने भन्दै त्यसमा सरकारले दायाँबायाँ गरे प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अन्य विकल्प नहुने बताउनु भयो ।
यसअघि प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि राजाको अधिकार खोसेको उदाहरण दिँदै निर्वाचन गराउने/नगराउने प्रमुख जिम्मेवारी सरकारको भएको भट्टको भनाई थियो । प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधानलाई लिकमा फर्काउनुपर्ने र चुनावको समस्या छ भने त्यो दलहरूबाट नभएको बरु सरकारमै समस्या रहेको भट्टको दाबी थियो ।
बैठकमा सहभागी सबैजसो राजनीतिक दलका नेताहरूले फागुन २१ मा तोकिएको निर्वाचन समयमै गराउनतर्फ सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दलहरू लाग्नुपर्नेमा एकमत देखिएका थिए ।
















