प्यूठान, गौमुखी–७ नारीकोट रामखोला गाउँको ठूलाबेंसी सडकबाट करिब १० मिनेट उकालोपछि एउटा घरमा पुगिन्छ । जंगल बीचको त्यो घरमा बस्छन् कम्युनिस्ट नेता खगुलाल गुरुङ । गत भदौ २५ देखि १०२ वर्ष लागेका उनी राजनीतिमा सक्रिय छैनन् । तर चासो राखिरहन्छन् । अलि ठूलो सोरले बोले मात्रै सुन्छन् । उकालीओराली गरिरहने भएकाले फूर्तिला छन् ।
अहिलेको राजनीतिक व्यवस्थाप्रति उनी असन्तुष्ट छन् । भन्छन्, ‘हामीले चाहेको व्यवस्था यस्तो थिएन ।’ गुरुङ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका बुबा खिमविक्रमको संगत र प्रेरणाले राजनीतिमा लागेका हुन् ।
बागलुङमा जन्मिएका उनी बसाइँ सरेर प्यूठानको नारीकोट आए । कम्युनिस्ट राजनीतिमा लागेका कारण गाउँका केही अगुवाले जग्गा भोगचलन गर्न नदिएपछि उनी खिमविक्रमकहाँ सहारा माग्न पुगेका थिए । पछि उनले नै मोहनविक्रमलाई काठमाडौंस्थित दरबार हाईस्कुलमा पढाउन पुर्याए । ‘म खिमविक्रमकै प्रेरणाले राजनीतिमा लागेको हुँ,’ गुरुङ भन्छन्, ‘म त्यो बेलाकै राजनीतिक बाटोमै छु ।’
पछि समय यस्तो आयो, मोहनविक्रम र खगुलालले खिमविक्रमलाई ‘महासामन्त’ घोषणा गरे र उनीविरुद्ध दुवैले विद्रोह गरे । त्यसबेला खिमविक्रमविरुद्ध वर्गीय र नैतिक आचरणको विषयलाई लिएर राजनीतिक चर्चा चुल्याइएको थियो । कम्युनिस्ट राजनीतिमा लागेकाले ‘हुनेखाने’ वर्गविरुद्ध आन्दोलन उनीहरूले नै सुरु गरेका थिए । नेकपालाई प्यूठानमा विस्तारित गर्ने मुख्य श्रेय मोहनविक्रम र गुरुङमाथि जान्छ ।
‘हाम्रै नेतृत्वमा २००९ सालमा प्यूठानको रातामाटामा पहिलो कार्यकर्ता प्रशिक्षण गरिएको थियो,’ उनले सुनाए । उनीहरूले त्यतिबेला तीनमहिने शिविर चलाएका थिए । शिविरको मुख्य प्रशिक्षक गुरुङ नै थिए । प्रगतिशील अध्ययन मण्डलद्वारा सञ्चालित शिविरमा सामेल भएकाहरूबाट जिल्लाभर कम्युनिस्ट पार्टी फैलिएको उनले बताए ।
शिविर चलाउन तत्कालीन बडाहाकिम प्रतिमानचन्द्र बोहराले साथ दिएका थिए । केही समयपछि कम्युनिस्टलाई साथ दिएको भनेर तत्कालीन सरकारले बडाहाकिमको सरुवा गरेको थियो । त्यसैबेला पाण्डेडाँडामा सात जनाको कमिटी बनाइएको थियो । संस्थापकमध्ये मोहनविक्रम र गुरुङ मात्र जीवित छन् ।
प्यूठानको झिमरुक फाँटमा ‘साहु’ हरूले खेत अधियाँ लगाउँदा किसानलाई ठगेको विषय गुरुङकै नेतृत्वमा उठाइयो । ‘किसान ठग्ने साहु पहिचान गर्थ्यौं र धानको खराईमा झन्डागाड्थ्यौं,’ उनले सुनाए, ‘किसानलाई अधियाँ धान बुझेको भर्पाई गराउँथ्यौं ।
अखिल नेपाल किसान संघ प्यूठान गठन गरेर जिल्लाभर अधियाँ आन्दोलन चलाइएको थियो । किसान ठग्नेलाई कारबाही गर्ने अभियानका कारण प्यूठानमा कम्युनिस्ट पार्टी लोकप्रिय बनेको उनले बताए । ०११ सालमा मोहनविक्रम, रुमबहादुर पाण्डे, सिद्धिमान सिंह, नन्दलाल गुरुङ र हेमराज पण्डितसहित गुरुङ पक्राउ परे । १९ महिनापछि २०१३ सालमा उनीहरू छुटे । ०१५ सालको संसदीय चुनावमा गुरुङ क्षेत्र नम्बर ८३ बाट नेकपाका उम्मेदवार बने । ‘त्यो निर्वाचनमा म पराजित भएँ,’ उनले भने, ‘तर रोल्पाको थबाङ क्षेत्रमा संगठनको राम्रो आधार निर्माण गर्ने जिम्मेवारी पूरा गरेँ ।
जेल बस्दा भेट भएका रोल्पा थबाङका बरमन बुढालाई उनले नै कम्युनिस्ट बनाएका थिए । ०४८ सालमा रोल्पाबाट जनमोर्चाका तर्फबाट सांसदमा निर्वाचित बुढालाई जिताउन गुरुङको भूमिका नेतृत्वदायी थियो ।
त्यसबेला थबाङबाट बुढालाई सबै भोट परेको थियो । प्यूठान र रोल्पाका पुराना कम्युनिस्ट कार्यकर्ता गुरुङलाई अग्रज मान्छन् । उनी नेकपा मसालमा प्रतिबद्ध भए पनि सबै धारका कम्युनिस्ट पार्टीले उनलाई सम्मान गर्छन् । ०७२ मंसिरमा निकै बिरामी परेर उपचारमा काठमाडौं पुग्दा उनलाई सबै कम्युनिस्ट पार्टीले अभिनन्दन गरेका थिए ।
मोहनविक्रमको संयोजकत्वमा अभिनन्दन समारोह समिति बनाइएको थियो । सबै कम्युनिस्ट एकै ठाउँमाआएर सम्मान गर्दा निकै खुसी लागेको उनले सुनाए । ‘कम्युनिस्टहरू मिल्नुको विकल्प छैन,’ उनले भने, ‘तर के गर्नु, मिल्दै मिल्दैनन् ।’ मसाल पार्टी फुट्दै झन् सानो हुँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।
हामीले यो समाचार कान्तीपुर दैनिकबाट लिएका हौं ।